काठमाडौं—नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन भएको छ । मंगलबार विहान उनको त्रिपुरेश्वरस्थित घरमै ९२ वर्षको उमेरमा निधन भएको डा. गोंगल निकट चिकित्सक डा. निकुन्ज योगीले जानकारी दिए ।
‘उहाँको आज विहान निधन भएको हो,’ डा. योगीले भने, ‘आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने कार्यक्रम छ ।’ डा. योगीले न्यूरो सर्जरीको मात्रै नभएरडा. गोंगल स्पाइन, कार्डियो सर्जरी लगायतका प्रायःजसो सबै सर्जरी नेपालमा गर्ने पहिलो सर्जन भएको बताए ।
‘नेपाली सर्जरी क्षेत्रमा उहाँ स्पाइन, न्यूरो, कार्डियोलगायतका सबैजसो सर्जरी गर्ने पहिलो चिकित्सक हुनुहुन्छ,’ डा. गोंगलका विद्यार्थी समेत रहेका डा. योगीले भने , ‘उहाँ ८४—८५ वर्षको उमेरमा पनि अस्पताल आउने, विहानदेखि साँझसम्म बिरामीको विस्तृत जानकारी लिएर युवापुस्ताका हामीहरुलाई पनि प्रेरित गर्ने चिकित्सक हुनुहुन्छ ।’ डा. योगीले वीर अस्पतालमा युवा चिकित्सकहरुलाई विदेश पढ्न पठाएर विशेषज्ञ चिकित्सकहरु उत्पादन गर्ने महत्वपूर्ण काम पनि डा.गोंगलले गरेको बताए ।
डा. ढुण्डीराज पौडेलले डा.गोंगलप्रति श्रद्धान्जली व्यक्त गर्दै नेपालको शल्य चिकित्साको एक इतिहास भनेर सम्बोधन गरेका छन् । ‘नेपाली शल्यचिकित्साको एक इतिहास, जसले सिटी स्क्यानको आविष्कार नहुँदैं जटिल प्रकारको टाउको मस्तिष्कको सफल शल्यचिकित्सा गरी विश्वलाई चकित पार्नुभएको थियो,’ डा. पौडेलले फेसबुकमा लेखेका छन्, ‘जसले टाउकोदेखि खुट्टासम्म हरेक शल्यचिकित्साहरुमा अप्ठ्यारो पर्दा चिकित्सकलाई सघाउनु भएथ्यो ।’
डा. पौडेलले स्व. डा. गोंगललाई चाकडी, चाप्लुसी र मोलाहिजाबाट पर,बोलीमा कडा र हृद्धयका अत्यन्तै कोमल सर्जरीका हस्त शिल्पकारका रुपमा सम्झेका छन् ।
सन् १९६१ को डिसेम्बरमा डा.गोंगलले सड्क दुर्घटना परेका एक जना बिरामीको टाउको खोलेर शल्यक्रिया गरेका थिए । जसलाई नेपालमा टाउको खोलेर गरिएको पहिलो शल्यक्रिया मानिन्छ । त्यसयता डा.गोंगलले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए ।
पाल्पाको तानसेन पुख्र्यौली घर भएका डा.गोंगलको जन्म काठमाडौंमा भएको हो । भारतबाट एमबीबीएस र एमडी गरेका डा.गोंगल वि.सं. २०१३ सालमै सरकारी जागिरे बनेका थिए । वीर अस्पतालमा आफ्नो चिकित्सा जीवनको लामो समय बिरामी सेवामा बिताएका उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का संस्थापक निर्देशक समेत भए ।
डा.गोंगलका तीन छोरा र एक छोरी छन् ।