काठमाडौं – मुलुककै जेठो वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले राजीनामा दिएका छन्। मंगलबार डा. शर्माले स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष स्वेच्छाले राजीनामा बुझाएका हुन्।
‘उहाँले सरकारलाई काम गर्न सजिलो होस् भनेर हिजो राजीनामा दिनुभएको हो,’ स्वास्थ्य मन्त्रालय निकट स्रोतले हेल्थ आवाजसँग भन्यो।
हालै जारी भएको सार्वजनिक पदाधिकारी पदमुक्त सम्बन्धी अध्यादेशअनुसार उनलाई पदबाट हट्नु नपर्ने भएपनि सरकारलाई काम गर्न सहज बनाउने तथा नयाँ व्यवस्थापनका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले उनले नैतिक आधारमा राजीनामा दिएको स्रोतले जनाएको छ।
डा. शर्माले आफ्नो निर्णय संस्थागत सुधार र व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्रित रहेको उल्लेख गरेका छन्। स्वास्थ्य मन्त्रालयले भने राजीनामाबारे औपचारिक निर्णय लिन बाँकी रहेको छ।
डा. शर्मा २७ फागुन २०८१ मा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए। दुई वर्षका लागि नियुक्त भएका उनको एक वर्ष अवधि बाँकी रहँदै राजीनामा दिएका हुन्।
डा. शर्मा वीर अस्पतालमा कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन्। उनी यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशकका रूपमा समेत कार्य गरिसकेका छन्।