२०८३ वैशाख २५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई

स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले अध्यादेशबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान, काउन्सिल र अस्पतालका प्रमुखहरु हटाएपछि ती निकायको जिम्मेवारी ‘निमित्त’लाई दिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान, काउन्सिल र अस्पतालहरुमा निमित्त चयन गरेर जिम्मेवारी दिएकी हुन् ।

दैनिक प्रशासनिक काम र सेवा सञ्चालन सहज बनाउने उद्देश्यले मन्त्री मेहताले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्रा.डा. इन्द्र लिम्बु, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा प्रा.डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डा. नरेन्द्रविक्रम गुरुङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्रा.डा. सुरेश रसाइली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी सह— प्रा.डा. विनम्र विष्टलाई दिइएको छ ।

वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी प्रा.डा. प्रभा कोइराला चापागाईलाई दिइएको छ । वीरका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएपछि वीर निर्देशकबिहीन रहेको थियो ।

चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. उमेश नेपालले पाएका छन् भने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा. रवीन्द्रभक्त तिमलालाई दिइएको छ ।

नेतृत्वबिहीन बनेको स्वास्थ्य बिमा बोर्डको निमित्त निर्देशकको जिम्मेवारी शकुन्तला प्रजापतिलाई दिइएको छ । सरकारले ल्याएको अध्यादेशका कारण बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा पदमुक्त भएका थिए भने बोर्ड निर्देशक डा. कृष्ण पौडेलको काज फिर्ता भएपछि स्वास्थ्य बीमा बोर्ड नेतृत्वबिहीन बनेको थियो ।

‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश —२०८३’ जारी गरेपछि प्रतिष्ठान र अस्पतालहरु नेतृत्वबिहीन बनेका थिए । मन्त्री मेहताले अर्को व्यवस्था नभएसम्मका लागि उनीहरुलाई जिम्मेवारी दिएकी हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ