२०८३ वैशाख ३०, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर

अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर


वीरेन्द्रनगर—सुर्खेतको सबैभन्दा दुर्गम भूगोल मानिने चिङ्गाड गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ । ६ वटा वडा रहेको गाउँपालिकामा यही वैशाख ३१ गतेसम्म विभिन्न वडामा शिविर सञ्चालन हुनेछ ।

चिङ्गाड गाउँपालिकाको आयोजना तथा साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतको समन्वयमा आइतबारबाट गाउँपालिकाको वडा नं. ३ र ४ का लागि मेटलाबाट शिविर सुरुवात गरिएको थियो । शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य जाँचका साथै अपाङ्गता परिचयपत्र वितरण र अपाङ्गता पहिचान तथा छनोट पनि हुनेछ ।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा काम गर्न कन्जुस्याइँ नगर्ने शिविरको सुरुवात गर्दै चिङ्गाड गाउँपालिका अध्यक्ष बोधक्रिम जिसीले बताए । ‘दुर्गम भूगोल भएकाले अपाङ्गता भएकाहरू सेवा लिन आउन अहसज भएको थियो,’ उनले भने, ‘त्यस्ता व्यक्तिहरूले पनि आफ्ना समस्या खुलस्त राख्नका लागि यो शिविरको आयोजना गरिएको हो ।’

अपाङ्गता भएका व्यक्तिका लागि सेवा सहज बनाउन, सहायता सामग्री लिन आईएनएफसँग समन्वय गरिएको गाउँपालिकाका उपाध्यक्ष मीनाकुमारी रोकायाले बताइन् ।

भूगोल दुर्गम भएका कारण गाउँपालिकाको छ वटा वडाका लागि पाँच ठाउँमा शिविर राखेर सेवा दिन लागिएको साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतका व्यवस्थापक ललितबहादुर सारूले बताए । उनले दुर्गम हुँदा अपाङ्गता भएका व्यक्तिका लागि घरमै गएर सेवा प्रदान गरिने उल्लेख गरे ।

अपाङ्गता भएका व्यक्तिले बढी विभेद भोग्नु परेको राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका कार्यालय प्रमुख आनन्द विष्टले बताए । उनले उनीहरूलाई दयाभन्दा पनि आवश्यक सहायता सामग्री उपलब्ध गराउनुपर्ने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ