काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ लाई स्वीकृत गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय परिणत भएको हो ।
प्रधानमन्त्री कार्यलयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले बुधबार बसको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गरेको बताए । ‘सरकारको कार्यविभाजन नियमावली आज बसेको बैठकले स्वीकृत गरेको हो,’ उनले भने, ‘अब आजै राजपत्रमा प्रकाशित भएर लागु हुन्छ ।’
राजपत्रमा प्रकाशित भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औपचारिक रुपमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयमा रुपान्तरित हुनेछ ।
क्याबिनेट बैठकले स्वीकृत गरेको नेपाल सरकारको कार्यविभाजन नियमावली, २०८३ अनुसार अब २२ मन्त्रालयलाई १८ मन्त्रालयमा सिमित गरिएको छ ।
जसअनुसार पाँच वटा मन्त्रालय खारेजीमा परेका छन् । खारेज हुने मन्त्रालयमा सहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालय खारेजीमा परेका छन् ।
नयाँ स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयलाई स्वीकृत भएको कार्यविधिअनुसार खाद्य सुरक्षाको जिम्मेवारी पनि थपिएको छ ।