काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले १२ औं तहका अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभागजस्तो प्रभावशाली निकाय निमित्तको जिम्मा लगाएकी छन् । गत सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मेहताले ११ औं तहका डा. अनुज भट्टचनलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् ।
विभागका महानिर्देशक डा. केशर ढकालले लामो समय उपचार बस्ने भन्दैं २२ बैशाखदेखि कार्यवाहकको जिम्मेवारी डा. भट्टचनलाई दिएका थिए । डा. भट्टचनलाई मन्त्री मेहताले हालैमात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को निर्देशकको जिम्मेवारी दिएकी थिइन् ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक १२ औं तहको उच्च अधिकारी हुने व्यवस्था छ । तर, मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२ औं तहका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठ हुँदाहुँदैं ११ औं तहका डा. भट्टचनलाई आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् ।
‘अहिलेको सरकारले जिम्मेवारी दिँदा प्रश्न नउठ्ने गरी दिनुपर्ने हो,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘तर, मन्त्रीज्यूले फेरि स्वास्थ्य सेवा विभागजस्तो शक्तिशाली निकायको जिम्मेवारी पनि निमित्तलाई दिनुभएछ ।’
लामो समय पोखरामा रहेर स्वास्थ्य सेवामा बिताएका प्रा.डा. श्रेष्ठ स्वच्छ छविका अधिकारी हुन् । उनले पोखरामा रहँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन र अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।
हाल मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख रहेका डा. श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समितिहरुको नेतृत्व दिनुबाहेक खासै जिम्मेवारी दिएर काममा लगाउन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चार वटा १२ औं तहका अतिरिक्त सचिवको दरबन्दी छ । जसमध्ये प्रा.डा. श्रेष्ठ, डा. केशर ढकालमात्र काममा छन् भने डा. संगीता मिश्रा निलम्बनमा छन् । यस्तै, अतिरिक्त सचिव रहेका डा. टंक बाराकोटीले राजीनामा दिएपछि एक पद रिक्त छ ।