२०८३ जेठ १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह


वीरेन्द्रनगर—नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखाले कर्णाली प्रदेश सरकारसँग प्रदेशभर बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन माग गरेको छ । बुधबार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई ज्ञापनपत्र बुझाउँदैं समाजले प्रदेश सरकारसँग बिरामीलाई रगत निःशुल्क उपलब्ध गराउन माग गरेको हो ।

समाजले आगामी बजेटमा समेटिने गरी मानव जीवनको संरक्षण र स्वास्थ्य सेवाको आधारभूत अधिकार सुनिश्चित गर्ने सन्दर्भमा रगत जस्तो जीवनदायी तत्वको सहज र सुलभताका साथै निःशुल्क उपलब्ध हुन अत्यन्त जरुरी अनि अपरिहार्य विषय भएको जनाएको छ ।

कर्णाली प्रदेशजस्तो भौगोलिक दृष्टिले विकट तथा स्वास्थ्य सेवाको पहुँच सिमित भएको क्षेत्रमा रगतको अभावका कारण मृत्यु वरणको खबर सिर्जना हुनु दुःखद् भएको समाजले जनाएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज,सुर्खेत शाखाले प्रदेश राजधानीमा विगतदेखि नै निःस्वार्थ भावनाले रक्तदान अभियान सञ्चालन गर्दै र समन्वयकारी भूमिका निर्वाह गर्दै सेवा प्रदान गर्दै आएको छ । स्वयंसेवी रक्तदाताहरूको सक्रिय सहभागिताका बाबजुद पनि रगत संकलन, भण्डारण तथा वितरण प्रक्रियामा आर्थिक अभाव, पूर्वाधारको कमी र व्यवस्थापनको कमी कमजोरीका कारण सर्वसाधारण नागरिकले सहज रूपमा रगत प्राप्त गर्न सकिरहेका छैन । विशेषगरी विपन्न तथा दुर्गम क्षेत्रका नागरिकहरू रगतको शुल्क समेत तिर्न नसक्दा थप पीडित बन्न बाध्य छन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा समान पहुँचको अधिकार सुनिश्चित गरेको छ । यसै सन्दर्भमा,कर्णाली प्रदेश सरकारबाट प्रदेशभरका सबै सरकारी तथा मान्यता प्राप्त स्वास्थ्य संस्थाहरूमा आवश्यक रगत तथा रक्ततत्वहरू निःशुल्क रूपमा उपलब्ध गराउने नीति तथा कार्यक्रम तत्काल कार्यान्वयन गर्न समाजले आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले आफूले रक्तदानका लागि केही काम गर्ने अठोट लिइरहेको समयमा समाजको झक्झक्याइले अझै काम गर्न उर्जा थपिएको बताए ।

त्यस्तै, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवं कर्णालीका सर्वाधिक रक्तदाता प्रवाशकुमार शाक्यले कर्णाली प्रदेशका दूरदराजमा रहेका नागरिकहरु त्यसै पनि आर्थिक अवस्था कमजोर रहेको र उहाँहरु बिरामी पर्दा रगतको जोहो गर्न पनि गाह्रो हुने भएकोले सरकारले आफ्ना नागरिक सहज रुपमा रगत उपलब्ध गरान सचेत गराउनका लागि ज्ञापनपत्र बुझाएको बताए ।

यस्तै, समाजका सुर्खेत शाखा अध्यक्ष अशोककुमार सिंहले वीरेन्द्रनगर नगरपालिकामा पनि एक वर्ष अगाडि पालिकाका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन माग गरिएतापनि स्थानीय सरकारले चासो नदिएको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ