२०८३ वैशाख ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’

मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’

नर्भिकमा एकीकृत क्यान्सर उपचार संस्थान स्थापना गर्ने घोषणा


काठमाडौं– नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाडौंमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ । नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको एकै छानामुनि समग्र उपचार सेवाको अभावलाई सम्बोधन गर्ने उद्देश्यका साथ नर्भिकले उक्त संस्थानको स्थापना गर्न लागेको जनाएको छ ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा अस्पतालमा आयोजित नर्सिङ अवार्ड कार्यक्रम समापनमा नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान स्थापनाको घोषणा गरेका हुन् ।

करिब ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण हुने यो परियोजना ३ वर्षभित्र सञ्चालनमा ल्याइने लक्ष्य राखिएको अस्पतालका निर्देशक मेघा चौधरीले जानकारी दिइन् । क्यान्सर रोगको समग्र निदान, उपचार तथा अनुसन्धान एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यसहित संस्थान स्थापना गर्न लागिएको निर्देशक चौधरीको भनाइ छ ।

‘विश्वस्तरका दिशानिर्देशअनुसार उन्नत प्रविधिको प्रयोग गर्दै यस संस्थानमा विश्वसनीय निदान सेवा, शल्यक्रिया, किमोथेरापी, रेडियसन थेरापी तथा उपशामक सेवा (प्यालियटिभ केयर) उपलब्ध गराइनेछ,’ निर्देशक चौधरीले भनिन् ।

उनकाअनुसार संस्थानबाट बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका क्यान्सर बिरामीहरूका लागि मेडिकल, सर्जिकल, रेडियसन, हेमाटोलोजी तथा जेरियाट्रिक सेवाहरू, दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा प्रदान गरिने छ ।

संस्थानमा अनुसन्धानात्मक र शैक्षिक गतिविधिसमेत सञ्चालन गरिने निर्देशक चौधरीले जानकारी दिइन्। जसअन्तर्गत क्यान्सर मनोविज्ञान, जेनोमिक्सलगायत अन्य विशिष्टीकृत अनुसन्धान कार्य अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शिक्षण संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिनेछ ।

नर्भिकले आगामी दिनमा क्यान्सर उपचारमा विश्वव्यापी रूपमै भैरहेको नवीनतम प्रविधिको विकास र प्रयोगलाई नेपालमा समेत परिचित गराउन अमेरिका, सिंगापुर र भारतका अग्रणी क्यान्सर उपचार तथा अनुसन्धान केन्द्रहरूसँग परस्पर सहकार्य गर्ने जनाएको छ । संस्थानमार्फत चिकित्सक तथा वैज्ञानिकबीच प्रविधि हस्तान्तरण र ज्ञान आदान—प्रदान गरिने निर्देशक चौधरीले जानकारी दिइन् ।

‘नेपालमा एकीकृत र विस्तारित क्यान्सर उपचारको विश्वसनीय थलोको अभावका कारण उल्लेखनीय संख्यामा बिरामीहरू विदेश जान बाध्य छन् । यसबाट वर्षेनी अरबौं रुपैयाँ विदेशिने गरेको छ,’ निर्देशक चौधरीले भनिन्, ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थानको स्थापना पश्चात् यो निर्भरता घट्ने र स्वदेशमै विश्वस्तरीय क्यान्सर उपचार सेवा सहज हुने हाम्रो अपेक्षा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ