विराटनगर—जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार गरेको छड्के अनुगमनपछि कर्मचारी अनुपस्थित रहेको भन्दै प्रकाशित समाचारप्रति कोशी अस्पताल प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले एक विज्ञप्ति जारी गर्दै ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको भनिएका समाचारहरू गलत तथ्यमा आधारित रहेको बताएका हुन् ।
विज्ञप्तिमा जनाइएअनुसार, ओपिडी (बहिरङ्ग सेवा) अनुगमनका क्रममा ई–हाजिरीमा उपस्थित देखिएका सबै चिकित्सकहरू आफ्नो ड्युटीमै रहेको दावी गरिएको छ । ई–हाजिरीमा नदेखिएका अन्य चिकित्सकहरू युनिटअनुसार अन्तरङ्ग, आईसीयु, शल्यक्रियालगायतका विभिन्न विभागमा कार्यरत रहेको मेसु चौधरीले दाबी गरेका छन् ।
‘अस्पतालको सेवा २४ सै घण्टा तीन सिफ्टमा सञ्चालन हुने गर्दछ । कार्यरत कुल ७१६ कर्मचारीमध्ये अधिकांश सिफ्ट ड्युटीमा रहने भएकाले बिहान ११ बजेको अनुगमनमा सबै कर्मचारी ई हाजिरीमा नदेखिनु स्वाभाविक हो,’ विज्ञप्तिमा भनिएको छ । अस्पताल प्रशासनकाअनुसार तीन वटै सिफ्टको समग्र रेकर्ड हेर्दा न्यून संख्यामा मात्र कर्मचारी अनुपस्थित देखिएका छन् ।
केही कर्मचारीहरू आकस्मिक बिदामा रहेको र ई–हाजिरी प्रणालीमा सो विदा अद्यावधिक गर्ने प्रक्रियामा रहेकै बेला अनुगमन भएकाले अनुपस्थितिको संख्या बढी देखिएको अस्पतालको तर्क छ ।
अस्पताल प्रशासनले वास्तविक अवस्थाको पर्याप्त अध्ययन र अनुसन्धान नगरी स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने उद्देश्यले समाचार सम्प्रेषण गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । जनशक्ति र स्रोतसाधनको अभावका बीच सेवा दिइरहेका कर्मचारीहरूलाई यस्ता समाचारले हतोत्साहित बनाउने अस्पतालको ठहर छ ।
