काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दैं उनले आजैबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालेका भवियमा हुने ठूलो दुर्घटनाहरु र थुप्रै ज्यानहरुलाई मर्नबाट जोगाउन सकिने बताइन् ।
‘म अनुरोध गर्दछु–आजैबाट हामीले राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थाल्यौ भने भविष्यमा हुने ठूलो दुर्घटनाहरू र थुप्रै ज्यानहरूलाई हामी मर्नबाट जोगाउन सक्छौं,’ उनले भनिन् ।
डा. कार्कीले सरकारले सड्कमा भइरहेको अघोषित महामारी रोक्नका लागि नीतिगत खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । ‘अब हामीले भन्न सक्नु पर्दछ नेपाली जनतालाई । तपाईहरूले कोभिडको खोप त लगाउनु भयो,’ उनले भनिन्, ‘तर, दिनहुँ सडकमा भइरहेका अघोषित महामारी रोक्नका लागि नीतिगत खोप यो सरकारले दिन्छ । हामी दिन्छौं । हामीले यो भन्न सक्नु पर्दछ ।’
उनले राज्यले कर उठाएर सड्क बनाउने तर आफ्ना नागरिकलाई सडकमा मर्नबाट जोगाउन नसक्नु राज्यको प्रशासनिक मात्रै नभएर नैतिक र नीतिगत पराजय भएको बताइन् । ‘अघिल्ला सरकारले के गरे, कसो गरे ?,’ डा. कार्कीले भनिन्, ‘कहाँ चुके भन्ने हामीलाई थाहा छैन । तर, नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन् ।’
उनले अब पनि फाइल अड्कियो र निर्देशिका थन्कियो भनेर पन्छिने छुट आफूहरुलाई नभएको धारणा व्यक्त गरिन् ।