वीरेन्द्रनगर—स्वस्थ गाउँ/सहर सम्बन्धी स्थानीय तहमा पैरवी कार्यक्रम गरिएको छ । कर्णाली प्रदेश सरकारले स्वस्थ गाउँ/सहर घोषणा गर्ने नीति लिएको हो ।
प्रदेशलाई स्वस्थ घोषणा गर्ने दीर्घकालीन लक्ष्यअनुरुप गुर्भाकोट नगरपालिकामा पैरवी कार्यक्रम सञ्चालन गरिएको हो । बढ्दो सहरीकरणका कारण बसाइँ सराइँ बढिरहेकाले सहरहरुलाई व्यवस्थित गर्नुपर्ने जिम्मेवारी सबैमा आएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।
कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले लिएको नीतिअनुरूपको शुभारम्भ कार्यक्रम गरिएको जानकारी दिए । पहिलो स्वस्थ सहरका रूपमा घोषणा गर्न गुर्भाकोट नगरपलिकालाई छनोट गरी पैरवी कार्यक्रम गरिएको बताए । यसका लागि नगरपलिका र प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट निर्धारण गरिने बताए ।
नयाँ सहरको रूपमा विकसित हुँदै गरेको गुर्भाकोट नगरपालिकामा सरकारी प्राथमिकता रहेको बताए । प्राविधिक शिक्षा सञ्चालन गर्ने, शहरी विकासका पूर्वाधार निर्माण गर्ने, अस्पतालको प्राथमिकीकरण, खेलकुद पूर्वाधार निर्माणजस्ता कामहरु भएको बताए ।
स्वस्थ सहर घोषित हुनका लागि पूर्वाधारहरू निर्माण गरिसकिएको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए । केबल सरकारी प्रतिबद्धता मात्र नभएर सबैको साझा प्रतिवद्वता आवश्यक हुने उनले बताए । तोकिएका सुचकहरुलाई कार्यान्वयन गर्न सबै नगरवासीहरुमा उनले आग्रह गरे । यसका लागि नगरपलिका अग्रसर हुने प्रतिबद्धता जनाए ।
सहरोन्मुख स्थानीय तहका पदाधिकारीहरुसँग स्वस्थ सहर अभियानका बारेमा छलफल गर्नुका साथै सहरी क्षेत्रमा देखिएका स्वास्थ्यका विभिन्न निर्धारक तत्वहरुका बारेमा छलफल गर्ने उद्देश्य रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा कार्यालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए । उनकाअनुसार सहरमा बसोवास गर्ने नागरिकहरुलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन सुनिश्चित गर्ने, स्वस्थ गाउँ/सहर निर्माणका लागि रणनीतिक मार्गदर्शन तयार गरी स्थानीय तहको प्रतिबद्धता लिने कार्यहरू समेत हुनेछन् ।
स्वस्थ गाउँ/सहर सम्बन्धी प्रदेश सरकारले बनाएको कार्यविधि बमोजिम सूचक पूरा भएका गाउँ÷सहरलाई स्वस्थ घोषणा गरिने जनाइएको छ ।