काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव पदका लागि दुई वरिष्ठ स्वास्थ्य अधिकारीको नाम सिफारिस भएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम अतिरिक्त स्वास्थ्य सचिवका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
सिफारिसमा परेकी डा. देवकोटा हाल डडेल्धुरा अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुन् भने डा. शर्मा गण्डकी प्रदेशस्थित प्रादेशिक तालिम केन्द्रका निर्देशकका रूपमा कार्यरत छन् । दुवै अधिकारीले यसअघि क्रमसः कोशी र गण्डकी प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
गत १२ कात्तिकमा अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटीले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको थियो । रिक्त अतिरिक्त सचिवका लागि लागि योग्यता पुगेका १३ जना अधिकारीले आवेदन दिएका थिए ।
बढुवा समितिले ती आवेदकमध्येबाट उत्कृष्ट मूल्यांकनका आधारमा डा. देवकोटा र डा. शर्माको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । अब मन्त्रिपरिषद्को निर्णयबाट सिफारिसमा परेका दुईमध्ये एक जना अतिरिक्त स्वास्थ्य सचिव पदमा पदोन्नति हुनेछन् ।
हाल स्वास्थ्य मन्त्रालयमा १२ औं तहअन्तर्गत तीन वटा अतिरिक्त स्वास्थ्य सचिव रहने व्यवस्था रहेको छ ।