काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ६ वटा काउन्सिलसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले स्वास्थ् बीमा बोर्डसहित ९ स्वास्थ्य संस्थाका पदाधिकारीका लागि आवेदन माग गरेको हो ।
मन्त्रालयले ६ वटा काउन्सिलहरु नेपाल मेडिकल काउन्सिल, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल फार्मेसी परिषद्को अध्यक्ष, सदस्य र रजिष्ट्रारका लागि आवेदन माग गरेको छ । यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, सदस्य र सदस्य सचिव, नेपाल नर्सिङ परिषद्को अध्यक्ष, उपाध्यक्ष, सदस्य र रजिष्ट्रार तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष र रजिष्ट्रारका लागि आवेदन माग गरिएको छ ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष, सदस्य र कार्यकारी निर्देशकका लागि आवेदन माग गरिएको छ । पछिल्लो समय गम्भीर आर्थिक संकट झेलिरहेको स्वास्थ्य बीमा बोर्ड निमित्तका भरमा चल्दैं आएको छ ।
देशको प्रमुख मुटु रोगको उपचार गर्ने अस्पताल शहीद गंगालाल राष्टिय हदय केन्द्रको कार्यकारी निर्देशक र सदस्य पदका लागि आवेदन माग गरिएको छ । यो केन्द्र पनि निमित्तकै भरमा चलिरहेको छ ।
यस्तै, भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सदस्य पदका लागि आवेदन माग गरिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १० भित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
