काठमाडौं—हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले अस्पताललाई २०० शय्यामा स्तरोन्नती गर्न र टेक्नोलोजी थप गर्न १ अर्ब रुपैयाँ लगानी थप्ने भएको छ । बुधबार अस्पतालको ९ औं वार्षिकोत्सव अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका संस्थापक अध्यक्ष डा. सुदिप श्रेष्ठले अस्पताल २०० शय्यामा विस्तार गर्न, रोबटिक सर्जरी, न्युक्लियर मेडिसिन र क्याथ ल्याबलगायतका टेक्नोलोजी थप गर्न आगामी वर्ष १ अर्ब लगानी थप्न लागिएको जानकारी दिए ।
हाल नेपाल क्यान्सर अस्पताल १०० शय्यामा सञ्चालनमा छ । ‘९ वर्षको अवधिमा हामीले हजारौं नेपाली परिवारलाई आशाको किरण दिएका छौं । आज नयाँ अध्यायको सुरुवात गर्नका लागि आगामी वर्ष १ अर्ब रुपैयाँ लगानी थप गर्ने घोषणा गर्दछौं ।’ लगानी थपपछि विश्वस्तरीय क्यान्सर केन्द्र बन्ने र त्यसले मेडिकल टुरिज्मको नक्सामा स्थापित गर्ने र नेपाली बिरामी भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने उनले बताए ।
अस्पतालले ब्लक बीमा थप तल्ला निर्माण गरी २०० शय्यामा विस्तार गर्ने योजना आगामी वर्षमा अगाडि बढाउने भएको छ । यससँगै दुई वटा अत्याधुनिक शल्यक्रिया कक्ष, डेडिकेटेड पोष्ट अपरेटिभ वार्ड, सुविधायुक्त डिलक्स क्याबिन निर्माण र आईसीयुलगायतका सुविधा थप्ने तयारी अस्पतालको छ ।
टेक्नोलोजीतर्फ अस्पतालले रोबटिक सर्जरी, पेटसिटीसहितको न्युक्लियर मेडिसिन, क्याथ ल्याब, सिटी स्क्यान, एचआईपीईसी, ईयुएस, ईबीयुएस, हाई एण्ड युएसजी, क्याथल्याब, फुलफेज आईएचसी तथा माइक्रोबायोलोजी ल्याब्रोटोरी, डिजिटल पिएसीएस प्रणाली र पेपरलेस एचएमआईएस, डेडिकेटेड डाइग्नोष्टिक सेन्टर, ओपीडी क्षेत्रको विस्तार, ग्यास्ट्रोइन्टेस्टीनल डिजिज, रेस्पेटोरी एण्ड चेष्ट डिजिज स्पेसिलिटी सेन्टर, बोनम्यारो ट्रान्सप्लान्ट र सेलुलर थेरापी सेन्टरको स्थापना गर्ने डा. श्रेष्ठले जानकारी दिए । उनकाअनुसार आगामी वर्ष अस्पतालले पोलिक्लिनिक तथा वेलनेस सेन्टरसँगै एकेडेमिक कार्यक्रमहरु नर्सिङ, पारामेडिक्स, एमडी/एमएसजस्ता फेलोसीप कार्यक्रमहरु सञ्चालनको समेत योजना बनाएको छ ।
अस्पतालले एक महिनाभित्र एमआरआई मेसिन सञ्चालन ल्याउने तयारी गरेको छ भने दुई महिनाभित्र डिजिटल प्याक सिष्टम र एनएएस सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
सन् २०१५ देखि सञ्चालनमा आएको नेपाल क्यान्सर अस्पतालले औपचारिक रुपमा वार्षिकोत्सव मनाउन थालेको भने ९ वर्षअघिदेखि मात्रै हो । अस्पतालमा हाल ११० जना चिकित्सक, २९० जना नर्सिङ स्टाफ, ९८ जना प्राविधिक, ११० हाउसकिपिङ, १३२ प्रशासनिक कर्मचारी गरी ६१० जना कर्मचारी कार्यरत छन् । अस्पतालले बहुविधि विशेषज्ञतामा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको छ ।
१५ वर्षदेखि क्यान्सर जनचेतना अभियानसमेत सञ्चालन गरिरहेको अस्पतालले एमडी/डिएम फेलोसीप कार्यक्रम समेत सञ्चालन गरिरहेको जनाएको छ । हालसम्म २ अर्ब लगानी भएको नेपाल क्यान्सर अस्पतालमा १ अर्ब लगानी थपिएसँगै कुल लगानी ३ अर्ब पुग्नेछ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कपिल गौतमले बिरामीलाई गुणस्तरीय र विश्वस्तरीय सेवा दिएकै कारण नेपाल क्यान्सर अस्पताल देशकै विश्वसनीय क्यान्सर उपचार केन्द्रका रुपमा विकास भएको बताए । ‘१ अर्ब लगानी थप गरेर नेपालमा क्यान्सर उपचार सेवा प्रभावकारी र पहुँचयोग्य बनाउने योजना छ,’ उनले भने, ‘यसले बिरामीलाई लाभ पुग्नेछ ।