२०८३ जेठ २७, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी

जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी


वीरेन्द्रनगर–रुकुम पश्चिमस्थित जिल्ला अस्पतालको फार्मेसीमा चोरी भएको छ । मंगलबार करिब ८ बजेतिर जिल्लाको मुसिकोट नगरपालिका–१ सल्लेमा रहेको जिल्ला अस्पतालको फार्मेसीबाट नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार फार्मेसीमा कार्यरत कर्मचारी शौचालय गएको बेला काउन्टरमा रहेको करिब १४ देखि १५ हजार रुपैयाँ चोरी भएको हो । फार्मेसीबाट नगदबाहेक अन्य कुनै सामग्री चोरी नभएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा मुसिकोट नगरपालिका–३ का १९ वर्षीय दिपेश वली, मुसिकोट–०१ का २२ वर्षीय अल्बड सिंह र १९ वर्षीय जगदीश परियारलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झविन्द्र परियारका अनुसार पक्राउ परेका तीनै जना मानसिक अवस्था सामान्य नरहेका तथा बेवारिसे अवस्थामा सडकमा बस्दै आएका व्यक्ति हुन् । उनीहरूका अभिभावक तथा आफन्त कोही नभएकाले सडकमै जीवनयापन गर्दै आएका छन् ।

प्रहरीले यसअघि पनि उनीहरूलाई विभिन्न घटनामा नियन्त्रणमा लिएको जनाएको छ । सूचना अधिकारी परियारले उनीहरूलाई सुधार केन्द्रमा राख्न आवश्यक देखिएपनि परिवार तथा अभिभावकको टुंगो नलागेकाले राख्न नसकिएको बताए ।

पक्राउ परेकाहरूलाई आवश्यक सोधपुछ तथा सम्झाइ बुझाइपछि छाडिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ