वीरेन्द्रनगर -कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याएको छ । सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई बिषेश प्राथमिकता दिएका छन् ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वंयमसेविकाको प्रोत्साहन भत्ता बृद्धि, सुत्केरीको पोषण भत्ता, गा्रमिण क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रको स्तरउन्नती, सुत्केरी महिलाको पोषण तथा उद्दारलगाएतका क्षेत्रमा विषेश प्राथमिकता दिएको मन्त्री शाहले बताए ।
‘सार्वजनिक स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई दिइदै आएको सुत्केरी पोषण भत्तालाई निरन्तरता दिएको छु,’ उनले भने,‘ग्रामिण स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान दिदै आएका स्वास्थ्य स्वयंसेविकालाई कर्णाली प्रदेश सरकारबाट विगतदेखि दिइदै आएको प्रोत्साहन भत्तालाई शतप्रतिशत वृद्धि गरी २४ हजार पु¥याएको छु ।’
हरेक स्वास्थ्य संस्थाको अभिलेखलाई डिजिटलाइज गरिने व्यवस्था मिलाए र स्थानीय तहबाट सञ्चालित आधारभूत अस्पताललाई बिरामीको संख्या, चाप र थप सेवाको आँकलन गरी भौतिक पूर्वाधारसहित स्वास्थ्य सेवा सुदृढीकरण गर्न आवश्यक बजेट विनियोजन गरेको मन्त्री शाहले बताए ।
‘प्रादेशिक अस्पताल तथा आधारभूत अस्पतालको प्रयोगशाला सेवाको सुदृढीकरण गरिने छ,’ उनले भने,‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन दरवन्दी अनुसारको जनशक्ति, भौतिक पूर्वाधार र उपकरणको व्यवस्था गरी प्रेषण प्रयोगशालाको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।’
प्रदेशका अस्पतालहरूमा विपन्न तथा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारका क्रममा आवश्यक रगत नेपाल रेडक्रस सोसाइटीको समन्वयमा निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्थाका लागि आवश्यक रकम विनियोजन गरेको र जिल्ला अस्पताल दैलेखमा मृगौला डाएलासिस सेवालाई विस्तार गर्ने व्यवस्था मिलाएको मन्त्री शाहले बताए ।
‘क्यान्सर, मुटु, मृगौला, अलजाइमर, पार्किन्सन, एनिमिया, रिकेट्स, सिकलसेल एनिमिया, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी, अटिजम जस्ता दीर्घ रोगबाट पिडित बिरामीको उपचार सहायताको लागि दुई करोड ५० लाख विनियोजन गरेको छु,’ उनले भने,‘नसर्ने रोगको पहिचान गर्न ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गहरूको समुदायस्तरमा स्वास्थ्य परीक्षण गरी रोगको पहिचान गर्ने व्यवस्था मिलाइनेछ ।’
इ–हेल्थ, टेलिमेडिसिन विशेषज्ञ सेवा, स्वास्थ्य शिविर, अङ्कोलोजी सेवा, जलन उपचार सेवा लगायतका कार्यक्रमलाई निरन्तरता दिन चार करोड ३९ लाख विनियोजन गरेको र आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना तथा सञ्चालनलाई निरन्तरता दिईने मन्त्री शाहले बताए ।
‘प्रतिकार्यमा उक्त कोषको प्रयोग गर्ने व्यवस्था मिलाईनेछ। ट्रपिकल रोगको निवारण गर्न आवश्यक बजेट विनियोजन गरेको छु’ उनले भने,‘पूर्ण संस्थागत सुत्केरी कार्यलाई अनिवार्य गरी जटिल अवस्था भएका गर्भवती तथा सुत्केरी महिलालाई थप सेवा उपलब्ध गराउन आवश्यक भएमा जिल्ला÷प्रदेश अस्पतालमा समयमै पठाउने व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।’
कर्णाली प्रदेशभित्रका अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई सुविधासम्पन्न बनाउन डेण्टल सेवा विस्तार सम्बन्धी उपकरण खरिद, वायो मेडिकल उपकरण खरिद, अन्य अत्यावश्यक मेशिनरी उपकरण खरिद र बर्थिङ सेन्टरका लागि आवश्यक उपकरण तथा औजार खरिदका लागि सात करोड ३० लाख विनियोजन गरेको मन्त्री शाहले बताए ।
‘दुर्गम ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई नजिकको स्थानबाट न्यूनतम् आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा आधारभूत स्वास्थ्य केन्द्र/सामुदायिक स्वास्थ्य इकाईको प्रभावकारी सञ्चालनलाई निरन्तरता दिन रू.२ करोड २२ लाख विनियोजन गरेको छु,’ उनले भने,‘योग, ध्यान, जीवनशैली परिवर्तन तथा मनोसामाजिक स्वास्थ्य प्रवद्र्धन प्याकेज तयार गर्नका लागि आवश्यक व्यवस्था मिलाएको छु । कर्णालीलाई आरोग्य पर्यटन हबको रूपमा विकास गर्न कर्णाली समग्र आरोग्यता अभियान सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।’
प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गरी आयुर्वेद औषधीमा आत्मनिर्भर हुन आयुर्वेदिक औषधी उत्पादन केन्द्रको सुदृढीकरण गरिनेछ। उत्पादित औषधीलाई कर्णाली ब्रान्डको रुपमा बजारीकरण तथा बिक्री वितरण गर्न आवश्यक कानून निर्माण गरिने मन्त्री शाहले बताए ।
‘वैकल्पिक चिकित्सा सेवालाई नागरिकको जीवनशैलीसँग आबद्ध गर्न परम्परागत ज्ञान सिपको संरक्षण प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न छ करोड ४१ लाख विनियोजन गरेको छु,’ उनले भने,‘संघ, प्रदेश, स्थानीय तह तथा सम्बद्ध साझेदारहरुको समन्वय र सहकार्यमा लागूऔषध, सवारी दुर्घटना, मानसिक स्वास्थ्य, मनोसामाजिक परामर्श तथा पुनस्र्थापना, नसर्ने रोगको नियन्त्रण लगायतका कार्य गर्न प्रतिकारात्मक, उपचारात्मक, पुनस्र्थापनात्मक र प्रवद्र्धनात्मक स्वास्थ्य सेवाका कार्यक्रममा आवश्यक बजेट विनियोजन गरेको छु ।’
मातृ, बाल, शिशु तथा नवजात शिशु मृत्युदरलाई न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम, सामाजिक व्यवहार परिवर्तन, पोषण तथा उपचार सेवालाई प्रभावकारी बनाइने मन्त्री शाहले बताए । त्यस्तै, बालबालिका, किशोर किशोरी तथा सुत्केरी महिलाको पोषण अवस्थालाई सुधार गर्न सुत्केरी पोषण कोसेली कार्यक्रम लगायत पूरक पोषिलो खाना कार्यक्रमलाई निरन्तरता दिन छ करोड ५९ लाख आठ हजार विनियोजन मन्त्री शाहले बताए ।