वीरेन्द्रनगर—सुर्खेतमा रहेका वादी समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । होसन्ना सेवकाई नेपालको आयोजनामा वीरेन्द्रनगर नगरपालिका–११ को झुप्रा खेला किनार र सुब्बाकुनामा रहेका वादी समुदाय केन्द्रीत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शनिबार र आइतबार दुई दिन चलेको शिविरमा तीन सय ३३ जनाले सेवा लिएका छन् । शनिबार झुप्रा खोला र आइतबार सुब्बाकुनामा बसोवास गर्ने वादी समुदायलाई लक्षित गरी होसन्ना सेवाकाई नेपाल संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको झुप्रामा एक सय ८० र सुब्बाकुनामा एक सय ५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको होसन्ना सेवाकाई नेपालका कार्यकारी अधिकृत पुजा वादीले बताइन् । ‘शिविरमा हाडजोर्नी रोग विशेषज्ञ डा. गणेश तिवारी र स्त्रीरोग विशेषज्ञ डा. भवानी शिल्पकारले जाँच गरेका हुन्,’ उनले भनिन्, ‘शिविरका सञ्चालनका क्रममा हाडजोर्नी, छाला, पानीयन्य र स्त्री रोगको समस्या बढी देखिएको छ ।’
समुदायमा किशोरावस्थामै बच्चा जन्माउने महिलाहरुमा पाठेघरको समस्या देखिएको शिविरमा संलग्न समाजसेवी ज्योति भट्टराईले बताइन् । ‘स्वास्थ्य परीक्षण गरिएका बिरामीलाई निःशुल्क औषधीसमेत वितरण गरिएको थियो,’ उनले भनिन्, ‘शिविरका क्रममा पाठेघरलगायतका जटिल समस्या भएका तथा शल्यक्रिया आवश्यक पर्ने बिरामीहरुको समेत पहिचान गरिएको छ ।’
शिविरमा स्क्यानिङ गरिएका जटिल बिरामीलाई उपयुक्त अस्पतालमा रेफर गरी आवश्यक शल्यक्रिया तथा थप उपचारका लागि सहयोग गरिने संस्थाका कार्यकारी निर्देशक पूजा वादीले बताइन् । उनले त्यसका लागि आर्थिक तथा प्राबिधिक सहयो संस्थाले गर्ने जानकारी दिइन् ।