२०८३ असार ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशजनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन

जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन


चरिकोट—दोलखाको भीमेश्वर नगरपालिकाले घट्दो जनसंख्यालाई ध्यानमा राख्दै अविवाहित नागरिकलाई विवाहका लागि प्रोत्साहन गर्ने नयाँ कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समावेस गरिएको उक्त कार्यक्रमअन्तर्गत निश्चित उमेर नाघेका अविवाहित महिला तथा पुरुषले विवाह गरेमा नगद प्रोत्साहन भत्ता प्रदान गरिनेछ ।

नगर प्रमुख ईश्वरनारायण मानन्धरका अनुसार पछिल्लो समय विवाह गर्ने उमेर बढ्दै जानु, धेरैले एक सन्तानमै परिवार सीमित गर्नु तथा केही युवायुवती विवाहप्रति नै अनिच्छुक बन्दै जानुले जनसंख्या वृद्धिदरमा असर परेको छ । यही अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले विवाह प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

‘जनसंख्या व्यवस्थापन मात्र होइन, आवश्यक जनसंख्या कायम राख्नु पनि स्थानीय तहको चुनौती बनेको छ,’ नगर प्रमुख मानन्धरले भने, ‘त्यसैले युवायुवतीलाई विवाहप्रति आकर्षित गर्न यो कार्यक्रम ल्याएका हौं ।’

कार्यक्रम कार्यान्वयनका लागि आर्थिक वर्ष २०८३/८४ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख कमला बस्नेतले जानकारी दिइन् । उनका अनुसार ३५ वर्ष उमेर पूरा गरेका अविवाहित महिलाले विवाह गरेमा ५० हजार रुपैयाँ प्रोत्साहन दिइनेछ । यस्तै, ४० वर्ष उमेर नाघेका अविवाहित पुरुषले विवाह गरेमा ५० हजार रुपैयाँ प्रोत्साहन रकम नगरपालिकाले दिनेछ ।

यदि विवाह गर्ने दुवै जनामध्ये महिला ३५ वर्ष नाघेकी र पुरुष ४० नाघेकाले एकआपसमा विवाह गरेमा उनीहरुलाई एक लाख रुपैयाँसम्म प्रोत्साहन रकम प्रदान गरिने व्यवस्था गरिएको छ ।

भीमेश्वर नगरपालिकाको हालको जनसंख्या ३४ हजार ७१२ रहेको छ । जसमा १६ हजार ६३० पुरुष र १८ हजार ८२ महिला रहेका छन् । नगरपालिकाले भविष्यमा जनसंख्या संरचनामा असन्तुलन आउन नदिन तथा युवा पुस्ताको संख्या कायम राख्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विशेषज्ञहरूका अनुसार जनसंख्या अत्यधिक घट्दै जाँदा श्रमशक्ति अभाव, उत्पादनशील जनशक्ति कमी, विद्यालयमा विद्यार्थी संख्या घट्ने, कृषि तथा अन्य आर्थिक गतिविधिमा असर पर्ने जस्ता समस्या देखिन सक्छन् । वृद्ध जनसंख्याको अनुपात बढ्दै जाँदा सामाजिक सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा राज्यको खर्चसमेत बढ्ने सम्भावना रहन्छ ।

पछिल्ला वर्षहरूमा नेपालमा सन्तान जन्मदर निरन्तर घट्दो क्रममा छ । शहरीकरण, वैदेशिक रोजगारी, बढ्दो जीवनयापन खर्च, शिक्षा तथा करियरप्रतिको प्राथमिकता लगायतका कारण धेरै दम्पती एक सन्तानमै सीमित हुन थालेका छन् । कतिपयले विवाह नै ढिलो गर्ने वा नगर्ने प्रवृत्ति पनि बढ्दै गएको देखिन्छ ।

यसअघि पनि भीमेश्वर नगरपालिकाले जनसंख्या वृद्धि प्रोत्साहनका लागि तेस्रो सन्तान जन्माउने आमालाई नगद सहयोग उपलब्ध गराउँदै आएको छ । महिला तथा बालबालिका शाखा प्रमुख मंगला मानन्धरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३७ जना आमाले उक्त सुविधा प्राप्त गरेका छन् ।

नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ देखि सुरु गरेको यो अभियानअन्तर्गत पहिलो वर्ष २९ जनाले तेस्रो सन्तान जन्माएबापत १० हजार रुपैयाँ सहयोग प्राप्त गरेका थिए । अभियान प्रभावकारी देखिएपछि दोस्रो वर्षदेखि आमालाई १० हजार र नवजात शिशुलाई १० हजार गरी कुल २० हजार रुपैयाँ उपलब्ध गराउन थालिएको छ ।

नगरपालिकाको विश्वास छ कि विवाह तथा सन्तान जन्म प्रोत्साहन कार्यक्रमले युवा पुस्तालाई परिवार स्थापना गर्न प्रेरित गर्ने, बसाइँसराइका कारण घट्दो जनसंख्या वृद्धिलाई केही हदसम्म सन्तुलनमा ल्याउने तथा भविष्यमा आवश्यक जनशक्ति कायम राख्न सहयोग पुग्नेछ । यद्यपि यसको दीर्घकालीन प्रभाव भने आगामी वर्षहरूमा मात्र स्पष्ट रूपमा देखिने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ