विराटनगर—नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशले बहुराष्ट्रिय औषधि कम्पनी ‘सिप्ला’का सम्पूर्ण उत्पादनहरूको खरिदमा अवरोध गरेको छ । सोमबारबाट संघले म्याद गुज्रिएका (एक्स्पायर्ड) औषधिको क्षतिपूर्ति र सेटलमेन्टको विषयमा सिप्लाले चासो नदेखाएको भन्दै खरिद रोक्का (पर्चेज सस्पेन्सन) दावी गरेको छ ।
संघले यसअघि २ असामा सिप्लाको आधिकारिक आयातकर्ता ‘यति फर्माकेम प्रा.लि. काठमाडौं’लाई ७ दिने अन्तिम चेतावनी पत्र पठाएको थियो । तोकिएको समयसीमाभित्र कम्पनीले कुनै ठोस पहल नगरेपछि कोशी प्रदेशभरका थोक बिक्रेताहरूलाई सिप्लाका नयाँ औषधि खरिद नगर्न संघले पत्राचार गरेको छ ।
संघका कोशी प्रदेश अध्यक्ष धनबहादुर काफ्लेका अनुसार औषधि ऐन र नियमावलीमा म्याद सकिएका औषधिहरू उत्पादक कम्पनीले नै फिर्ता लैजानुपर्ने र त्यसको क्षतिपूर्ति वा सोधभर्ना दिनुपर्ने प्रावधान छ । ‘हामीले पटक–पटक वार्ता र छलफलको प्रयास गर्यौं तर कम्पनीले व्यवसायीको मर्का बुझ्न चाहेन,’ अध्यक्ष काफ्लेले भने, ‘कानुनी व्यवस्थाअनुसार म्याद गुज्रिएका औषधिको व्यवस्थापन गर्न कम्पनी जिम्मेवार नभएपछि बाध्य भएर खरिद रोक्का गर्ने निर्णयमा पुगेका हौं ।’
भारतीय औषधि कम्पनी सिप्ला विशेषगरी श्वासप्रश्वासका बिरामीले प्रयोग गर्ने औषधिका लागि परिचित छ । तर, संघले बजारमा यसको विकल्पमा अन्य थुप्रै कम्पनीका औषधिहरू उपलब्ध रहेकाले बिरामीलाई उपचारमा समस्या नपर्ने स्पष्ट पारेको छ ।
संघका महासचिव लक्ष्मण माझी चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय सम्बन्धित विषयको न्यायोचित समाधान, क्षतिपूर्ति र सेटलमेन्ट नभएसम्म कायम रहनेछ । यसबाट उत्पन्न हुन सक्ने व्यावसायिक असरको जिम्मेवारी कम्पनी स्वयंले लिनुपर्नेछ ।’
संघले कोशी प्रदेशअन्तर्गतका सबै जिल्ला शाखाहरू र थोक व्यवसायीहरूलाई यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । भविष्यमा कम्पनीले सकारात्मक पहल गरी सहमति गरेमा भने निर्णय पुनरावलोकन गर्न सकिने संघले जनाएको छ । विराटनगरस्थित औषधि व्यवस्था विभागको शाखा कार्यालयलाई समेत बोधार्थ दिँदै संघले आफ्नो व्यवसायिक हकहितका लागि यो कदम चालेको बताएको छ ।
सिप्लाका नेपाल निर्देशक नृपराज जोशीले भने आयातकर्ता र औषधि व्यवसायीबीचको समस्या भन्दै यो समाधानको दिशामा रहेको बताए । ‘हाम्रो कम्पनीसँग कुनै समस्या छैन्,’ उनले हेल्थआवाजसँग भने, ‘आयातकर्ता यति क्याम र औषधि व्यवसायीबीचको समस्या हो । यो समाधान हुन्छ ।’ उनले कम्पनी नियमअनुसार सिप्लाले समस्या समाधानका लागि पहल गरिरहेको समेत जानकारी दिए ।