विराटनगर—क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटमा विशेषज्ञ भित्रिएका छन् । नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठले अबदेखि हस्पिटलको फिजियोथेरापी विभागबाट सेवा दिने हस्पिटलले जनाएको छ ।
शल्यक्रिया र क्यान्सरको उपचार गराइरहेका तथा उपचार पश्चातको बिरामीहरू सामान्यतयाः शारीरिक दुर्बलता, गतिविधिको सीमा र पुनः आत्मविश्वास खोजेर अलमलिने हुन्छन् । नेपालमा यही समस्याको समाधान गर्ने कुनै विशेषज्ञ सेवा अहिलेसम्म उपलब्ध थिएन । अस्मिता श्रेष्ठको आगमन यो महत्त्वपूर्ण खाडल भरिने विश्वास हस्पिटलले लिएको छ ।
अंकोलोजी फिजियोथेरापीमा अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा हासिल गर्नु भएको अस्मिता श्रेष्ठ बीपीटी र एमपीटी—अंकोलोजी फिजियोथेरापीको विशेषज्ञता नेपालमा अरु कसैले पनि नपाएको हस्पिटलको दाबी छ।
श्रेष्ठले काठमाडौं मेडिकल कलेज स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलबाट माष्टर्स अफ फिजियोथेरापी (एमपीटी—अंकोलोजी थेरापी) गरेकी थिइन् । स्नातक अध्ययनपश्चातको पाँच वर्षमा उनले विभिन्न किसिमका बिरामीहरूलाई फिजियोथेरापी सेवा प्रदान गरेको र तत्पश्चात क्यान्सर बिरामीहरूमा रुची बढेपद्धि भारतको कर्नाटकस्थित केएलई एकेडेमी अफ हायर एजुकेशन एण्ड रिसर्चबाट एमपीटी—अंकोलोजी फिजियोथेरापीको अध्ययन गरेकी हुन् ।
उनले क्यान्सर बिरामीहरूलाई सर्जरी र किमोथेरापी पश्चातको शारीरिक पुनःनिर्माणमा वैज्ञानिक र प्रभावकारी फिजियोथेरापी सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । ‘कुहिनो, घुँडा, काँख र अन्य अंगको गतिविधि सुधार, शारीरिक शक्ति वृद्धि र दैनिक कामकाज सामान्य गर्न उहाँले व्यक्तिगत र समूह आधारित थेरापी सेवा उपलब्ध गराउनु हुनेछ,’ अस्पतालले भनेको छ, ‘क्यान्सर रोगका बिरामीको उपचार यात्रा पूर्ण भइसकेपछि नयाँ जीवन सुरु हुन्छ । शारीरिक पुनःर्स्थापना, कार्यक्षमतामा सुधार र आत्मविश्वास पुनः लाभ— यो सबै क्यान्सर सर्वाइभरका लागि महत्त्वपूर्ण हुन्छ ।’
क्यान्सरका बिरामीहरुले अंकोलोजी फिजियोथेरापी विशेषज्ञ श्रेष्ठले आइतबारदेखि शुक्रबार बिहान ९ देखि साँझ ५ बजेसम्म बिरामीहरूलाई परामर्श तथा उपचार सेवा प्रदान गर्नेछन् । हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । हाल विभागले दैनिक १०० भन्दा बढी बिरामीलाई सेवा दिन सक्ने क्षमता विकास गरिएको छ । विभागमा अर्थो, स्पोर्ट्स, न्यूरोलोजी, कार्डियो, बालबालिका तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ टोली काम गर्दै आएको छ ।
हस्पिटलमा टेन्स थेरापी, अल्ट्रासाउन्ड, लेजर थेरापी, गेट ट्रेनर, मिरर थेरापी र मल्टी–स्टेशन जिम लगायत आधुनिक उपकरणहरू उपलब्ध रहेका छन्।