वीरेन्द्रनगर—कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक पाइएको छ । कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो चरणमा कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक रहेको पाइएको छ ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा आर्थिक वर्ष २०८२/०८३ मा ३६ हजार छ सय २४ जना मानसिक स्वास्थ्यका बिरामीको उपचार गरिएको थियो । तीमध्ये ११ हजार चार सय ८४ नयाँ बिरामी र २५ हजार एक सय ४० जना नियमित जाँच गर्न आएका थिए ।
मानसिक स्वास्थ्यको उपचारमा सबैभन्दा कम बिरामी डोल्पामा र सबैभन्दा बढी सुर्खेत जिल्लामा पाइएको स्वास्थ्य सेवा निर्देशनालयका मनोविद लक्ष्मी तामाङले बताइन् । उनले डोल्पामा ४५ जना मानसिक स्वास्थ्यका नयाँ बिरामी, र ४५ जनाको फ्लोअफ गरिएको, सुर्खेतमा पाँच हजार नौ सय ३५ जना नयाँ बिरामी, १३ हजार आठ सय ३२ जनाको फ्लोअफ गरिएको र १९ हजार सात सय ६७ जनाको उपचार गरिएको बताइन् ।
त्यस्तै, मुगुमा मानसिक स्वास्थ्यमा नयाँ बिरामी ६४ जना, फ्लोअपमा ५० जना र एक सय १४ जना उपचार गरिएको, हुम्लामा ८१ जना नयाँ बिरामी, ४६ जना फ्लोअप गरी एक २७ जनाको उपचार गरिएको, जुम्लामा ४० जना नयाँ बिरामी, ४२ जनाको फ्लोअप गरी ८२ जनाको उपचार गरिएको, कालिकोटमा तीन सय २२ जना नयाँ बिरामी, दुई सय ४३ जना फ्लोअप गरी पाँच सय ६५ जनाको उपचार गरिएको छ ।
यस्तै, दैलेखमा छ सय ६७ जना नयाँ बिरामी, दुई हजार एक सय ७२ जनाको फ्लोअप गरी दुई हजार आठ सय ३९ जनाको उपचार गरिएको, जाजरकोटमा छ सय ११ जना नयाँ बिरामी, दुई हजार नौ सय ५९ जनाको फ्लोअप गरी तीन हजार पाँच सय ५२ जनाको उपचार गरिएको, रुकुमपश्चिममा दुई हजार छ सय २२ जना नयाँ बिरामी, तीन हजार सात सय ३० जनाको फ्लोअप गरी छ हजार तीन सय ५२ जनाको उपचार गरिएको र सल्यानमा एक हजार ९७ जना नयाँ बिरामी, दुई हजार ६६ जनाको फ्लोअप गरी तीन हजार एक सय ६३ जनाको उपचार गरिएको मनोविद तामाङले बताइन् ।
मनो परामर्शकर्ताको अभाव
कर्णालीका १० जिल्लाका ७९ स्थानीय तहमा मनोपरामर्शकर्ताको अभाव देखिएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीका ७९ स्थानीय तहमध्ये ४१ स्थानीय तहमा मात्रै मनोपरामर्शकर्ता रहेका छन् ।
हुम्लाका सात स्थानीय तहमध्ये चार वटामा, डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटामा, मुगुका चार स्थानीय तहमध्ये एक स्थानीय तहमा, कालिकोटका नौ स्थानीय तहमध्ये चार वटामा, जुम्लाका आठ स्थानीय तहमध्ये तीन वटामा, रुकुमपश्चिमका छ स्थानीय तहमध्ये चार वटामा, जाजरकोटका सात स्थानीय तहमध्ये पाँच वटामा, दैलेखका ११ स्थानीय तहमध्ये सात वटामा, सल्यानका स्थानीय तहमध्ये सात वटामा र सुर्खेतका नौ स्थानीय तहमध्ये चार वटामा मनोपरामर्शकर्ताको अभाव रहेको छ ।
साउन महिनाभर अभियान चलाइदै
‘मानसिक स्वास्थ्यका बारेमा खुलेर मनका कुरा गरौं, सुनौं र सहयोग गरौं’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेश सरकारले साउन महिनाभर ‘मानसिक स्वास्थ्य सचेतना महिना साउन २०८३’ अभियान सञ्चालन गरेको छ ।
अभियानमा प्रदेशस्तरमा स्वास्थ्य/मानसिक स्वास्थ्य सरोकारवालाहरुसंग बैठक/पैरवी तथा योजना तयारी, रेडियो/एफ.एम.बाट सचेतनामूलक स्वास्थ्य सन्देश प्रवाह, व्यानर प्रदर्शन तथा स्वास्थ्य शिक्षा सूचना सामग्रीहरुको उत्पादन तथा वितरण, पत्रकार/मिडिया अन्तरक्रिया कार्यक्रम प्रदेश तथा जिल्लातहमा गरिने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले बताए ।
‘विभिन्न जिल्लाका केही विद्यालयहरुमा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा सचेतना कार्यक्रम संचालन गरिनेछन,’ उनले भने, ‘सुर्खेत, दैलेख, सल्यान र रुकुम पश्चिममा मानसिक स्वास्थ्य शिविर संचालन हुनेछन् ।’