काठमाडौं-गोकर्णेश्वर नगरपालिकाका नागरिकलाई गुणस्तरीय तथा सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता भएको छ ।
सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा ह्याम्समा उपचार, शल्यक्रिया तथा अन्य विशेषज्ञ सेवा लिन आउने नगरपालिकाका स्थायी बासिन्दाले विशेष छुट तथा सहुलियत पाउनेछन् ।
सहकार्यअन्तर्गत नियमित स्वास्थ्य परीक्षण, जनस्वास्थ्य प्रवद्र्धन, स्वास्थ्य सचेतना तथा दीर्घरोगको समयमै पहिचान र उपचारमा समेत जोड दिइनेछ ।
ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले स्थानीय सरकारसँगको सहकार्यले विशेषज्ञ स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्याउन सहयोग पुग्ने बताए ।
नगर प्रमुख रिसालले सहकार्यबाट नगरवासीको उपचार खर्च घट्नुका साथै स्वास्थ्य परीक्षण र रोगको प्रारम्भिक पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ह्याम्स अस्पतालले मुटु तथा रक्तनली, न्युरोसाइन्स, क्यान्सर, अर्थोपेडिक्स, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी र क्रिटिकल केयरलगायतका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालले आगामी दिनमा स्थानीय तह तथा समुदायसँगको सहकार्य थप विस्तार गर्दै गुणस्तरीय, पहुँचयोग्य र नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने जनाएको छ।