वीरेन्द्रनगर – कालिकोटको पलाँता गाउँपालिका–९, थिर्पुस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि स्थानीयले हातपात तथा अभद्र व्यवहार गरेका छन् ।
शुक्रबार उपचारमा खटिएका डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि स्थानीय व्यक्तिहरूले अस्पताल परिसरमै हातपात तथा अभद्र व्यवहार गरेको जनाइएको छ ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, कालिकोटले घटनाको सत्यतथ्य छानबिन तथा सुरक्षा व्यवस्था कडा बनाउन इलाका प्रहरी कार्यालय, रास्कोटबाट प्रहरी निरीक्षक सत्यनारायण चौधरीको कमान्डमा विशेष प्रहरी टोली घटनास्थलमा खटाएको जनाएको छ ।
स्वास्थ्य संस्थाजस्तो संवेदनशील स्थानमा स्वास्थ्यकर्मीमाथि भएको घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश खत्रीले जानकारी दिए ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थासमेत थप कडा बनाएको जनाएको छ ।