२०८३ साउन २७, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल

कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमणमुक्त गराउन डोजर चलाइएको एक महिना पुग्न लाग्दा पनि उक्त क्षेत्रको संरक्षण हुन सकेको छैन । अस्पताल प्रशासन र विराटनगर महानगरपालिकाबीच सडक मापदण्डको विषयमा कुरा नमिल्दा भत्काइएको संरचना आसपास अहिले असुरक्षित खाडल र अव्यवस्थित पार्किङ स्थल बनेको छ ।

२९ असार विहानै अस्पताल प्रशासनले सुरक्षा निकायको समन्वयमा तीन वटा डोजर प्रयोग गरी ३६ वटा व्यवसायिक सटरहरू भत्काएको थियो । वर्षौंदेखि हडपिएको जग्गा खाली गराएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले तत्काल पर्खाल लगाएर जग्गा सुरक्षित गर्ने घोषणा गरेका थिए । तर, एक महिना बित्न लाग्दा पनि देवकोटा चोक, रेडक्रस र पुस्तकालय अगाडिको क्षेत्र अहिले असुरक्षित बनेको छ ।

पर्खाल लगाउनका लागि अस्पतालले खनेका ठूला–ठूला खाडलहरू अहिले पैदलयात्रीका लागि धराप बनेका छन् । अस्पतालले एक हप्ताअघि देवकोटा चोक तर्फबाट पर्खाल लगाउन जग खन्न सुरु गरेपनि महानगरपालिकाको नगर प्रहरीले काममा अवरोध पु¥याएपछि योजना अलपत्र परेको हो ।

अस्पताल र महानगरबीच सडकको ‘बीच भागदेखि कति दुरी छाड्ने’ भन्नेमा विवाद देखिएको छ । अस्पताल अगाडि साढे ११ मिटरको सडक छ । सरकारी मापदण्डअनुसार सडकको मध्यभागबाट साढे ५ मिटर छाडेर संरचना बनाउनुपर्छ । अस्पताल प्रशासनका अनुसार उनीहरूले साढे ७ मिटर (मापदण्डभन्दा २ मिटर बढी) छाडेर पर्खाल लगाउन जग खनेका थिए । तर, महानगरले भने साढे ८ मिटर छाड्नुपर्ने अडान राखेको छ ।

‘हामीले मापदण्डभन्दा बढी नै ठाउँ छाडेर जग खनेका थियौं तर महानगरले साढे ८ मिटर छाड्नुपर्ने भन्दै काम रोकिदियो,’ मेसु डा. झाले भने, ‘अब प्रशासनसँग समन्वय गरेर चाँडै काम अघि बढाउने तयारीमा छौँ ।’

यता, विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले भने सडक पेटीको पर्याप्त ठाउँ छाडेर मात्र काम गर्न भनिएको बताए । ‘हामीले छलफल गरेरै काम सुरु गर्नु भनेका हौँ, अस्पतालले किन रोकेको हो, त्यो बुझ्नुपर्छ,’ उनले भने ।

खाडलमा जोखिम, स्थानीय आक्रोशित

अस्पतालले पर्खाल लगाउन खनेका खाडलमा अहिले बर्खाको पानी जमेर जलमग्न भएको छ । यसले अस्पताल आउने बिरामी र सर्वसाधारणलाई सास्ती मात्र दिएको छैन, दुर्घटनाको जोखिम समेत बढाएको छ । ‘खनेर त्यसै छाडेको दुई हप्ता भन्दा बढी भयो । काम नगर्ने भए किन खनेको ?,’ अस्पताल आएका सेवाग्राही रोशन श्रेष्ठले आक्रोश पोखे, ‘अहिले पानी भरिएर पोखरी जस्तो भएको छ, यसमा डुबेर कसैको ज्यान गए कसले जिम्मा लिने ? यो तत्काल पुर्नुपर्छ वा काम सक्नुपर्छ ।’

संरक्षणको अभावमा खाली गराइएको ठाउँ अहिले अव्यवस्थित पार्किङ स्थलमा परिणत भएको छ । हस्पिटल चोक अगाडिका अस्पताल पुग्ने सवारी साधनहरू जथाभावी पार्क गरिँदा उक्त क्षेत्र कुरूप र अस्तव्यस्त देखिएको छ ।

अस्पतालको अभिलेख अनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर र नेपाल रेडक्रस सोसाइटीले करिब २ कट्ठा जग्गा वर्षौंदेखि प्रयोग गर्दै आएका थिए । पञ्चायतकालदेखि नै यी संस्थाहरूले अस्पतालको जग्गामा व्यवसायिक सटरहरू बनाएर भाडामा लगाएका थिए । असार २९ को ‘डोजर अपरेसन’मा गणेश मन्दिरले भाडामा लगाएका आधा दर्जन सटरसहित क्षयरोग निवारण संस्था, रेडक्रस र देवकोटा पुस्तकालयका नाममा बनाइएका ३६ वटा सटर ध्वस्त पारिएको थियो ।

अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइटेलका अनुसार सटरहरू भत्काइएपनि क्षयरोग निवारण संस्था, ब्लड बैंक, देवकोटा पुस्तकालय र गणेश मन्दिरको मूल संरचना भने तत्कालका लागि यथावत राखिएको छ । अतिक्रमित संरचना हटेसँगै उक्त जग्गामा अस्पतालको सेवा विस्तार र संस्थागत प्रयोजनका लागि उपयोग गर्ने अस्पतालको योजना छ । तर, महानगर र अस्पतालबीचको समन्वय अभावले तत्काललाई यो योजना अलपत्र पर्ने देखिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ