२०८३ साउन २८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यगोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता


काठमाडौं—गोकर्णेश्वर नगरपालिका र अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा आयोजित एक कार्यक्रममाझ गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली र नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. साबिहा यासमिनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एक वर्षका लागि भएको उक्त सम्झौताअनुसार नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य उपचार सेवासँग सम्बन्धित सम्पूर्ण सुविधा (स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक, औषधि उपचार कोषलगायतका अन्य सरकारी सुविधा) पूर्ण रुपमा उपयोग गरिसकेपछि मात्रै सम्झौता लागु हुनेछ । जसअन्तर्गत गोकर्णेश्वरमा स्थायी बसोबास भएका र नगरपालिकाबाट सिफारिस भएर आएका नागरिकले स्वास्थ्य जाँच र उपचारका अस्पतालले उपलब्ध गराउने छुट बाहेकको १ लाख रुपैयाँसम्म उपचार खर्च पाउनेछन् । उपचारका लागि आवश्यक पर्ने औषधि खर्च बिरामी स्वयंमले ब्यहोर्नुपर्नेछ भने रगत प्राप्त गर्नका लागि नगरपालिकाले ११५० रूपैयाँ प्रति पिन्ट प्रयोगशाला जाँचमा लाग्ने शुल्कमा शोध भर्ना दिनेछ ।

नागरिकता र मतदाता परिचयपत्रका आधारमा उक्त सेवा लिन सकिने सम्झौतामा छ । यस्तै, नेपाल मेडिकल कलेजले गोकर्णेश्वर नगरपालिकाका नागरिकलाई निःशुल्क ओपीडी दर्ता सुविधा उपलब्ध गराउनेछ । नेपाल मेडिकल कलेजले प्रयोगशाला परीक्षण, जनरल वेड, एक्स—रे तथा युएसजी, इसिजी, इण्डोस्कोपीरकोलोनोस्कोपी, फिजियोथेरापी, डाइग्नोष्टिक प्रोसिडर, दन्त सेवा, क्याथ ल्याब र इम्प्लान्टबाहेका शल्यक्रियाहरुमा १५ प्रतिशत छुट दिनेछ ।

सम्झौता कार्यक्रममा बोल्दैं गोकर्णेश्वरका मेयर दिपक रिसालले नगरवासीलाई १ लाख रूपैयाँसम्म निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्था नगरपालिकाले गरेको बताए । ‘गोकर्णेश्वरवासी कोही पनि आर्थिक अभावमा उपचार नपाएर मर्नु पर्दैन्,’ उनले भने, ‘हामीले १३ वटा अस्पतालसँग सम्झौता गरेर १ लाखसम्म उपचार खर्च नगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरेका छौं ।’ उनले आईभीएफ सेवा लागि पनि नगरपालिकाले आफ्ना नागरिकलाई खर्च उपलब्ध गराउने बताए ।

अस्पतालका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले गोकर्णेश्वर नगरपालिका अरु स्थानीय सरकारका लागि आफैमा एक उदाहरण भएको बताए । ‘यो स्कीम एकदमै सरह्रानीय छ,’ उनले भने, ‘हामीले यहाँका नागरिकलाई हाम्रो सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउनेछौंं ।’

नेपाल मेडिकल कलेजका पूर्व अध्यक्ष डा. भोला रिजालले स्थानीयलाई छुटसहित सेवा दिनका लागि नगरपालिकासँग सम्झौता भएको बताए । ‘निमुखा जनताले आफ्नो उपचार खर्च व्यवहोर्न नसक्ने अवस्था छ,’ उनले भने, ‘एक लाखसम्मको उपचार खर्च नगरपालिकाले दिँदा उनीहरुलाई राहत हुन्छ ।’

कलेजका बोर्ड अफ डाइरेक्टर आनन्दप्रसाद श्रेष्ठले स्थानीय सरकारसँगको सहकार्यले स्थानीय नागरिकलाई सेवा दिन र सेवा लिन सहज हुने विश्वास व्यक्त गरे ।

नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा.साबिहा यासमिनले गोकर्णेश्वर नगरपालिकासँग तीन—चार वर्षदेखि काम गरिरहेको जानकारी दिइन् । ‘यो वर्ष सम्झौता गर्न कार्यव्यस्तताले अलि ढिला भयो । एक लाखको स्वास्थ्य बीमा नगरवासीलाई उपलब्ध गराउनु यो निकै ठूलो उपलब्धि हो,’ उनले भनिन्, ‘तीन चार वर्षदेखि हामीले नगरपालिकासँग काम गरिरहेका छौं ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ