२०८३ साउन ३१, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण

नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण


विराटनगर—नसर्ने रोगहरूको रोकथाम र उपचारमा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ठूलो भूमिका खेल्न सक्ने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । आइतबार विराटनगरमा आयोजित आयुर्वेद स्वास्थ्यकर्मीहरूको प्रशिक्षण तथा क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उनीहरूले यस्तो धारणा राखेका हुन् ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज मोरङले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय उपाध्यक्ष महेश थापाले यस्ता तालिमले स्वास्थ्यकर्मीहरूको कार्यक्षमता बढाउन ठूलो सहयोग पुग्ने बताए । ‘सबै जिल्लाहरूमा यस किसिमका कार्यक्रम सञ्चालन गरिनुपर्छ । बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी सफल स्वास्थ्यकर्मी बन्नु आजको आवश्यकता हो,’ थापाले भने । उनले आयुर्वेद चिकित्सा पद्धतिलाई थप विस्तार र विकास गर्नुपर्नेमा जोड दिँदै संस्था सधैँ स्वास्थ्यकर्मीहरूको हितमा रहेको उल्लेख गरे ।

त्यसैगरी, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशका अध्यक्ष बैजनाथ साहले आयुर्वेदलाई नसर्ने रोग विरुद्धको अभियानका रूपमा अगाडि बढाउनुपर्ने बताए । उनले तालिमको महत्त्वबारे प्रष्ट पार्दै भने, ‘बिना औषधि र मनोवैज्ञानिक पद्धतिबाट बिरामीलाई कसरी तत्काल राहत दिन सकिन्छ भन्ने सीप यो तालिमले सिकाउनेछ । आयुर्वेद स्वास्थ्यकर्मीहरू वास्तवमा नसर्ने रोग विरुद्धका अभियान्ता हुन् ।’ उनले धैर्यताका साथ सीप सिक्न सहभागीहरूलाई आग्रह गरे ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा. रामप्रबोध चौधरीले तालिमले स्वास्थ्यकर्मीहरूको दक्षता वृद्धि भई सेवा प्रवाहमा सुधार आउने विश्वास व्यक्त गरे ।

तालिमको सहजीकरण नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशका अध्यक्ष बैजनाथ साह, वरिष्ठ कविराज मुकेश सिंह र डा. सरोज विशाललगायतले गर्नेछन् ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज मोरङकी अध्यक्ष सरिता श्रेष्ठका अनुसार कार्यक्रममा जिल्लाभरका दुई दर्जन स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ । उनले आगामी दिनमा पनि स्वास्थ्यकर्मीहरूको व्यावसायिक विकासका लागि यस्तै रचनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गरिने जानकारी दिइन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ