विराटनगर—कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नियुक्त हुने भएका छन् । सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्न लागेको मन्त्रिपरिषद् विस्तारमा पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुम्पिन लागेका हुन् ।
उनी यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । मुख्यमन्त्री कार्कीले एमालेबाट मन्त्री बनेका दुई जना र एक राज्यमन्त्रीको जिम्मेवारी समेत हेरफेर गरेका छन् । जसअनुसार यसअघि सामाजिक विकास मन्त्री रहेका रामकुमार महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
एमाले र नेकपा बीचको नयाँ सत्ता समीकरणअनुसार नेकपा सोमबारसरकारमा सहभागी हुँदैछ । नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्रीले आजै अपराह्न ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ लिने कार्यक्रम तय भएको छ ।
नेकपाबाट खिनु लङ्वा लिम्बू वन, पर्यटन तथा वातावरण मन्त्री, जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री, गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुन मन्त्री र गीता तिम्सिना सामाजिक विकास मन्त्री बन्ने निश्चित भएको छ । यस्तै, नेकपाबाटै सपना दर्जीले वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीको रूपमा शपथ लिने तयारी छ ।
नयाँ मन्त्रीहरूको शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा आवश्यक तयारी पूरा भइसकेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।