२०८३ भदौ ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजापनिज इन्सेफ्लाइटिस किन चिन्ताको कारण बन्दैंछ ?

जापनिज इन्सेफ्लाइटिस किन चिन्ताको कारण बन्दैंछ ?


जापनिज इन्सेफ्लाइटिस (Japanese Encephalitis-JE) संक्रमित क्युलेक्स लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यो मानिसबाट मानिसमा सामान्यतया: सर्दैन ।

नेपालमा यसको संक्रमण वर्षायाममा बढ्ने प्रवृत्ति छ र कैलालीलगायत तराईका जिल्ला उच्च जोखिम भएका जिल्लामध्ये पर्छन् ।

हाल नेपालमा जापनिज इन्सेफ्लाइटिसका केसहरू बढिरहेको रिपोर्ट आएको छ । अगस्त २०२६ को पछिल्लो रिपोर्टअनुसार कैलालीमा आठ जना संक्रमित र दुई जनाको मृत्यु भएको उल्लेख छ ।

यसले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ—ज्वरोसँगै न्यूरोलोजिकल लक्षण  देखियो भने ‘सामान्य ज्वरो’ भनेर नबसौँ ।

ज्वरो आएको बिरामीमा के हेर्ने?

घरमा वा समुदायमा ज्वरो आएको व्यक्तिलाई हेर्दा केवल ‘कति डिग्री ज्वरो छ?’ भनेर मात्र नहेरी यी कुरा पनि ध्यान दिनुपर्छ:

  •  बिरामी सचेत छ कि छैन?
  •  पानी खान सकिरहेको छ कि छैन?
  • सास फेर्न गाह्रो छ कि छैन?
  • अत्याधिक टाउको दुखेको छ कि छैन?
  • बारम्बार बान्ता भइरहेको छ कि छैन?
  • झट्का आएको छ कि छैन?
  • शरीरमा डाबर वा रक्तस्राव छ कि छैन?
  • कुनै लामखुट्टे, झाडी, जंगल वा जोखिमपूर्ण वातावरणमा एक्स्पोजर भएको छ कि छैन?

यी जानकारीले स्वास्थ्यकर्मीलाई सम्भावित रोग छुट्याउन धेरै सहयोग गर्छ।

ज्वरो घट्यो भन्दैमा खतरा टर्‍यो भन्ने हुँदैन्

कतिपय रोगमा ज्वरो घट्दैमा बिरामी पूर्ण रूपमा सुरक्षित भएको हुँदैन । त्यसैले बिरामीको पूर्ण क्लिनिकल अवस्था  हेर्नु आवश्यक हुन्छ ।

विशेषगरी डेंगीमा खतरा संकेतहरू, मलेरियामा चेतनाको अवस्था परिवर्तन हुनु वा गम्भीर कमजोरी, र जापानी इन्सेफलाइटिसमा न्यूरोलोजिकल लक्षणहरू देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ ।

हामीले ज्वरो आउनेबित्तिकै डराउनुपर्ने होइन् तर—’ज्वरो त हो, आफैं निको हुन्छ’ भनेर सबै ज्वरोलाई बेवास्ता पनि गर्नु हुँदैन् ।

सामान्य भाइरल ज्वरो आफैं निको हुन सक्छ । तर, त्यही ज्वरोको सुरुवाती चरणमा डेङ्गी, मलेरिया, स्क्रब टाइफस, निमोनिया, मेनिन्जाइटिस वा जापानी इन्सेफलाइटिसजस्ता रोग पनि हुन सक्छन् ।

त्यसैले—ज्वरोको तापक्रम मात्र होइन, ज्वरोसँगै देखिएका लक्षण र बिरामीको अवस्था हेर्नुपर्छ । अहिले कैलालीमा लगायतका जिल्लाहरुमा जापनिज इन्सेफ्लाइटिसको जोखिम देखिएको अवस्थामा विशेषगरी ज्वरो + अत्यधिक टाउको दुखाइ + बान्ता + चेतनामा परिवर्तन + झट्काजस्ता लक्षणलाई गम्भीर संकेतका रूपमा लिनु आवश्यक छ ।  यस्ता लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुर्‍याउनु नै सुरक्षित उपाय हो ।

अन्तत: एउटै ज्वरो—तर कारण अनेक

कुनै ज्वरो सामान्य हुन सक्छ, कुनै ज्वरो गम्भीर रोगको पहिलो संकेत हुन सक्छ । त्यसैले ज्वरो आयो भने केवल तापक्रम नापेर नबसौँ । ज्वरोको कारण खोजौँ, चेतावनीका लक्षण पहिचान गरौँ र आवश्यक परे समयमै स्वास्थ्य संस्थामा पुगौँ ।

किनकि—ज्वरो आफैं रोग होइन, शरीरले दिएको संकेत हो । संकेतलाई समयमै बुझ्नु नै उपचारको पहिलो कदम हो ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ