२०८३ असोज ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला

घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला

एक हजार ४३३ जनामा बालबालिकामा शीघ्र कुपोषण


जुम्ला—कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्य लिइएपनि चुनौती भने कायमै छ  । सरकारी तथा गैरसरकारी संघसंस्थाको साझा प्रयासमा संस्थागत सुत्केरी हुने दर वृद्धि भएपनि घरमा सुत्केरी हुने दर भने घटेको छैन ।

कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार कर्णालीका २८ प्रतिशत गर्भवती घरमै सुत्केरी हुने गरेको पाइएको छ भने संस्थागत सुत्केरी ७२ प्रतिशत पुगेको छ ।

स्वास्थ्य सेवा निर्देशनालयकी पब्लिक हेल्थ नर्स मानकुमारी गुरुङका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्णालीमा संस्थागत सुत्केरी ७२ प्रतिशत, दक्ष जनशक्तिबाट सुरक्षित प्रसूति दर ६९ प्रतिशत, आठ पटक गर्भवती जाँच गर्ने ५७ प्रतिशत, २० वर्षमुनिका गर्भवती आमा १५ प्रतिशत रहेको छ  । संस्थागत सुत्केरी हुनेमा कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा रहेको छ भने डोल्पामा संस्थागत सुत्केरी भएको दर्ताको तथ्यांक छैन ।

यसैगरी घरमा तथा स्वास्थ्य संस्थामा ल्याउँदै गर्दा बाटोमा मृत्यु हुनेको संख्या २० पुगेको छ  । जाजरकोटमा ३१८ जना र रुकुमपश्चिममा ८० जना महिला घरमा सुत्केरी भएको निर्देशनालयले जनाएको छ  ।

गत वर्ष कर्णालीमा कडा शीघ्र कुपोषण भएका ६३० जना बालबालिका रहेकोमा १८६ जनाको पोषण केन्द्रमा राखेर उपचार गरिएको छ  । कर्णालीका महिलामा आङ खस्ने दर २४ प्रतिशत छ  ।

यस्तै, कर्णालीभर ७९ हजार ६९२ जना बालबालिकाको स्वास्थ्य जाँच गर्दा एक हजार ४३३ जनामा शीघ्र कुपोषण देखिएको निर्देशनालयका पब्लिक हेल्थ नर्स गुरुङले बताइन् । उनले भनिन्, ‘कर्णालीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कभरेज ९८ प्रतिशत रहेको छ । अन्य खोप ९० प्रतिशतमाथि रहेको छ ।’ कर्णालीमा विगतको तुलनामा अवस्थामा सुधार हुँदै आएपनि घरमा सुत्केरी हुने दर, मातृमृत्यु दरमा कमी ल्याउन सकिएको छैन ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले प्राप्त स्रोतसाधनलाई अधिकतम उपयोग गरेर कर्णालीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने प्रयास गरिएको बताए  । उनले भने, ‘कर्णालीमा भौतिक पूर्वाधार र विशेषज्ञ जनशक्तिको अभावजस्ता समस्या रहेका छन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ