२०८३ कात्तिक १३, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को प्रतिबद्धता

स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को प्रतिबद्धता


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा.डा. सूर्यमान मेन्याङ्बोले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासँग स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली निर्माणमा हामी सबैको साझा प्रतिबद्धतासहित कार्यसम्पादन सम्झौता गरेका छन् ।

प्रतिष्ठानका उपकुलपति मेन्याङ्बो र स्वास्थ्यमन्त्री मेहताबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको हो । सम्झौताले प्रतिष्ठानको आगामी कार्यदिशा, प्राथमिकता र संस्थागत जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ ।

सम्झौतामा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, चिकित्सा शिक्षा तथा शैक्षिक गुणस्तर अभिवृद्धि, विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्तिको व्यवस्थापन महत्वपूर्ण विषय समेटिएका छन् । यस्तै, भौतिक पूर्वाधार विकास, औषधि तथा उपकरणको प्रभावकारी व्यवस्थापन, स्वास्थ्य बिमा तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवा, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल स्वास्थ्य प्रणाली, सुशासन र प्रशासनिक सुधारलगायतका महत्त्वपूर्ण विषयहरू समेटिएका छन् ।

विशेषगरी, बिरामीको सेवा प्राप्त गर्ने प्रतीक्षा समय घटाउने, विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, शैक्षिक कार्यक्रमलाई थप गुणस्तरीय बनाउने रहेको छ । यस्तै, अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा दुर्गम क्षेत्रका नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउने लक्ष्यहरू अत्यन्तै महत्वपूर्ण रहेका छन् ।

आर्थिक वर्ष २०८३/८४ का लागि पुँजीगत खर्च शतप्रतिशत पु¥याउने र स्वास्थ्य बिमाअन्तर्गत सेवाग्राहीको संख्या ८५ हजार पु¥याउने सम्झौतामा लक्ष्य निर्धारित गरिएको उपकुलपति मेन्याङ्बोले बताए । बिरामीको औसत प्रतीक्षा समय तीन घण्टाबाट डेढ घण्टामा झार्ने, विशेषज्ञ तथा प्राविधिक जनशक्तिको पदपूर्ति ७५ प्रतिशत पु¥याउने सम्झौतामा लक्ष्य निर्धारण गरिएको छ ।

शैक्षिक गुणस्तर अभिवृद्धि गरी ९० प्रतिशत लक्ष्य हासिल गर्ने, ईएमआर डिजिटल स्वास्थ्य प्रणालीलाई संस्थागत गर्ने र अनुसन्धान, विशेषज्ञ सेवा तथा ग्रामीण स्वास्थ्य सेवाको विस्तार गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

उपकुलपति मेन्याङ्बोले भने लक्ष्यहरू केवल वार्षिक योजना मात्र होइनन्, कर्णालीका नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने र प्रतिष्ठानलाई राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक तथा स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्ने दिशाका महत्वपूर्ण आधार हुन् ।

कर्णालीको भौगोलिक विकटता, सीमित स्रोतसाधन र विविध चुनौतीका बाबजुद पनि प्रतिष्ठानले स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धानका क्षेत्रमा निरन्तर प्रगति गर्दै आएको छ । आगामी दिनमा यस उपलब्धिलाई थप सुदृढ गर्दै सेवा प्रवाहलाई अझ गुणस्तरीय, पारदर्शी, सहज र जनमुखी बनाउने हाम्रो साझा प्रतिबद्धता रहनेछ ।

बिरामीलाई गुणस्तरीय उपचार, विद्यार्थीलाई उत्कृष्ट शिक्षा, कर्मचारीलाई मर्यादित कार्य वातावरण र संस्थालाई पारदर्शी, उत्तरदायी तथा परिणाममुखी प्रणाली प्रथामिकतामा राखिएको छ ।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उन्नति भनेको केवल एउटा संस्थाको विकास होइन, समग्र कर्णालीको स्वास्थ्य, शिक्षा र समृद्धिको आधार निर्माण गर्नु हो,’ उपकुलपति मेन्याङ्बोले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ