काठमाडौं –चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै प्रा.डा. गोविन्द केसी अनशनमा बसेपछि सरकारले उनका मागप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ । सोमबार शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा सुधारका क्षेत्रमा सरकारले चरणबद्ध रूपमा काम गरिरहेको र केसीले उठाएका अधिकांश विषय कार्यान्वयनको प्रक्रियामा रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदन, आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्डका आधारमा कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको हो । सरकारी मेडिकल कलेजहरूमा चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डका आधारमा विद्यार्थीको सिटसमेत वृद्धि गरिएको मन्त्रालयको भनाइ छ ।
त्यस्तै, गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ३०० शैयाको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा रहेको र आगामी दिनमा थप विस्तार गरिने मन्त्रालयले जनाएको छ । विश्वविद्यालयका पदाधिकारी नियुक्तिलाई निष्पक्ष, विवादरहित र दलीय प्रभावमुक्त बनाउन कानुनी व्यवस्थामा संशोधन प्रक्रिया अघि बढाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सा शिक्षामा छात्रवृत्ति कोटा र गुणस्तरसम्बन्धी मागबारे मन्त्रालयले सार्वजनिक तथा निजी दुवै शैक्षिक संस्थामा प्रचलित ऐन र कानुनी व्यवस्थाअनुसार छात्रवृत्ति कार्यान्वयन भइरहेको स्पष्ट पारेको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको मापदण्डका आधारमा विद्यार्थी कोटा तोकिएको र गुणस्तर कायम गर्न आवश्यक मापदण्ड लागू गरिएको मन्त्रालयको दाबी छ ।
विगतमा सरकार र डा. केसीबीच भएका सहमति कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको छ । २०८३ साउन ११ गते भएको सहमतिसहित यसअघिका सत्याग्रहका क्रममा गरिएका सहमतिको कार्यान्वयन अवस्था विश्लेषण गर्न २०८३ साउन २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ । कार्यदल प्रतिवेदनको मस्यौदा तयारीको चरणमा रहेको जनाएको छ ।
यसैगरी, २०८२ भदौ २४ गते देशका विभिन्न स्थानमा भएका आगजनी, लुटपाट, तोडफोडलगायतका घटनाको छानबिन तथा दोषीमाथि कारबाहीको प्रक्रिया सम्बन्धित निकायबाट अघि बढिरहेको मन्त्रालयले जनाएको छ।
चिकित्सा शिक्षाको पहुँच देशभर विस्तार गर्ने योजनाअन्तर्गत सुर्खेत, बुटवल र बर्दिवासमा मेडिकल शिक्षा संस्था स्थापना गर्ने काम अघि बढाइएको मन्त्रालयको भनाइ छ । ती योजनाका लागि थप बजेट व्यवस्थापन गर्ने प्रक्रिया पनि चलिरहेको छ ।
मन्त्रालयले सबै प्रदेश र भूगोलका नागरिकलाई चिकित्सा शिक्षाको पहुँचमा ल्याउने सरकारको प्रतिबद्धता दोहोर्याउँदै चिकित्सा शिक्षा सुधार, सेवा प्रभावकारिता र सुशासनलाई प्राथमिकतामा राखिएको जनाएको छ।
अनशन अन्त्य गर्न सरकारको आग्रह
प्रा.डा. गोविन्द केसीले उठाएका विषयलाई सरकारले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै मन्त्रालयले सुधारका धेरै माग कार्यान्वयन भइसकेको दाबी गरेको छ । चिकित्सा शिक्षा आज नेपाली विद्यार्थीको आकर्षण बन्नु विगतका सुधार प्रयासको प्रतिफल भएको मन्त्रालयको भनाइ छ ।
बाँकी विषयमा पनि सहकार्य र संवादमार्फत सुधारका योजना निर्माण तथा कार्यान्वयन गर्न सरकार तयार रहेको उल्लेख गर्दै मन्त्रालयले डा. केसीलाई जारी सत्याग्रह अन्त्य गर्न विनम्र आग्रह गरेको छ ।
सरकारले विज्ञप्तिमार्फत सुधारका काम अघि बढेको दाबी गरे पनि डा. केसीका मागको पूर्ण कार्यान्वयन, विगतका सहमतिको प्रभावकारी कार्यान्वयन र सुधारको वास्तविक उपलब्धि भने आगामी दिनमा हुने कामबाटै स्पष्ट हुनेछ ।