२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई

प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई


काठमाडौं—औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले प्रतिजैविक प्रतिरोध कुनै एक व्यक्ति वा क्षेत्रको मात्र समस्या नभई जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती भएको बताएका छन् । बुधबार प्रतिजैविक सचेतना सप्ताहको अवसरमा एक विज्ञप्ती जारी गर्दै उनले प्रतिजैविक प्रतिरोधको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला सबै क्षेत्रको सामूहिक प्रयास आवश्यकता औल्याएका छन् ।

‘प्रतिजैविक प्रतिरोध कुनै एक व्यक्ति वा क्षेत्रको मात्र समस्या नभई जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती हो,’ उनले भनेका छन्, ‘प्रति जैविक प्रतिरोधको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला सबै क्षेत्रको सामूहिक समन्वयात्मक र एकीकृत प्रयासको अटुट निरन्तरता आवश्यक छ ।’ हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्वव्यापी रूपमा मनाइने यस वर्षको सप्ताहको मूल नारा ‘एक स्वास्थ्य, एक अभियानः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम गरौँ’ रहेको छ ।

प्रतिजैविक प्रतिरोधले सामान्य सङ्क्रमणको उपचारसमेत जटिल बनाउँदै मानव स्वास्थ्य, पशुपन्छी, कृषि उत्पादन, खाद्य सुरक्षा र वातावरणमा समेत गम्भीर असर पार्न थालेको भन्दै विभागले रोकथाम तथा नियन्त्रणमा सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

महानिर्देशक भट्टराईकाअनुसार एन्टिबायोटिकलगायत प्रतिजैविक औषधिको अनुचित तथा अत्यधिक प्रयोग र दुरुपयोगका कारण सूक्ष्मजीवहरूमा औषधिप्रति प्रतिरोधात्मक क्षमता तीव्र रूपमा बढिरहेको छ । यसको परिणामस्वरूप सामान्य सङ्क्रमणको उपचारसमेत जटिल बन्दै गएको छ । प्रतिजैविक प्रतिरोधले मानव स्वास्थ्यमा मात्र नभई पशुपन्छीको स्वास्थ्य, कृषि उत्पादन, खाद्य सुरक्षा तथा वातावरणमा समेत प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

यस चुनौतीको न्यूनीकरणका लागि प्रतिजैविक औषधिको विवेकपूर्ण प्रयोग, सङ्क्रमण रोकथाम तथा नियन्त्रण, सरसफाइ, खोपको प्रवर्द्धन र प्रभावकारी निगरानी प्रणाली सुनिश्चित गर्नुपर्ने विभागले जनाएको छ । ‘विशेषगरी चिकित्सकको सिफारिसबिना र आफूखुसी बिरामीले प्रति जैविक औषधिको प्रयोग नगर्ने, निर्धारित मात्रा र तोकिएको अवधिसम्म मात्र सेवन गर्ने व्यवहारको अनुपालन गर्न अति जरुरी छ,’ महानिर्देशक भट्टराईले भनेका छन् ।

उनले औषधि व्यवस्था विभागले प्रतिजैविक प्रतिरोध नियन्त्रणलाई प्राथमिकतामा राख्दै औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्ने, उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको नियमन गर्ने र प्रतिजैविक औषधिको विवेकपूर्ण प्रयोगलाई प्रवर्द्धन गर्ने कार्य गर्दै आएको जनाएको छन् ।

विभागले चिकित्सकीय सिफारिसबिना कुनै पनि प्रतिजैविक औषधिको बिक्री वितरण नगर्न तथा समूहका एन्टिबायोटिक औषधि अस्पतालका फार्मेसीबाट मात्र बिक्री वितरण गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन निरन्तर निगरानी गरिरहेको महानिर्देशक भट्टराईले उल्लेख गरेका छन् । उनले प्रतिजैविक औषधिको खपतसम्बन्धी तथ्याङ्क सङ्कलन र अन्तर्राष्ट्रिय स्तरमा प्रतिवेदन गर्ने कार्यलाई समेत प्राथमिकता दिइएको बताएका छन् ।

एन्टिबायोटिकको सही प्रयोग, सङ्क्रमणको रोकथाम र सामूहिक जिम्मेवारी नै प्रतिजैविक प्रतिरोध नियन्त्रणको आधार भएकाले आजैदेखि सचेत र जिम्मेवार व्यवहार अपनाउनुपर्ने सन्देश विभागले दिएको छ ।

यस्तै, बुधबार विहान विभागले सिंहदबारस्थित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयदेखि औषधि व्यवस्था विभागसम्म प्रभातफेरीको समेत आयोजना गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ