काठमाडौं—स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) नवीनतम प्रविधिसहित स्तरोन्नती गरेर सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमालाई अझ प्रभावकारी, सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले आधुनिक प्रविधि र नयाँ आर्किटेक्चरमा आधारित अद्यावधिक बीमा व्यवस्थापन सूचना प्रणाली (IMIS) सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ ।
अद्यावधिक प्रणालीले सेवा प्रदायकबाट प्राप्त स्वास्थ्य उपचार सम्बन्धी दावीहरु छिटो तथा प्रभावकारी रुजु र मुल्यांकन, राष्ट्रिय परिचयपत्रसँग अन्तरआवद्धता तथा तथ्यांक वैद्यता र गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास बोर्डले लिएको छ ।
साथै दावीमा भएका त्रुटि तथा असामान्य विवरण पहिचानका लागि प्रणालीगत फ्ल्यागिङ बीमितको अभिलेखको खोजी तथा पहिचान र सेवा प्रदायकको अवस्था सम्बन्धी विवरण अनुगमन गर्ने व्यवस्था पनि यो प्रणालीमा छ ।
स्तरोन्नतीपछि यसले सूचनाको सुरक्षा, प्रणालीको गति, कार्यसम्पादन र विश्वसनीयता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा कृत्रिम बुद्धिमता आधारित प्रविधि (एआई बेस्ड टेक्नोलोजी)को प्रयोग तथा विकासका लागि पनि आधार तयार गर्नेछ ।