२०७९ जेठ ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयोग‘षटकर्म शरीर शुद्धीको अचुक उपाय हो’

‘षटकर्म शरीर शुद्धीको अचुक उपाय हो’


विगत लामो समयदेखि योग अभियान संचालन गर्दै आएका विष्णुहरि आचार्य (योगीराज) लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका आयुर्वेद स्वास्थ्य सहायक हुन् । उनी कोभिड–१९ महामारीमा पनि योग अभियान संचालन गरेका कारण प्रदेश सरकारबाट सम्मानित भएका हुन् । योगीराजसँग षटकर्म चिकित्साका बारेमा हेल्थ आवाजका लागि डी.आर. बन्जाडेले गरेको कुराकानीको सम्पादित अंशः

षटकर्म चिकित्सा के हो ? यसलाई सरल भाषामा कसरी बुझ्ने ?
बाहिरी शरीरको सरसफाइ स्नान (नुहाएर) गरेजस्तै आन्तरिक (भित्री) शरीरको विधिपूर्वक सरसफाइ गर्ने क्रियालाई षटकर्म अर्थात डिटोक्सिफिकेसन भनिन्छ । पूर्वीय चिकित्सा विधाहरु आयुर्वेद, प्राकृतिक चिकित्सा र योग चिकित्सामा यो विधि महत्वपूर्ण छ ।

यो कर्म गर्दा के कस्ता विधिहरुको अवलम्बन हुन्छ ?
षटकर्मको विधिपूर्वक अभ्यासले शरीरमा सक्रियताका साथ विश्राम प्रदान गर्ने हुनाले स्वतन्त्र क्रिया तथा स्नायु प्रणलीलाई सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । शास्त्रहरुमा षटकर्मका विभिन्न भेद–उपभेद भएपनि चिकित्साका हिसाबले विभिन्न ६ विधिहरुको अभ्यास गरिन्छ । ती अभ्यासहरु धौती, वस्ती, नेती, त्राटक, नौली, कपालभाती रहेका छन् । यी ६ प्रकारका कर्महरुको समग्र स्वरुप नै षटकर्म विधि हो । यो सबै विधिहरुको समिश्रण पनि हो । ६ वटा उपभेदहरुको विधि कर्म नै यसको विधि हुन आउँछ ।

यहाँले ६ प्रकारका उपभेद उल्लेख गर्नुभयो । यसको अभ्यासबाट के कस्ता फाइदा हुन्छ ?

पानी वा सफा कपडालाई मुखबाट खाएर पेटमा पु¥याइ वमन उल्टी गराउने विधिलाई धौती भनिन्छ । कपडा प्रयोगभन्दा पानीको प्रयोग सहज हुने हुनाले प्रयोगात्मक रुपमा पानीको प्रयोग गरिन्छ । पेटको सफाइ गर्ने यो विधिमा पानी उमालेर मनतातो गरी पानीमा थोरै नुन मिसाइन्छ । उक्त पानीलाई दुवै खुट्टाको गति मिलाई भुइमा टुसुक्क वसेर छिटो–छिटो घाटीसम्म आउने गरी पिइन्छ । त्यसपछि चोर औला र माझी औलालाई मुख भित्र राखी जिब्रोको पछाडि मसाज गरिन्छ । मसाज सुरु भएपछि खाएको पानी उल्टी हुन थाल्नुपर्छ । जब पानी पूरै निस्किन्छ । त्यसपछि सवासनमा २० देखि ३० मिनेट आराम गरी मुम मसुरोसहितको जाउलोमा एक दुई चम्चा घ्यू राखी पेटभरी खुवाइन्छ । यो अभ्यास गरेको दिनमा साविकभन्दा धेरै मात्रामा पानी तथा झोल जन्य खाना दिनु पर्दछ । माछा, मासु, फास्ट फुड, पेय पदार्थजस्ता खान वन्चित गरिएको छ ।

गुदामार्गबाट औषधियुक्त पानी वा वायुलाई भित्र प्रवेश गराएर पेट तथा ठूलो आन्द्रा सफा गर्ने क्रियालाई वस्ती भनिन्छ । विधिपूर्वक गर्दा यो विधि एनिमा भन्दा धेरै प्रभावकारी मानिन्छ । कडा किसिमको कब्जियत, अरुचि र वायु विकारमा यो अभ्यास लाभदायी छ । पेट तथा आन्द्राहरुको अप्रेशन गरेकाहरुले यो विधि गर्नु हुँदैन् ।

नाकमा औषधीयुक्त पानी वा विशेष किसिमको रवरको सानो डोरी तथा क्याथेटर प्रयोग गरी नाक सफा गर्ने विधिलाई नेती भनिन्छ । उमालेको मनतातो पानीमा थोरै नुन राखी, करुवा वा नेती वस्तुको सहायताले एक नाकको प्यालबाट राखी अर्को नाकको प्वाँलबाट निकालिन्छ । यो क्रिया गर्दा मुखलाई आ गरी खुल्ला राख्नुपर्दछ । कान रोग वा नात्रो फुट्ने समस्या भएकाले यो विधि गर्नु हुँदैन् । सुत्रनेती तथा घृत नेती पनि महत्वपूर्ण मानिन्छ । शिरोरोग, आँखाको कमजोरी, घाँटीका समस्या, पिनास, माइग्रेन, अनिद्राजस्ता समस्याहरुमा यो विधि प्रभावकारी छ ।

आँखा सफा गर्ने विधि त्राटक हो । घ्यू वा तेलको बत्ती तयार गरी हावा नलाग्ने ठाउँमा तीन चार फुट दूरीमा मिलाएर राखी, आँखालाई नझिम्काइ हेरिरहने विधिलाई त्राटक भनिन्छ । यो विधिमा आँखाबाट आँशु नबगुनजेल केहीबेर स्थिर भएर बसिन्छ । जब आँखाबाट आँशु वग्छ वा आँखामा केही पोलेजस्तो हुन्छ, त्यसपछि यो क्रिया वन्द गर्नु पर्दछ । त्राटकले आँखाको ज्योति बढाउँछ । मनको चञ्चलता हटाउँछ । निद्रा बढाउँछ । एकाग्रता ल्याउन यो अभ्यास महत्वपूर्ण छ । कडा खाले शिरोरोग र टाउकोको अप्रेसन गरेकाले यो विधि गर्नु हुँदैन् ।

नौली विधिमा दुवै खुट्टाबीच झण्डै एक फुटको फरक बनाएर हातलाई घुडामाथि हल्का दबाब साथ राखिन्छ । आँखाले भुँइमा हेर्दै पूरै श्वासलाई बाहिर छोडी, पेटलाई भित्र खिच्दै दायाँ वायाँ घुमाइन्छ । केही क्षणको अभ्यासपछि केही आराम गर्दै फेरी गरिन्छ । दुई तीन पटक गरिसकेपछि विश्राम गरिन्छ । यो अभ्यासले अरुचि, अपच, कब्जियत मोटोपन, पाठेघरका समस्या र सम्पूर्ण पेटभित्रका अंगहरुमा सक्रियता प्रदान गर्दछ । ढाडको समस्या, स्लीप डिक्स, हृदय रोग तथा अल्सरजस्ता समस्या भएकाले यो अभ्यास गर्नु हुँदैन् ।

सुखासन अथवा सहज आसनमा बसेर पेटलाई खुम्चाउँदै, दुवै नाकको प्वालबाट श्वासलाई बाहिर फालिने विधी कपालभाती हो । यो पछिल्लो समय निकै प्रयोगमा आएको विधि पनि हो । यो क्रिया ६० देखि १२० पटकसम्म गरेपछि केही क्षण विश्राम गरिन्छ र पूर्ण गरिन्छ । नियमित अभ्यासले मोटोपन, तनाव, मधुमेह, अरुची , रुघाखोकीजस्ता रोगहरु न्यूनीकरणमा महत्वपूर्ण मानिन्छ । तर, छारे रोग, दम, उच्च रक्तचाप, मुटुरोगी , ढाडका समस्या, पेटको शल्यक्रिया आदि गरेकाले यो अभ्यास गर्नु हुँदैन् ।

षटकर्म विधिका फाइदाहरु के हुन् ?
षटकर्म विधि धेरै रोगहरुलाई न्यूनीकरण गर्दै मनका अनावश्यक भावहरु हटाएर चेतना विस्तारमा महत्वपूर्ण भूमिका खेल्दछ । विशेषतः षटकर्म शरीरमा कफ बढेको बेला मोटोपन, तथा त्रिदोषजन्य रोगहरुमा प्रभावकारी मानिन्छ । वदलिदो जीवनशैली, सहरिया बसाइँ र शारीरिक निष्क्रियताका कारण मानव शरीर मेसिनजस्तै भएको छ । जसले गर्दा नसर्ने रोगहरु उच्च रक्तचाप, मधुमेह, मोटोपन, श्वासप्रश्वासजन्य समस्या र क्यान्सर दिन प्रतिदिन बढ्दैछन् । षटकर्मजन्य विधिहरुको क्रियात्मक अभ्यासलाई नागरिक स्वस्थ्यसँग जोडेर लैजान सकेमा नसर्ने रोग न्यूनीकरणमा ठूलो टेवा मिल्दछ ।

यी विधीहरु कसको निगरानीमा गर्न सकिन्छ ?
षटकर्म चिकित्सा सुविधासम्पन्न आयुर्वेद तथा प्राकृतिक चिकित्सालय र योगशालाहरुमा सम्बन्धित विशेषज्ञहरुको निगरानीमा गर्नुपर्दछ । क्रियात्मक अभ्यास भएकाले धेरै रोगको न्यूनीकरणमा षटकर्म चिकित्साको भूमिका महत्वपूर्ण मानिन्छ । विधिपूर्वक गर्न सकेका यसबाट धेरै फाइदा हुन्छ । यी विधिहरुको लाभ लिनका लागि अनुरोध गर्दछु ।


क्याटेगोरी : योग, वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)