२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यसाइकलमा सरर, मनै हरर

साइकलमा सरर, मनै हरर


काठमाडाैं वनस्थलीका किरण आचार्य साइक्लिङका सौखिन हुन् । साइकलप्रतिको उनको मोह सानैदेखिको हो । त्यतिबेला साइकल चलाउँदा शरीरलाई के फाइदा पुग्छ भन्ने थाहा थिएन । साइकल गुडाउने रहर मात्र ।

तर, अहिले भने उनले साइक्लिङ महत्व बुझेका छन् । शारीरिक तथा मानसिक रुपमा फिट रहनका लागि यतिबेला उनका लागि साइक्लिङ एउटा व्यायामशाला जत्तिकै भएको छ । विगत १ वर्षयता साइक्लिङलाई निरन्तरता दिन थालेका उनी दैनिक २५ देखि ३० किलोमिटर यात्रा गर्छन् । अझै लकडाउनमा त साइकल उनको प्रिय साथी नै बन्यो ।

लकडाउनको बेला उनी नियमित जाने जीम सेन्टर पनि बन्द भयो । शरीर त मेन्टेन गर्नैपर्यो । उनले बिहान, बेलुका नै साइकल चलाउने निधो गरे । अहिले साइकलले उनको जीम जाने लत हटाएको छ । साइक्लिङमा उनीसँगै ५ जना साथीहरु निस्कन्छन् । अरु बेला भन्दा साइक्लिङका बेलामा साथीहरुसँग कुराकानी गर्दा छुट्टै सकारात्मक उर्जा प्राप्त हुने उनी बताउँछन् । ‘साइक्लिङ गर्नु स्वास्थ्यका लागि निकै राम्रो कुरा हो,’ भुलक्ष्मी ग्रुपको प्रमुख कार्यकारी निर्देशकसमेत रहेका उनी भन्छन्, ‘साइक्लिङ गर्दा शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन र सकारात्मक उर्जा प्राप्त गर्न ठूलो मद्धत पु¥याउँछ ।’

चितवनका सहन प्रधान साइकलमा दौडिन थालेको १० वर्ष बित्यो । उनको दिनको सुरुवात नै साइकलबाट हुन्छ । हरेक दिन बिहान २० देखि २५ किलोमिटर साइकलमा यात्रा गरेपछि उनी अरु काम थाल्छन् । यसरी साइकलमा यात्रा गर्दा शारीरिक तथा मानसिक रुपमा फिट रहन मद्धत पुगेको उनी बताउँछन् । उनलाई १० वर्ष पहिला ब्याक पेनको समस्या थियो । त्यो दुखाइ कम गर्न साइक्लिङले ठूलो भूमिका खेल्यो । साथै, अहिले उनलाई उच्च रक्तचापको पनि समस्या छ । त्यसलाई पनि कन्ट्रोल गर्न साइक्लिङले ठूलो भूमिका खेलेको उनी बताउँछन् । त्यसो त साइक्लिङ उनको नित्य कर्मजस्तै भएको छ ।

कोरोना भाइरसका कारण विश्व ठप्प हुँदा पनि उनले सम्भव भएसम्म साइकल चलाए । नियमित साइक्लिङले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्नेमा उनी ढुक्क छन् । ‘अहिलेको अवस्थामा साइक्लिङप्रतिको क्रेज बढिरहेको छ । तर, साइक्लिङका लागि सुरक्षित सडकको अभाव छ,’ उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष समेत रहेका प्रधान भन्छन्, ‘यतातर्फ सरकार र सम्बन्धित निकायको ध्यान गयो भने साइक्लिङ गर्नेहरुको संख्या बढाउन सहयोग गर्छ ।’

चितवनकै राजेन्द्र ओलीले पनि साइक्लिङ गर्न थालेको तीन वर्ष नाघ्यो । मौसमले साथ दिएसम्म उनी हरेक दिन बिहान ५ः३० देखि ६ बजेभित्र साइकल लिएर घरबाट निस्किन्छन् । दैनिक १५ देखि २५ किलोमिटरसम्म साइकलमा कुद्छन् । नियमित साइक्लिङले आफ्नो शरीरमा कायाकल्प गराएको उनी बताउँछन् । ‘हरेक दिन साइकल चलाउँदा मेरो शरीरमा बेग्लै उर्जा पैदा भएको छ,’ उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति सदस्यसमेत रहेका उनी भन्छन्, ‘१२ वर्षयता मधुमेहको बिरामी छु । साइकल चलाउन थालेयता मधुमेह कन्ट्रोलमा छ ।’ त्यसो त साइक्लिङ उनको जीवनको अभिन्न पाटो भैसकेको छ । कुनैदिन साइकल चलाएनन् भने शरीरमा स्फूर्ती नआएको अनुभव गर्छन् । त्यसैले शारीरिक, मानसिक रुपमा फिट रहनका लागि उनी नियमित साइकल चलाउँछन् ।

फूर्सद भएको बेलामा उनी साइकलमै लामो यात्रा पनि गरिदिन्छन् । उनले साइकलमा अहिलेसम्म ४५ किलोमिटरसम्म यात्रा गरेका छन् । साइकलमा निरन्तर ४५ किलोमिटर यात्रा गर्नु चानचुने कुरा होइन । तर, उनी साइक्लिङ गर्दा उनले थकानलाई प्राकृतिक सुन्दरताले छोपिदिन्छन् । त्यसो त उनी भन्छन्, फिट रहनका लागि साइक्लिङ गर्नु एकदमै राम्रो हो । उनी उमेरले ४४ वर्ष भए । तर, उनलाई कसैले पनि यत्तिको उमेर हो भनेर पत्याउँदैनन् । यो त्यही साइक्लिङकै कमाल हो । साइक्लिङमा पछिल्लो समय युवादेखि वृद्धासम्म आकर्षित छन् । तर, साइक्लिङ सम्बन्धि कुनै जनचेतना छैन । राज्यले यसमा नीति बनाएर हरेक ठाउँलाई साइकलमैत्री बनाउन पहल गर्नुपर्ने उनी बताउँछन् ।

माथिका तीनजनाको साइक्लिङ अनुभवले नियमित साइक्लिङ गर्नाले शारीरिक तथा मानसिक रुपमा फिट राख्न ठूलो भूमिका खेल्दो रहेछ भन्ने बुझ्न सकिन्छ । विश्व साइकल यात्री पुष्कर शाह पनि नियमित साइक्लिङले मानिसमा बेग्लै खालको उर्जा मिल्ने उनी बताउँछन् । ‘खेलमा पौडी पछि सबैभन्दा बढी कसरत हुने खेल साइक्लिङ हो,’ साइकलमै १ सय ५५ देशको यात्रा गरेका शाह भन्छन्, ‘नियमित साइक्लिङ गर्दा पैतला देखि पेटसम्मका नसाहरु सञ्चालित हुन्छन् । अन्य यातायातका साधनमा भन्दा साइकलमा हिड्दा प्रकृति प्रत्यक्ष नजिक हुन पुगिन्छ । जसले यात्रा पनि रोमाञ्चक हुन्छ ।’ साइक्लिङका पारखीहरु भन्छन्, ‘साइकलमा सरर, मनै हरर ।’ यसको अर्थ हो, साइक्लिङले शारिरीक र मानसिक दुवै स्वास्थ्य फिट राख्छ ।

नियमित साइक्लिङ गर्नुका फाइदा

१. खर्चको बचत ।
२. वातावरण स्वस्थ राख्न ।
३. नियमित साइक्लिङ गर्दा जीम क्लबको आवश्यकता पर्दैन ।
४. शरीर÷मानसिक रुपमा तन्दुरुस्त रहन्छ ।
५. ढाड तथा नसा सम्बन्धि समस्याबाट मुक्त भइन्छ ।
६. मानसिक तनाव कम हुन्छ ।
७. दीर्घकालीन रोगबाट बचिन्छ ।
८. नियमित साइक्लिङ गर्नेलाई उच्च रक्तचाप तथा मधुमेह नियन्त्रणमा रहन्छ ।
९. शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।
१०. मुटु स्वस्थ हुन्छ ।
११. दैनिक काम गर्न स्फूर्ती आउँछ ।
१२. मांसापेशी बलियो हुन्छ ।
१३. मोटोपना घटाउन सहयोगी हुन्छ ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ