२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षासवा ३ अर्बमा बतास र पौडेलले लिए मणिपाल मेडिकल कलेज, सेवा विस्तारमा डेढ अर्ब लगानी थप्ने

सवा ३ अर्बमा बतास र पौडेलले लिए मणिपाल मेडिकल कलेज, सेवा विस्तारमा डेढ अर्ब लगानी थप्ने

मणिपाल खरिद बिक्रीमा प्रश्न उठ्यो


पोखरा—भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपले पोखरामा सञ्चालन गरिरहेको मणिपाल मेडिकल कलेज नेपाली लगानीकर्ताबाट सञ्चालनमा आउने भएको छ । बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेज ग्रुपका नारायण पौडेलले मणिपाल किनेका हुन् । मणिपाल खरिदका लागि बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानी गरेको बताइएको छ ।

सन् १९९४ देखि काठमाडौं विश्वविद्यालयको सम्बन्धमा मणिपाल सञ्चालनमा आएको हो । पछिल्ला समय विभिन्न राजनीतिक दलका भातृसंगठन विस्तार भएपछि मणिपाल विवाद बढिरहेको थियो । नगरपालिकालाई तिर्नुपर्ने कर नतिरेका कारण नैतिक र कानुनी आधारमा समेत मेडिकल कलेज चुकेको थियो ।

यिनै तनाबबाट मुक्त हुने योजनास्वरुप मणिपाल बिक्री गरेको हुनसक्ने विश्लेषण गरिएको छ । तर, स्थापनाकालमा नेपाल सरकारसँग भएको सम्झौतामा ५० वर्षपछि सरकारलाई हस्तान्तरण गर्ने उल्लेख भएको बताइएको छ । नेपाली लगानीकर्ताले असोजबाट सञ्चालन गर्ने तयारी छ ।

कतिमा किनियो मणिपाल ?

पोखराका व्यवसायी बतास र पौडेलले संयुक्त रुपमा करिब सवा ३ अर्ब रुपैयाँमा मणिपाल खरिद गर्ने सम्झौता भएको छ । अस्पताललाई ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा किनिएको हो ।

कलेज र अस्पताल दुवैको मूल्य २ अर्ब २५ करोड छ । यसका साथै अस्पतालको ४० रोपनी जग्गा र ९७ करोड दायित्व गरेर सवा ३ अर्बमा अस्पताल बिक्री भएको हो । मेडिकल कलेजको कुनै पनि ऋण नभएपनि करलगायत अन्य विभिन्न दायित्व गरी ९७ करोड ६० लाख रुपैयाँ तिर्न बाँकी रहेको पाइन्छ ।

मणिपाल मेडिकल कलेज तथा अस्पतालको आफ्नै ३० रोपनी जग्गासहित १० लाख वर्गफिटमा रहेको भवन तथा पूर्वाधार रहेको छ ।

डेढ अर्ब लगानी थप्ने

७५० शैय्याको अस्पतालमा ११ सय कर्मचारी छन् । कलेजबाट बर्षेनी १ सयजना विद्यार्थीलाई एमबीबीएस पढ्ने अनुमति छ । मेडिकल कलेजलाई किनिसकेपछि प्यारामेडिकल कोर्स, बीडीएस अध्यापन सञ्चालन गरिने बताइएको छ ।

थप सेवाका लागि एक वर्षभित्र मुटु र न्यूरोको सेवा विस्तार गरिने एक लगानीकर्ता पौडेलले बताएका छन् । आफूहरुले सञ्चालन गरिसकेपछि थप डेढ अर्ब लागनी गरेर पूर्वाधार विकास गर्दै पोखरामा डाक्टर पाउन नसेकेको अवस्थामा विदेशी कम्पनीसँगको सहकार्यमा रोबोटिक शल्यक्रियामा पनि जाने उनले बताए ।

‘हामीले पोखराको मान्छेहरु हार्टअट्याक, ब्रेन ह्यामरेज भएर काठमाडौं लैजान नपर्ने गरी इन्भेस्टमेन्ट गर्दैछौं,’ उनले भने, ‘त्यसका लागि हाइटेक मेसिनहरु किन्नुपर्ने भएकाले अझै डेढ अर्ब लगानी गर्छौं ।’

नयाँ लगानीकर्ताबाटै कर

भवनको नक्सा पास नै नगरी वि.सं. २०५९ सालमा निर्माण सम्पन्न भएको भवनको हालसम्म नक्सापास भएको छैन । घर नक्साको मात्रै पोखरा महानगरलाई २१ करोड ५७ लाख र वातावरण शुल्कबापत् १३ लाख ८ हजार बुझाउनुपर्नेछ ।

पटक–पटक ताकेता गर्दा पनि राजस्व उठ्न नसकेको महानगरका राजस्व प्रमुख गणेश पाण्डेले बताए । करिब ८ करोड रुपैयाँ सम्पत्ति कर तिर्न बाँकी रहेको बताइएको छ । नयाँ खरिदकर्ता नारायण पौडेलले मणिपालको सबै दायित्व आफूहरुले लिने बताए । स्रोतका अनुसार ९७ करोडभन्दा बढी ऋण देखिएको छ ।

मणिपाल खरिद बिक्रीमा प्रश्न

मणिपाल खरिद बिक्रीपछि तत्कालीन समयमा सरकारसँग के सम्झौता भएका थिए भन्ने प्रश्न सरोकारवालाहरुले उठाउन थालेका छन् । सरकारलाई हस्तान्तरण गर्ने भनेको मणिपाल किन व्यक्तिलाई बिक्री गरियो भन्ने प्रश्न पेचिलो बनोको छ ।

यस्तै अब नेपाली लगानीकर्ताले पहिले मणिपालले दिइरहेको सेवा देलान् कि नदेलान् भन्ने प्रश्न पनि उठेका छन् । पूर्व स्वास्थ्यमन्त्री तथा कास्कीका संघीय सांसद खगराज अधिकारीले मणिपाल बिक्री सम्बन्धमा प्रश्न उठाएका छन् । उनले फेसबुकमार्फत भनेका छन्, ‘मणिपालले नेपाल सरकारसँग गरेको सम्झौता सार्वजनिक गरियोस् । जनताले पाउने सेवा सुविधा अहिलेको भन्दा सरल बनाइयोस् र पूर्ण प्रतिस्पर्धाको आधारमा सार्वजनिक गरियोस् । यसले मात्रै सर्वसाधारणमा रहेको अन्यौल हट्न सक्छ । त्यसमा समावेस भएको नेपाल सरकारको जग्गा जमिनको दायित्व पनि स्पष्ट हुनु आवश्यक छ ।’

मणिपाल हस्पिटल निर्माण गर्दा तत्कालीन सरकार र मणिपाल ग्रुपबीच के सम्झौता भएको थियो ? कोही विदेशी संस्थाले सिधै कसैसँग नसोधी मेडिकल कलेज बनाएको त होइन,सरकारको कुनै जिम्मेवारी रहँदैन ? मणिपाललाई सरकारी स्वामित्वमा ल्याएर गुणस्तरीय सेवा दिन सकिने थिएन ? भन्ने प्रश्न उठेका छन् ।

जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर क्षेत्रीले मणिपालमा सर्वसाधारणको उपचार पहुँच रहन्छ कि रहँदैन भन्ने सबाल उठाएका छन् । उनले भनेका छन्, ‘मणिपाल हस्पिटल सफल पोखरेली व्यापारीको स्वामित्वमा आएको सुन्दा खुसी नै लाग्यो तर सर्वसाधारणको उपचारमा पहुँचको ग्यारेन्टीका साथै सरकारसँग भएको सम्झौताबारे स्पष्ट हुन जरुरी छ ।’


क्याटेगोरी : स्वास्थ्य शिक्षा
ट्याग : #अटोवेज ग्रुप, #आनन्दराज बतास, #नारायण पौडेल, #बतास अर्गनाइजेसन, #मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप, #मणिपाल मेडिकल कलेज


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ