२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोरोना भाइरस (कोभिड—१९) को महामारीमा स्वास्थ्यकर्मी नै जोखिममा

कोरोना भाइरस (कोभिड—१९) को महामारीमा स्वास्थ्यकर्मी नै जोखिममा


अहिले विश्वभर कोरोना भाइरस (कोभिड—१९) को संक्रमण बढ्दो छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ । चीनबाट सुरु भएको कोरोना भाइरस हालसम्म विश्वका १ सय ७९ देशमा फैलिसकेको छ । दुई लाखभन्दा बढी नागरिकमा यसको संक्रमण फैलिएको छ । भाइरसका कारण करिब १० हजार जनाले अकालमा ज्यान गुमाइसकेका छन् । विश्वब्यापी रुपमा यो फैलिने क्रम बढ्दो छ । विकसित राष्ट्रले समेत नियन्त्रण गर्न नसकेको यो भाइरस अल्पविकसित तथा विकासशील राष्ट्रहरुमा महामारीको रुपमा फैलियो भने कसरी नियन्त्रण गर्ने यो निकै ठूलो चुनौतीको विषय हो ।

नेपाल सरकारले चैत्र ५ गते कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण गर्नका लागि १८ बुँदे घोषणा पत्र जारी गरेको छ । ढिला नै भएपनि सरकारले गरेको यो निर्णय प्रशंसनीय छ । यद्यपी, विश्व स्वास्थ्य संगठनले भाइरस एसियातर्फ फैलिदै गरेको सूचना जारी गर्दैगर्दा दुई ढुंगाबीचको तरुल नेपालका विशाल छिमेकी देश चीन र भारतमा यति धेरै संक्रमण फैलिदासम्म पनि दुवै देशको सीमाना बन्द नगर्नु आफैमा जोखिमको विषय होइन र ?

उपत्यका बाहिरका नाम कमाएका अस्पतालमा समेत संक्रमितलाई राख्ने आइसुलेसन आईसीयु र इमर्जेन्सीमा अत्यावश्यक उपकरणको व्यवस्था छैन । यसैले गर्दा शंकास्पद बिरामी जसलाई सुरुदेखि नै आइसुलेसनमा राख्नुपर्ने हुन्छ । त्यस्ता बिरामीलाई पनि काठमाडौं टेकुमै रिफर गर्नुपर्ने अवस्था छ । हामी खाली काठमाडौंको टेकुमा आइसुलेसनमा रहेका बिरामीमा केस पोजेटिभ देखिएन भनेर मख्ख छौं । तर, सबै संक्रमित लक्षण लिएर आउँदैनन् । सुरुवाती लक्षणरहित संक्रमितले पनि रोग सार्न सक्छन् ।

नेपाल भारतको खुल्ला सीमानाका कारण भारतबाट नेपाल आएर गाउँ जाने नेपाली दाजुभाइको चेकजाँच कसले गर्ने ? यदि उनीहरुमा भाइरसको संक्रमण रहेछ भने काठमाडौंमा होइन्, दुरदराज गाउँबाट महामारी फैलिन सक्छ । त्यसैले काठमाडौं केन्द्रित जनस्वास्थ्य प्रयोगशालालाई कम्तिमा ७ वटै प्रदेशसम्म तुरुन्तै पु¥याउन पहल गर्नुपर्दछ । संक्रमण फैलिएर रोकथाम र नियन्त्रण गर्नुभन्दा पहिले संक्रमण फैलिन नदिन उच्च सावधानी अपनाउनु बेस हुन्छ ।

अर्को महत्वपूर्ण कुरा चिकित्सक र स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाको सवाल पनि हो । सरकार पनि खासै ध्यान नदिएको विषय चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति हो । नेपाल सरकारले सबै स्वास्थ्यकर्मीलाई उच्च सर्तक अवस्थामा रहन र सेवा प्रवाह गर्न परिपत्र त जारी ग¥यो । तर, चिकित्सक र स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराएको छैन । सामान्य माक्सका भरमा उपचार गर्नुपर्ने बाध्यता छ ।

यस्तै, आवश्यक पर्शनल प्रोक्टेसन किट बिना बिरामीको चेकजाँच गर्दा स्वंय चिकित्सकका साथै अन्य अस्पतालमा आउने बिरामीलाई समेत संक्रमण फैलिन सक्छ । प्रोक्टेसन किटको अभावमा हामी चिकित्सक रोगको जोखिममा काम गरिरहेका छौं । इटलीमा झण्डै २६ सय स्वास्थ्यकर्मीहरु संक्रमित भइसकेका छन् । बुल्गेरियामा स्वास्थ्यकर्मीको सुरक्षाको माग राखेर दर्जनौं चिकित्सकहरुले राजीनामा दिएका छन् । यस्तो अवस्थामा स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा सरकार संवेदनशील कहिले बन्ने ? तर, हाम्रोमा भने चिकित्सकहरुलाई विना हतियार रणभूमीमा पठाएको जस्तै गरी राज्यले परिचालन मात्र गर्न खोजेको छ । सुरक्षाको पूर्ण प्रत्याभूति बिना कसरी तिनले उच्च मनोबलका साथ सेवा प्रवाह गर्लान ? सरकारले सरकारी अस्पतालमै कोरोना प्रभावितको उपचार गर्छौ भनिरहेको छ । अहिलेको अवस्थामा सरकारी अस्पतालमा बिरामीको चाप हेर्दा के यो सम्भव छ ? यसले त झन जोखिम बढाउँछ । भरतपुरमा सुरु गरिएजस्तै हरेक प्रदेशमा छुट्टै कोरोना विशेष अस्पताल तोकिनु पर्दछ । एउटै अस्पतालमा सबै किसिमका बिरामीको चेकजाँचले कोरोनाको जोखिम झन बढी हुन्छ । त्यसैले जतिसक्दो चाँडो स्वास्थ्यकर्मीलाई पीपीई किट प्रदान गर्ने र हाललाई प्रादेशिक अस्पतालहरुमा पूर्ण उपकरणसहितको आइसुलेसन वार्डको ब्यवस्था गर्नु पर्दछ ।

विश्वबाट हामीले पाठ सिक्न ढिला गर्नु हुँदैन । चीनमा एकजना डाक्टरले सरकारलाई सजग गराउँदा सरकारले समयमै ध्यान नदिंदा आज विश्वभर महामारी फैलियो । इरान र इटालीमा एकै पटक ठूलो मात्रमा संक्रमण देखिंदा रोक्न सम्भव भएन । स्वास्थ्यकर्मीहरुको सुरक्षामा ध्यान नदिंदा सयौं स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण फैलिएको छ । नागरिकको जीवन रक्षामा दिन रात खटिने स्वास्थ्यकर्मी आफै सुरक्षित भएन भने बिरामीको उपचार कसरी सम्भव होला ? अहिले सरकारको तयारी हेर्दा त्यतातिर खासै ध्यान दिएको देखिएन । आवश्यक उपकरण तथा पूर्ण सुरक्षा सामाग्री बिना डाक्टर एवं स्वास्थ्यकर्मीलाई परिचालन गर्नु भनेको स्वास्थ्यकर्मीको ज्यान जोखिममा पार्नु हो । त्यसैले बैठक र भाषणमा मात्र सिमित हुनुभन्दा ग्राउण्ड लेभलका चिकित्सकहरुको मनोबल बढाए मात्र प्रकोप नियन्त्रण प्रभावकारी हुन्छ । त्यसैले महामारी फैलिन नदिन सबै किसिमको उच्च सजगता अपनाउन ढिला गर्नु हुँदैन । सबैले सामूहिक प्रयास र उच्च सतर्कता अपनाएमा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण सम्भव छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ