२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारमहामारीको मौका छोपी व्यापारीले चौका हान्यो

महामारीको मौका छोपी व्यापारीले चौका हान्यो


हामी सबैलाई थाहा छ कि सरकारले सामान किन्न टेन्डर आव्हान गर्‍यो । लामो समयसम्म सामान ल्याउन सक्ने हिम्मत कुनै व्यापारीमा आउँदैन, अचानक सामान किन्ने योजनाको कार्यान्वयन हुन्छ त्यो पनि रातारात ।

सामानको अहिले विश्व बजारमा अभाव नै अभाव छ । केही आर्थिक स्वार्थ राख्नेहरुको समूहले सरकारी संयन्त्रको प्रयोग गरेर सामान किन्ने निधो पुग्छन् र जहाज च्याटर गर्छन् । जहाजको सामान ल्याउन सक्ने क्षमता धेरै हुन्छ । तर, सामान क्षमताभन्दा एक चौथाइ कम ल्याउँछन् । कसलाई के थाहा छ र यहाँ नेपाली जनता अधिक सोझा छन्, नेताहरु पनि जनताभन्दा माथिल्लो मगजका कहाँ पो छन् र ? के त्यो ब्यापारीले सरकारको सामान कम ल्याएर ढुवानीको फाइदा उठाउँदै आफ्नो अन्य महंगो सामान भित्र्याएको हुन सक्दैन ? नत्र एक चौथाइ सरकारको सामान बोकेर किन फर्कियो जहाज ?

अब यता व्यापारीले आफ्नो सामान ल्यायो, बजारमा महंगोमा बेच्यो नाफा कमायो होला, शंका गर्ने ठाउँ रह्यो कि नाई ?हिजो सरकारले हामी जनतालाई बतायो, ५ करोड धरौटी जफत गराएँ, ठेक्का रद्द गराएँ, कम्पनी कालो सूचीमा राख्ने प्रक्रिया अघि बढेको छ । आदि इत्यादी भनेर जनता ढाँटेर हुन्छ ?  के थाहा उक्त व्यापारीको यस्ता कम्पनी १०-१२ वटा हुन सक्दैन् ?

व्यापारीले नेकपाको सरकारलाई बदनाम गराउने काम गर्‍यो । महंगो नै भएपनि सरकारले सामान किन्ने निर्णय गरेको सरकारलाई धोका दियो । धेरै जनताको मन रुवायो। सामान पनि कम गुणस्तरको दिएर जनता झुक्काउने काम गर्‍यो। अझ भनौं जनताको स्वास्थ्यमा खेलवाड गर्‍यो।

अब यो परिस्थितिको फाइदा लिएर अर्बौ कमाएपछि ५ करोडको कुराले जनता अलमलाउने हो भने त ठिकै छ, हल्लै हल्ला त हो रहेछ आखिर हाम्रो देशमा !

ब्यापारीले सरकारलाई घाममा सुताई दियो, मन्त्रीलाई पंगु बनाइदियो । हाम्रो समाज र दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । आफूलाई सबै विषयबस्तुहरुको विज्ञ ठान्ने, मन्त्रालयमा बसेर खरिद प्रक्रियालाई प्रभावमा पार्ने, अप्ठ्यारो परिस्थितिमा पनि पैसाको पछि दगुरेर करोडौं कुम्लाउने झुण्डहरुको सम्पत्ति छानविन गर्नुपर्छ । यो कू-कार्यको सत्य कुरा त्यहीँबाट थाहा हुन्छ भन्ने पंक्तिकारलाई लाग्दछ ।

सरकार र मन्त्रीको दोष नै छ जस्तो त मलाई लाग्दैन । मन्त्रीज्युले जे जसरी भएपनि यो महामारीसँग लड्ने मिसनमा दगुरेकै देखिन्छ । मास्क नलगाई-नलगाई बोलेको कुरा पनि देखिन्छ । मन्त्री विज्ञ भएनन् भन्न पनि मिल्दैन हाम्रो राजनीतिक समाजमा । महामारीको समयमा सरकारले गरेका कैयौं निर्णयहरु अति बुद्धिमत्तापूर्ण तरिकाले लिएको भान हामी स्वास्थ्यकर्मीको पनि छ । तर, लुटको धन्दा मच्चाउने मन्त्रीको वरीपरि र दायाँ-वायाँ नाच्ने मन्त्रालयका चम्चाहरुले हो, यिनीहरुलाई जति नै ठूलो सजाय दिए पनि कम नै हुन्छ जस्तो मलाई लाग्छ ।

नेपाली बजारमा रहेको सर्जिकल मास्क ३८ रुपैयाँसम्ममा किनेर लगेको चीनले हामीलाई २ रुपैयाँमा मास्क दिन्छ र लगाउँला भनेर आशा गर्नु भनेको ‘आकाशको फल आँखा तरि मर’ हुनु हो । चीनमा पनि सामान अभाव नै छ, यस्तो बेलामा स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गरेर नै महामारीसँग भिड्ने हो र सहयोगको लागि अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुसँग समन्वय गर्ने हो ।

कोभिड-१९ रोग नेपालको मात्र समस्या होइन, यो विश्व मानव जगतकै समस्या हो र विश्वस्तरीय तहबाटै यो समस्याको समाधान खोजिनु पर्छ न कि क्षेत्रीय र स्थानीय । यो विषम परिस्थितिमा हामी सबै मिलेर सरकारलाई सकेको सहयोग गरौं । विवादहरुबाट माथि उठौं, मानवीय संवेदनामा खेलवाड नगरौं । समस्या समधानको लागि हामीहरुले आशा गर्ने ठाउँ छ, त्यो हो विश्व स्वास्थ्य संगठन । धन्यवाद ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ