२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारमहामारीमा सिमित स्रोतको व्यवस्थापन

महामारीमा सिमित स्रोतको व्यवस्थापन


२०१९ को डिसेम्बर महिनाको अन्त्यमा चीनको वुहान प्रान्तमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी रुपमा फैलिएर महामारीको रुपमा लगभग सबै देशमा असर पारेर, ठूलो जनधनको क्षति साथै चलायमान विश्वको अर्थतन्त्रमा ह्रास आएको तथ्य सर्वविदित नै छ ।

विश्वका शक्तिशाली भनिएका र स्वास्थ क्षेत्रमा अब्बल मानिएका राष्ट्रहरु पनि यो महामारी विरुद्धको लडाइँमा प्रभावशाली कदम चाल्न सकेका छैनन् । यसबाट नेपालमा पनि आउन सक्ने विकराल परिस्थितिको सजिलै अनुमान लगाउन सकिन्छ ।

महामारीको संकेत सुरुदेखि नै पाउँदा पाउँदै पनि त्यसलाई गम्भीरतापूर्वक लिन नसक्दा, नेपाल सरकार अहिले पूर्व तयारीदेखि लिएर महामारी सामना गर्ने योजनामा नराम्ररी चुकेको छ । अहिलेको अवस्थामा ‘जब भयो राती, तब बुढी ताती’ भनेझैं अन्तिम क्षणमा आएर अत्तालिदै तयारी गरेको जस्तो देखिए पनि त्यसबाट न जनता आश्वस्त हुन सकेका छन् न त्यसको सामना गर्न अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीले हौसला पाउन सकेका छन् । उल्टो यस्तो विषम परिस्थितिमा सरकारमा रहेका जिम्मेवार ब्यक्तिहरुबाट गैरजिम्मेवार अभिव्यक्ति आउँदा, जनता निराश भएका छन् अनि स्वास्थ्यकर्मी झन् निरुत्साहित भएका छन् ।

आफ्नो र आफ्नो परिवारको ज्यानलाई नै धारमा राखेर चिकित्सकीय धर्मको पालना गर्दै बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई हौसला दिनुको साटो उल्टो धम्काएरै कजाउन सकिन्छ भन्ने दुई तिहाइको दम्भ भएको सरकारले कसैका कुरा सुन्छजस्तो त लाग्दैन । त्यहीँ पनि नेपालमा आउन सक्ने महामारीको विकराल परिस्थिति सामना गर्न सिमित स्रोतसाधनमा कसरी पूर्वतयारी गर्न सकिन्छ भन्ने सुझाव एक सचेत नागरिकको हैसियतले प्रस्तुत गरेको छु ।

वर्तमान परिप्रेक्ष्यमा पूर्व तयारी न्यून हुँदा पनि यही तयारीमा आउन लागेको परिस्थितिको सामना गर्नुपर्छ । सुरक्षा उपकरणको अभाव, रोगको विश्वस्तरमा रहेको आँकडा हेर्दा यसले ल्याएको डर आफ्नो ठाउँमा छ, यससँगै अन्य रोगका मानिसहरुलाई पनि उचित देखभालको व्यवस्थापन गर्नु उत्तिकै महत्वपूर्ण हुन्छ । सम्पूर्ण विरामीको व्यवस्थापन गर्न यो महामारीको अवधिमा स्वास्थ व्यवस्थापनबारे उचित दिशानिर्देश हुनुपर्दछ । जस्तो कि, प्रत्येक केन्द्रमा ए, बी, सी लेबल लगाएर काम बाँडफाँड गर्नुपर्दछ ।

केन्द्र ए :

त्यहाँ कोभिड–१९ संक्रमित बिरामीका मात्र स्याहार गर्ने निश्चित केन्द्रहरू हुनुपर्दछ । प्रत्येक जिल्लामा करिव १ केन्द्र हुनुपर्दछ र उही जिल्लाका अन्य केन्द्रहरूका लागि उक्त केन्द्र रेफरल केन्द्र हुनुपर्दछ । उक्त केन्द्रमा अन्य बिरामीहरूको हेरचाहको काम रोकेर कोभिड–१९को संक्रमित बिरामीहरूको मात्र उपचारको लागि तोकिनु पर्छ । त्यस केन्द्रमा सफाई गर्ने कर्मचारी र गार्डसहित सम्पूर्ण स्वास्थ्यकर्मीलाई सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरिनु पर्छ । जिल्लामा अन्य केन्द्रहरूले पनि काम गर्नुपर्ने हुन्छ । यसले पीपीई र अन्य आवश्यक आपूर्तिहरूको माग घटाउँदछ जुन पछि महामारी फैलिएमा आवश्यक पर्ने हुन सक्छ ।

केन्द्र बी :

यसमा कोभिड–१९ का बिरामीको लागि तोकिएको केन्द्रबाहेक अरू सबै केन्द्रहरू पर्दछन् । जसमा अन्य सरकारीका साथै प्राइभेट अस्पताल पनि समावेश हुन सक्छ । जिल्लाका कोरोना विशेष तोकिएको बाहेकका अन्य केन्द्रहरूले अन्य बिरामीहरू जस्तै इमर्जेन्सी, गर्भावस्था साथै अरु आवश्यक औषधि वितरण इत्यादि बिरामीहरूको हेरचाह गर्नुपर्दछ । यसले अन्य बिरामी, इमर्जेन्सी र गर्भावस्थाका बिरामीहरूको हेरचाह गर्न मद्धत गर्दछ । यी केन्द्रहरूबाट कोभिड–१९का शंकास्पद बिरामीहरूलाई रेफरलको व्यवस्था मिलाएर उचित तरिकाले कोरोना विशेष अस्पतालमा रिफरल गर्नुपर्छ । यी केन्द्रहरू सिमित सुरक्षात्मक उपकरणहरू जस्तै एन९५ मास्क र सरल गाउन प्रदान गरिनु पर्दछ ।

केन्द्र सीः

माथिका समावेश नभएका अन्य केन्द्रहरू जस्तै पीएचसी, स्वास्थ्य चौकी र स्वयंसेविका लगायत स्थानीय स्वास्थ्यकर्मीहरूलाई कोभिड–१९ का शंकास्पद केसहरू र त्यसका सक्रिय केसका बारे जानकारी सम्बन्धित निकायमा गराउनुपर्ने छ । र, आवश्यक परेमा कोभिड–१९ विशेष अस्पतालको सम्पर्क खोज्नुपर्दछ । तिनीहरू स्थानीय तहसँग समन्वय गरी सामान्य बिरामीको उपचारमा सामेल हुनुका साथै शंकास्पद बिरामीको अवलोकन गर्नुपर्छ । यसले शंकास्पद केस निगरानी गरेर सक्रिय केस पत्ता लगाउन मद्धत गर्दछ ।

-कोभिड–१९ का शंकास्पद बिरामी ओसारपसार गर्न निश्चित एम्बुलेन्सहरू तथा सवारीहरू तोकिनु पर्छ । कोभिड–१९ बोक्ने गाडीको रूपमा चिन्ह लगाउनु पर्छ । त्यसका लागि प्रत्येक जिल्लामा २/३ सवारी साधन पर्याप्त हुन्छ । तिनीहरू बिरामीहरुलाई केन्द्र बी र सी बाट सार्न र शंकास्पद स्थानबाट केन्द्र ए सम्म पु¥याउन संलग्न हुनुपर्दछ । यी एम्बुलेन्स ड्राइभर पूर्ण सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गर्नुपर्नेछ । हरेक केन्द्रहरूमा यी एम्बुलेन्सको सम्पर्क नम्बर प्रदान गरिनु पर्दछ । अनि जिल्लाका अन्य एम्बुलेन्सहरू अन्य बिरामीहरूको यातायातमा संलग्न हुनुपर्छ ।

–हेल्पलाइन नम्बर प्रत्येक प्रदेश, जिल्ला, तथा कोभिड–१९ विशेष केन्द्रले जारी गर्नुपर्दछ । ताकि कुनै पनि शंकास्पद घटनाहरू सूचित गर्न साथै केन्द्र ए मा सरुवा गर्न सकिन्छ । त्यस्तो सूचना प्राप्त गर्ने उक्त केन्द्रमा आबद्ध व्यक्तिले चिह्नित एम्बुलेन्सलाई कोभिड–१९को शंकास्पद बिरामीहरूलाई समुदाय, केन्द्र बी र सी बाट केन्द्र ए मा पु¥याउन सूचित गर्दछ ।

–प्रत्येक प्रदेशमा कम्तिमा एउटा ल्याब हुनु पर्छ, जसले कोभिड–१९ बिरामीको नमूना जाँच गर्दछ । त्यो ल्याबमा आवद्ध व्यक्तिलाई सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गर्नु पर्छ । केन्द्र ए बाट संकलन गरिएको नमूना प्रयोगशालामा हस्तान्तरण गर्नुपर्नेछ । जसले गर्दा यस प्रकारको योजनाले स्वास्थ्य केन्द्रहरु र स्वास्थ्यकर्मीहरुको तनाव कम गर्न मद्धत पु¥याउँछ र सबै बिरामीहरुलाई उचित हेरविचार हुन्छ । अझै पनि ढिला भएको छैन । त्यसैले कृपया उचित दिशानिर्देश लागु गर्नुहोस् र कार्य वितरण लगाउनुहोस् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ