२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारइम्मुनो डायगोनोष्टिक टेस्टः प्रयोग र उपयोगिता

इम्मुनो डायगोनोष्टिक टेस्टः प्रयोग र उपयोगिता


नेपाल सरकारले कोरोना संक्रमण भए—नभएको पहिचान गर्न ¥यापिड डायगोनोष्टिक टेस्ट र पोलिमरेज चेन रियाक्सन गरेर दुई विधिवाट परीक्षण गर्दै आएको छ । देशको सातै प्रदेशमा प्रयोगशालाहरु निर्माणका साथ उचित सेटअप गराएर कोरोना परीक्षणको कार्यलाई तीव्रता दिइएको छ । मोलेकुलर लेभलको प्रयोगशालाको कमी, पिसिआर विधिको जटिलता र अन्य प्राविधिक कारणहरुले विश्वासिलो पिसिआर विधिको प्रयोग गतिशील हुन पाएको छैन । लकडाउनको एक महिनापछि पनि पिसिआर विधिवाट परीक्षण मात्र १२ हजार ५ सय ७७ जनामा गर्न सकिएको छ । जुन तुलनात्मक रुपले नेपालको जनसंख्याको हिसाबले न्यून परीक्षण नै हो ।

तदनुरुप, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको ७७ वटै जिल्लामा ¥यापिड डायगोनोष्टिक टेस्टलाई कोरोना परीक्षणमा वृहत रुपमा प्रयोग गर्ने निर्णयलाई अघि सारे । विश्व स्वास्थ्य संगठनले ¥यापिड डायगोनोष्टिक टेस्टलाई मास स्क्रिनिंग, एपिडेमियोलोजिकल अनुसन्धान तथा सर्भिलेन्सका लागि मात्र प्रयोग गर्न स्पष्ट भनेपनि नेपालमा यसको प्रयोग व्यापक रुपमा डाइग्नोसिसका लागि गरिएको छ । हालसम्म ४७ हजार ७ सय ९७ जनामा एन्टीबडी आरडीटी विधिवाट परीक्षण गरिएको छ ।

¥यापिड डायगोनोष्टिक टेस्ट (आरडिटी)

¥यापिड डायगोनोष्टिक टेस्ट अर्थात आरडीटी भनेको ‘इम्मुनोक्रोमाटोग्राफी’ वा ‘ल्याट्रल स्लो इम्मुनोएसे’ को पोजिटिभ वा निगेटिभ गुणात्मकताका आधारमा प्रयोग गरिने विशेष प्रकारको इम्मुनोकेमिकल रियाक्सन नाप्ने विधि हो । यो इम्मुनो डायगोनोष्टिक टेस्टले टार्गेट एनालाइट छ वा छैन हेर्नलाई परीक्षण गरिन्छ । यसका टेस्ट किटका मुख्य अंगहरुमा स्याम्पल एपलिकेसन प्याड, कन्जुगेट प्याड, सब्सट्रेट नाइट्रोसेल्लुलोज मेमब्रेन र एडजोरबेट प्याड पर्दछ । यो सानो, सहज र सजिलै एक ठाउँबाट अर्को ठाउँमा बोक्न सक्ने टेस्टिंग किट हो ।

सन् १९८० मा यस विधिको व्यवसायिक विकास गर्भवती जाँच अर्थात प्रेगनेन्सी टेस्टको लागि गरिएको थियो । विस्तारै विज्ञान र प्रविधिको उन्नति सँगै यसको प्रयोग संक्रामक रोग, क्यान्सर वायोमार्कर, फुडबोर्न रोग, कार्डियोभास्कुलर रोग, एचआईभी, हेपाटाइटिस बी र सीजस्ता विभिन्न रोगहरुको परीक्षणमा व्यापक प्रयोग हुन थाल्यो । यो सेरोलोजिकल विधि एन्टीजेन एन्टीबडी रियाक्सनको सिद्धान्तमा आधारित हुन्छ । आरडीटी किटमा फिंगर प्रीक गरि रगत, नेजल फ्लुईड वा रियालको नमुना संकलन गरी जाँच गर्न सकिन्छ । मुख्यतः यसमा दुई प्रकारको एउटा एन्टीजेन किट र अर्को एन्टीबडी किट वाट स्क्रीनिङका लागि विशेषगरी पोइन्ट अफ केयरमा परीक्षण गरिन्छ ।
कुनै पनि बाह्य पदार्थ अर्थात एन्टीजेन, हानिकारक सुक्ष्म जीवहरु शरीरमा प्रवेश गरेर संक्रमण गरिसकेपछि शरीरको प्रतिरक्षा प्रणाली सक्रिय भई खास एन्टीजेनको विरुद्धमा खास प्रतिरोधात्मक एन्टीबडीहरु उत्पादित हुन्छन् । त्यस्ता एन्टीबडीहरु सिरममा पाइन्छन् । खासगरी सिरममा रहेका यस्ता एन्टीबडीका आधारमा रोग पत्ता लगाउन अर्थात कुन सुक्ष्मजीवले संक्रमण गरेको हो सजिलै बुझ्न सकिन्छ । मानिसको शरीरले कोरोना संक्रमणको निश्चित समयपछि आइजिएम र आइजिजीजस्ता एन्टीबडीहरु उत्पादन गर्ने गर्दछ ।

इम्मुनोग्लोबिन—एम (आइजिएम)

इम्मुनोग्लोबिन एक प्रकारको एन्टीबडी हो । आइजिएम एउटा ठुलो र पहिलो एन्टीबडी हो जुन एन्टीजेनको बिरुद्धमा शरीरमा उत्पादित हुन्छ । संक्रमण भएको ३ दिन पछि नै करिब १० देखि २१ दिनसम्म आइजिएमको उत्पादन हुनेगर्दछ । मुख्य रुपमा यसले प्राइमरी इम्मुन रेस्पोन्स देखाउँछन् । मानिसमा आइजिएमको उत्पादन स्प्लीनका प्लाज्माब्लास्टले गर्दछ जसको आणविक भार सेरममा ९,९०,००० डाल्टन हुन्छ । यसको मात्रा सेरममा य.५ देखि २ एमजीरएमएल हुने गर्दछ र विभिन्न संक्रामक रोगहरुलाई चिन्न सहयोग गर्दछ । बिरामीको सेरममा यसले तुरुन्तै भएको संक्रमणलाई दर्शाउँछ भने नवजात शिशुको सेरममा यसले इन्ट्रायुटेराइन अर्थात अन्तगर्भाशयी संक्रमणलाई जनाउँछ । कोरोना संक्रमणको वेलामा यसको मात्रा बढ्नुको अर्थ हो कि हालसालै संक्रमण भएको र सक्रिय संक्रमण भएकोले अरुलाई रोग सर्ने सम्भावना धेरै हुन्छ ।

इम्मुनोग्लोविन—जी (आइजिजी)

आइजिजी एउटा ठूलो ग्लोबुलर प्रोटिन हो । जुन ४ वटा पेपटाइड चेनले बनेको र यसको आणविक भार १५० किलोडाल्टन हुन्छ । मुख्य रुपमा यसले सेकेण्डरी इम्मुन रेस्पोन्स देखाउँछन् । मानिसको शरीरमा आइजिजी संक्रमण भएको १४ दिनमा निर्माण भई लामो समयसम्म शरीरमा रहने गर्दछ । यसको मात्रा सेरममा १० देखि १६ एमजीरएमएल हुनेगर्दछ ।

मानिसको रगतमा र एक्स्ट्रासेल्लुलर फ्लुइडमा भेटिने आइजिजी शरीरमा संक्रमणलाई रोक्न मद्धत गर्दछ । सँगसँगै रोगप्रतिको प्रतिरोधात्मक क्षमताको सूचकको रुपमा पनि कार्य गर्दछ । यसको मात्रा बढी देखिनुको अर्थ कोरोनाको संक्रमण विगतमा भएको तर संक्रमण घटेर निको हुने क्रममा रहेको वा पूर्णतया निको भएको बुझिन्छ ।

एन्टीजेन डीटेक्सन आरडिटी किट

कोभिड—१९ का बिरामीहरुमा श्वास—प्रश्वास प्रणालीबाट लिइएको नमुनामा भाइरल प्रोटिनहरु वा एन्टीजेन छ अथवा छैन पहिचान गर्नलाई एन्टीजेन डीटेक्सन आरडीटी किट विधि अपनाइन्छ । यदि नमुनामा टार्गेट एन्टीजेन धेरै मात्रामा छ भने प्लास्टिक केसिंगमा घेरिएका फिक्स पेपर स्ट्रिपमा भएका एन्टीजेनले खास एन्टीबडीहरु सित रिएक्सन गर्दछ । यसले भाइरसहरु सक्रियता साथ रेप्लीकेट गरेको अवस्थामा मात्र एन्टीजेनहरु स्पष्ट पहिचान हुन्छन् । त्यसैले यस टेस्टलाई प्रारम्भिक समयको संक्रमणलाई पहिचान गर्न सर्वोपरी हुन्छ ।

यस किटमा नाक वा मुख भित्रको स्वाब वा खकार वा ब्रोंकोस्कोपी गरेर निकालिएको नमुनालाई विशेष स्ट्रीपमा ३० देखि ६० मिनेट भित्रमा परिवर्तन आँखाले दृष्टिगत हुनेगरी चिन्ह देखाउँछ । विभिन्न शोधहरुका आधारमा आरडिटी एन्टीजेन किटको सेनसिटिभिटी ३४ प्रतिशत देखि ८० प्रतिशत हुने अनुमानित गरिएको छ । त्यसमाथि यदि टेस्ट स्ट्रिपमा एन्टीबडीहरुले कोभिड—१९ का अलावा मानिसमा सामान्य रुघाखोकी गराउने अरु कोरोना भाइरसका भाइरल एन्टीजेनहरुलाई पहिचान गर्दछ भने कोभिड—१९ को रिजल्ट फल्स पोजेटिभ आउन सक्ने सम्भावना धेरै हुन्छ । त्यसैले डब्लुएचओले एन्टीजेन पहिचान गर्ने आरडिटी किटलाई विरामीको जाँच र निगरानीमा हालसम्म अनुमोदन गरेको छैन ।

यस किटको प्रभावकारिता विषाणुको संक्रमणको समय, नमुनामा विषाणुको मात्रा, संकलन गरिएको नमुनाको उत्तमता, रिएजेन्टको गुण, सूत्र र वैधानिकता माथि निर्भर भएकोले निश्चित जनसंख्यामा टेस्ट भएर यसको विश्वसनीयता प्रमाणीकरण प्रक्रिया टुंगोमा नपुग्दासम्म विरामी जाँचमा विश्वास गर्न नसकिने समेत डब्लुएचओले उल्लेख गरेका छन् । तर, डब्लुएचओले ८ अप्रिल, २०२० मा इम्मुनोडाइगोनोस्टिक किटहरुलाई अनुसन्धानात्मक कार्यहरुमा यसको क्षमता र प्रयोगलाई प्रोत्साहन गरिएको आधिकारिक धारणालाई सार्वजनिक गरिसकेका छन् । नेपालले यस एन्टीजेन किटलाई प्रयोगमा ल्याएको छैन ।

एन्टीबडी डिटेक्सन आरडिटी किट

आरडिटीको अर्को सामान्य विधि कोभिड—१९ बाट संक्रमित व्यक्तिहरुको रगतमा एन्टीवडी छ अथवा छैन पहिचान गर्नलाई गरिन्छ । हाल नेपालमा यस विधिलाई प्रयोग गरिएको छ । विषाणुको संक्रमण भए पश्चात केहि दिनदेखि हप्तासम्ममा एन्टीबडी निर्माण हुन्छ । एन्टीबडीको शक्ति व्यक्तिको उमेर, पोषणको वस्तुस्थिति, रोगको जटिलता, औषधस्हरुको सेवन वा अन्य रोगले कमजोर गरेको प्रतिक्षा प्रणालीमाथि निर्भर हुन्छ ।

विभिन्न अध्ययनअनुसार धेरैजसो विरामीहरुमा संक्रमण भएको दोस्रो सातामा एन्टीबडीहरुको विकास हुन थाल्छ । अरु पैथोजेनहरु सित क्रोस रिएक्ट गरेर यसले फल्स पोजेटिभ रिजल्ट पनि दिनसक्छ । यस विधिमा संकलन गरिएको रगत, सेरम र प्लाज्मालाई स्याम्पल वेलमा राखेर त्यसमा २—३ ड्रोप बफ्फर त्यही स्याम्पल वेलमा राखिन्छ ।

नतिजा १० मिनेटपछि तर १५ मिनेट भित्रमा टेस्ट लाइनमा रंग हेरेर निश्चित गरिन्छ । डब्लुएचओले यो किटलाई बिरामीको जाँचमा आधिकारिक अनुमति नदिएपनि रोगको निगरानी र एपिडेमियोलोजिकल अनुसन्धानमा यसको महत्व स्थापित गर्न प्रोत्साहित गरेको छ । एन्टीबडी परीक्षण गर्ने अर्को विधि ‘एलाइजा’ पनि जसमा जुन ४ देखि ६ घण्टाको समय लाग्ने गरी प्रयोगशाला भित्रै गर्नुपर्छ । यसका लागि दक्ष जनशक्ति चाहिन्छ ।

फल्स नेगेटिभ र फल्स पोजेटिभ टेस्ट

फल्स नेगेटिभको नामले स्पष्ट हुन्छ कि झुठो नेगेटिभ टेस्ट हो । भन्नुको अर्थ कुनै व्यक्तिमा विषाणुको संक्रमण छ तर टेस्ट गर्दा परीक्षणको नतिजा नेगेटिभ आउँछ भने त्यसलाई फल्स नेगेटिभ टेस्ट भनिन्छ । यस्ता रिपोर्ट आएपछि अदृश्य रुपमा संक्रमित व्यक्तिले खुलेयाम कोरोनाको संक्रमण फैलाउन सक्छ ।

त्यस्तै अर्कोतिर फल्स पोजेटिभ भन्ने बितिकै झुठो पोजेटिभ भन्ने बुझिन्छ । अर्थात कुनै व्यक्तिमा विषाणुको संक्रमण छैन । तर, टेस्ट गर्दा परीक्षणको नतिजा पोजेटिभ आउँछ भने त्यस्ता टेस्टलाई फल्स पोजेटिभ टेस्ट भनिन्छ । मेडिकल भाषामा प्राविधिक रुपले यी दुबै टेस्टलाई फल्स नेगेटिभ र फल्स पोजेटिभ भनेर चिनिन्छ ।

अध्ययनहरुले देखाएअनुसार संक्रमण हुँदा मानिसको रोग प्रतिरोधात्मक कोषिकाले कोरोना भाइरस विरुद्धमा एन्टीबडी उत्पादन हुन ८ देखि १० दिनसम्म लाग्दछ । यसको अर्थ हो कि आरडीटीले ८—१० दिनपछि मात्र पोजेटिभ रिजल्ट देखाउन सक्छ । तर, भर्खरै संक्रमण भएको १ देखि ७ दिनसम्म आरडिटी परीक्षण गर्दा शरीरले एन्टीबडी बनाउन सुरु नगरेसम्म यसको नतिजा नेगेटिभ आउँछ । यस्ता व्यक्तिहरुमा पिसिआर गर्नु अति आवश्यक छ तर नेपालमा कोभिड—१९ को लक्षण नदेखुन्जेल पिसिआर परीक्षण गरिदैन । जसले गर्दा धेरै जना संक्रमितको पहिचान नभएको हुनसक्छ ।

कोभिड—१९ का सन्दर्भमा फल्स पोजेटिभ नतिजा आएमा त्यस्ता व्यक्तिहरुलाई आइसोलेसन वार्डमा राखी उपचार गरिन्छ ।ण् पुनः प्रयोगशालामा परीक्षणलाई दोहो¥याइन्छ । फल्स पोजेटिभ नतिजा आएका बिरामीले परिवार र समुदायमा कुनै नकारात्मक असर पार्दैन । तर, यसको विपरितमा कोरोना भाइरसको प्रजनन दर तीब्र भएको हुनाले फल्स नेगेटिभ बिरामी परिवार, समाज र देशका लागि ठूलो घातक हुनसक्छ ।

यस्तो परिस्थितिमा बिरामीलाई आरडिटीकै भरमा छोड दिनु कोभिड—१९ लाई खुलेयाम संक्रमणको लागि परिचालन गरे सरह हो । यदि फल्स नेगेटिभ बिरामीलाई पहिचान गरि समयमा चेत्न सकिएन भने गम्भीर अवस्था सिर्जना नहोला भन्न सकिन्न । समयमै सचेत हुनु अति आवश्यक छ । तर, ट्राभल इतिहासको आधारमा विदेशबाट फर्किएकाहरुमा भाइरसको संक्रमण थियो वा थिएन । र, भाइरस विरुद्ध शरीरले बनाएको एन्टीबडी चाँही बाँकी हुनाले आरडिटीको प्रयोग उपयोगी हुनसक्छ ।

आरडिटीको परीक्षण नतिजा

विभिन्न अनुसन्धानअनुसार कोरोनाको संक्रमण दर फरक—फरक भएपनि प्रायः एक संक्रमित व्यक्तिबाट चार जनालाई सर्न सक्ने देखिएको छ । डब्लुएचओ र नेचर साइन्सको अहिलेसम्मको तथ्यांकमा यो भाइरसबाट हुने मृत्युदर ५.९९ भएपनि यो दर दिनानुदिन बढ्दै गइरहेको छ । आरडिटी परीक्षण विधिको विश्वसनीयतालाई मात्र आधार मानेर अगाडि बढ्ने स्थिति देखिदैन ।

कोरोनाको परीक्षणमा पिसिआरको रिपोर्ट अति नै महत्वपूर्ण मानिन्छ । तर, शरीरमा बन्ने एन्टीबडीहरुको निर्माणाधीन समयले त्यहि नमुनामा आरडिटी र पिसिआरको नतिजा फरक हुने विभिन्न अध्ययनहरुले प्रस्ट्याएका छन् । अर्थात, प्रारम्भिक चरणमा कोभिड—१९ को संक्रमण भएको १—७ दिन भित्र आरडिटी नेगेटिभ आउँछ । यस्ता व्यक्तिहरुमा संक्रमण भएको तर विषाणुको विरुद्धमा एन्टीबडी निर्माण नभएकोले आरडिटी टेस्ट नेगेटिभ देखिन्छ । यस्ता व्यक्तिहरु एसिम्पटोमेटिक क्यारिअर अर्थात लक्षण नदेखिने व्यक्तिहरु हुन् जसले कोरोनाको संक्रमण फैलाउन सक्छन् । तर, यस्ता व्यक्तिहरुमा पीसिआरको नतिजा भने पोजेटिभ आउँछ ।

मध्यम चरणमा ७—१० दिनपछि आरडिटी पोजेटिभ आउँछ किनभने शरीरमा विषाणुको संक्रमण रहेको र त्यसको विरुद्धमा एन्टीबडी बनेको प्रमाणित हुन्छ । यस्ता व्यक्तिहरु कोभिड—१९ का सक्रिय बिरामी हुन् र संक्रमणका लक्षणहरु सजिलै स्पष्ट देखिन्छ । यस्ता बिरामीहरुले सजिलैसित अरुमा संक्रमण गराउन सक्छन् । यस्ता बिरामीहरुमा पिसिआरको नतिजा पनि पोजेटिभ नै देखिन्छ ।

अन्तिम चरणमा लगभग १४—२१ दिनपछि वा ३—४ हप्तापछि आरडिटी पोजेटिभ आउँछ किनभने यस्ता व्यक्तिहरुमा विषाणु हराइसकेको र एन्टीबडी निर्माण भइसकेको हुन्छ । उक्त व्यक्तिमा केहि हप्ताअघि कोभिड—१९ को संक्रमण रहेको, हाल संक्रमण नरहेको र निको हुने चरणमा रहेको बुझिन्छ । तर, यस्ता व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिंग गरिनुपर्छ किनभने यस्ता व्यक्तिहरु संक्रमण फैलाएको हुनसक्छन् । यस्ता व्यक्तिहरुमा पीसीआर परीक्षणको नतिजा नेगेटिभ पनि देखाउन सक्छ । त्यस्तै यदि कुनै व्यक्तिमा आरडिटी र पिसिआर दुवै नेगेटिभ आउँछ भने विषाणुको संक्रमण नरहेको अवस्था बुझिन्छ ।

आरडिटी परीक्षणका सकारात्मक र नकारात्मक पक्ष

जबसम्म बिरामीको अवस्था अन्य परीक्षणसँगै मिलाएर रिपोर्टको नतिजाहरुलाई विश्लेषण नगरी प्रयोगशालामा कुनै परीक्षण आफैमा पूर्ण हुन सक्दैन । तर, विभिन्न देशहरुले ¥यापिड डायगोनोष्टिक टेस्टलाई प्रयोगमा ल्याए पनि यसका रिपोर्टहरु माथि थरि—थरिका प्रश्न उठान भएको सार्वजनिक भइसकेको छ । ¥यापिड टेष्टबाट फाइदा के छ भने यसबाट १५ मिनेटमा नै नतिजा आउने गर्छ ।

यसका लागि धेरै विज्ञता नचाहिने, प्रयोगशाला पनि नचाहिने, फिल्डमा गएर गर्न सकिने, थोरै तालिम भएपनि पुग्छ । अन्य विशेषताहरुमा सजिलो विधि, कम झन्झटिलो, सस्तो परीक्षण, सजिलै गर्न सकिने, विशिष्ट उपकरण आवश्यक नपर्ने र नतिजा सजिलै छुट्याउन सकिनेहरु हुन् । यसको नकारात्मक पक्षमा आरडिटीको नेगेटिभ नतिजाले बिरामी कोरोना संक्रमित छैन भनेर यकिन गर्न मिल्दैन । कम एन्टीबडी रहेमा अथवा प्राविधिक रुपले कुनै ककी रहेको खण्डमा नतिजा नेगेटिभ आउन सक्छ ।

नेपालमा हाल प्रयोग हुने एन्टीबडी किटमा मात्र २ वटा डीटेक्सन ब्याण्डमा एउटा कन्ट्रोल र अर्को टेस्ट लाइन रहेका छन् । समस्या के छ कि यदि टेस्ट लाइन पोजेटिभ देखियो भने यो आइजीजि वा आइजिएम अथवा दुवैको भनेर छुट्टयाउन सकिदैन । जसले गर्दा संक्रमण प्रारम्भिक, मध्यम वा अन्तिम चरणको हो बुझ्न गाह्रो हुन्छ । तर, आरडिटी किटमा ३ वटा डीटेक्सन ब्याण्ड रहेको किटलाई प्रयोगमा ल्याइयो भने सजिलै आइजिजी वा आइजिएम अथवा दुबै एन्टीबडीहरु छन् भनेर पता लगाउन सकिन्छ ।

कोरोनाका एन्टीबडी किटहरुको सेन्सीटिविटी र स्पेसीफिसीटी कम भएकोले निगेटिभ नतिजा दिनसक्ने सम्भावना बढी हुन्छ । सुन्दाखेरि सेन्सीटिविटी र स्पेसीफिसीटी उस्तै र एक अर्काको पर्यायवाची जस्तै सुनिन्छ । तर, के बुझ्नु पर्छ भने कुनै पनि टेस्टको उपादेयता र विश्वसनीयता सेन्सीटिविटी र स्पेसीफिसीटीले निर्धारण गर्दछ । पहिलो, सेन्सीटिविटी अर्थात संवेदनशीलता । परीक्षणको नतिजा पोजेटिभ आएपछि संक्रमण भएको भनी खुलाउने उक्त टेस्टको क्षमता नै सेन्सीटिविटी बुझिन्छ । दोस्रो, स्पेसीफिसीटी अर्थात विशिष्टता । परीक्षणको नतिजा नेगेटिभ देखाएपछि संक्रमण नभएको भनी खुलाउने उक्त टेस्टको क्षमतालाई स्पेसीफिसीटी भनिन्छ ।

हुनत, केही अनुसन्धानहरुले रगतमा आधारित कोभिड—१९ एन्टीबडी आरडिटी किटको स्पेसीफिसीटी ९९.५ प्रतिशत र सेन्सीटिविटी ८३.४३ प्रतिशत रहेको दावी गर्दै आएका छन् । तर, यकिन गर्ने वातावरण ¥यापिड टेस्टको नतिजाहरुले सिर्जना गर्न सकेको छैन । त्यसैले होला बिरामी परीक्षणमा सक्रिय रुपमा ¥यापिड टेस्ट किटलाई प्रयोग गर्न हालसम्म डब्लुएचओले मान्यता दिएको छैन । कोरोना परीक्षणमा ¥यापिड टेस्ट किटको सकारात्मकता, विश्वसनीयता, वैधानिकता र प्रभावकारितालाई टुंगो लगाउन विभिन्न शोधहरु द्रुत गतिमा भइरहेका छन् । मापदण्ड, नियम र निर्णयहरु दिनहुँ संशोधन गरि अपडेट गरिदैंछन् । तैपनि, कोभिड—१९ का बिरामीहरुको परीक्षणमा यसको सार्थकतालाई सिद्ध गर्न सकिएको छैन ।

निष्कर्षमा भन्न सकिन्छ, नेपालमा आरडिटीको प्रयोग कोभिड—१९ को परीक्षणमा आफ्नो विश्वसनीयतालाई कायम गर्न नसकेकोले यसको प्रयोग गर्नु दुर्भाग्यपूर्ण हो । आरडिटीलाई सक्रिय बिरामी जाँचमा होइन कि समुदायमा मास स्क्रीनिङका लागि प्रयोग गरिनु पर्छ । किनभने, ¥यापिड डायगोनोष्टिक टेस्टले संक्रमितको सही पहिचान होइन, संक्रमणको आंकलन वा निगरानी मात्र गर्न सक्ने भएकोले परिणाममुखी देखिदैन । त्यसकारण, आरडिटी परीक्षणले मात्र कोरोनाको संकटलाई टार्न सकिदैन ।

सिमित स्रोत साधनका कारणले त्यसै पनि कोभिड—१९ को प्रयोगशाला परीक्षण धेरै नै ढिलो सुरु भएको थियो । तर, केही छैन, आतिनु पर्दैन । ढिलो कहिले पनि हुँदैन किनकी हिन्दीका भनाइ ‘जब जागे, तभी सबेरा’ लाई याद गरी तत्परताका साथ अगाडि बढ्नुपर्छ । पिसिआर विधि नगरिकन सार्स कोभ—२ को सही पहिचान हुन असम्भव छ । तसर्थ, यस आपतकालीन अवस्थामा डब्लुएचओले जारी गरेको पिसिआर विधिलाई प्राथमिकताका साथ बढाउँदै दक्ष जनशक्तिहरुलाई परिचालन गरी २४ घण्टा समर्पित भए मात्र कोरोनाको प्रकोपबाट यथाशीघ्र मुक्ति पाउन सकिन्छ ।

(लेखक यादव माइक्रोबाओलोजिस्ट हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ