२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘हामी बर्दिया अस्पताललाई गुणस्तरीय बनाउन टिमवर्कमा काम गरिरहेका छौं’

‘हामी बर्दिया अस्पताललाई गुणस्तरीय बनाउन टिमवर्कमा काम गरिरहेका छौं’


लुम्बिनी प्रदेशको दक्षिण पश्चिम क्षेत्रमा पर्ने बर्दिया जिल्लामा बर्दिया अस्पताल रहेको छ । बर्दिया अस्पतालले सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको छ । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७६÷०७७ मा बर्दिया अस्पताल न्युन्तम सेवा मापदण्ड र कार्य सम्पादनमा पहिलो भएको छ । बर्दिया अस्पतालमा ४ वर्षदेखि कार्यरत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुभाष पाण्डेयसँग हेल्थआवाजका लागि पदमराज भट्टले गरेको कुराकानी :

बर्दियाको अहिलेको स्वास्थ्य अवस्थालाई कसरी हेर्नुहुन्छ ?
बर्दियाको अहिलेको स्वास्थ्य अवस्था कोरोनाको सन्दर्भमा भन्दा अहिले केही ओरालो लागेको देखिन्छ । कोरोना संक्रमण नभएको नै भन्ने होइन्, संक्रमण छ । हामीले संक्रमणसँगै बाँच्न सिकिसकेका छौं । कोभिड–१९ ले गर्दा पहिले जे जति अपठ्यारा भएपनि अहिले त्यो अवस्था छैन । कोरोना संक्रमण भइहाल्यो भने उपचारतिर लाग्ने, संक्रमणका कारण निमोनिया अरु समस्याको समाधानतिर लाग्ने, पीसीआर पोजेटिभ आएपनि भाग्ने, तर्सिने अवस्था छैन । त्यसले गर्दा उपचारमा सहज भएको छ ।

कोरोनाबाहेक बर्दियाको अन्य स्वास्थ्य अवस्था कस्तो छ ?
नियमित स्वास्थ्यको अवस्था बर्दिया जिल्लाकै उपचारात्मक चेतना पहिले भन्दा बढेको छ । जनताहरुले उपचार लिन सक्ने सेवा, ठाउँ, चिकित्सकको निगरानीजस्ता कुराहरु बढेका छन् । अहिले पनि रोगको रोकथाम तथा प्रचार—प्रसार हुने कुराले खोप, गर्भको चेकजाँच ,गर्भवतीको स्वास्थ्य परीक्षण गराउने, बालबच्चाको कुपोषणजस्ता कुरामा पहुँच पुग्न सकेको छैन ।

बर्दिया जिल्लामा गरिबी, अशिक्षाका कारणले गर्दा खोप, गर्भवती महिलाको स्वास्थ्य जाँच, कुपोषणजस्ता कुराहरुमा औसत रुपमा गाह्रो नै छ । जिल्लामा ५२ प्रतिशत जनसंख्या थारु समुदायको छ । उक्त समुदायमा उच्च रक्तचापका बिरामीहरु अत्याधिक रुपमा छन् । अहिले मान्छेको खानपिन, रहनसहन परिवर्तन भएको छ । पहिले मासु चाडपर्वमा खाने थियो भने अहिले हप्तामा ४ चोटीसम्म बोसो भएको मासु खाने कारणले गर्दा नसर्ने रोगको जोखिम बढ्दो क्रममा छ ।

अहिले मान्छेहरु श्रम कम गर्ने जीवनशैलीका कारण मेहनत कम गर्ने, पसिना बगाउने कार्य कम भएको छ । शारीरीक ब्यायाम हुने कार्य , खेलकुदजस्ता कार्य कम हुने गरेका छन् । मान्छेहरुको विभिन्न प्रविधिको कारणले जीवनशैली फरक हुँदै गएको छ, यसले मानसिक तनाव बढ्ने गर्छ । जसका कारण नसर्ने रोगका बिरामीहरु अत्याधिक मात्रामा बढिरहेका छन् । बर्दियाको स्वास्थ्य अवस्था मध्यम नै छ । उपचारात्मक अवस्थामा राम्रो भएपनि खोप, गर्भवतीको स्वास्थ्य जाँच, उच्च रक्तचापका बिरामीको अवस्था हेर्दा त्यति सन्तोषजनक छैन ।

अहिले बर्दिया जिल्ला अस्पतालको अवस्था के छ ?
बर्दिया जिल्ला अस्पताल पहिलेभन्दा अहिले सुधारोन्मुख अबस्थामा छ । अस्पतालको राम्रो पक्ष भनेको प्रयोगशाला हो, प्रयोगशालामा विभिन्न किसिमका जाँचहरु भइरहेका छन् । पहिले जुन परीक्षण हुँदैन्थ्यो, त्यो जाँच अहिले उपकरणबाट भइरहेको छ । पहिले मेडिकल अफिसर १÷२ जना थिए भने अहिले ६÷७ जना छन् । कर्मचारीहरु फुल टाइम काम गर्नु हुन्छ । बिरामी चापअनुसार ओपिडी सेवा ४–५ बजेसम्म चल्छ ।

बिरामीको अवस्था कस्तो छ ?
बर्दिया अस्पतालमा पहिलेभन्दा बिरामी आउने संख्या झण्डै दोब्बर वृद्धि भएको छ । बार्षिक १० हजारलाई आकस्मिक सेवा, ५० हजारलाई ओपिडी सेवा दिदै आएका छौं । बर्दिया अस्पतालमा स्वास्थ बिमाको पनि वार्षिक डेढ करोड स्रोत भर्ना भइरहेको छ । यो सबै हेर्दाखेरी अस्पतालको अवस्था सन्तोषजनक रहेको छ ।

बर्दिया अस्पतालका लागि कस्ता—कस्ता अवसर देख्नुहुन्छ ?
अस्पतालका अगाडि थुप्रै राम्रा खालका अवसरहरु देखेका छौं । पहिलो कुरा बर्दिया अस्पताल ५० शैय्याको अस्पताल हो, यसलाई २ सय शैय्याको अस्पताल बनाउने सक्ने देखिन्छ । यसका लागि बर्दिया जिल्ला अस्पतालको ५ बिघा ४ कट्टा जग्गा छ । अस्पतालमा प्रदेश सरकारको नीतिअन्र्तगत मेडिकल प्राविधिकको रुपमा अगाडि बढाउन खोजेका छौं । जसले बर्दियाको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति कमी हुन नदिन प्यारामेडिक्स, स्टाफ नर्स बर्दियावासीलाई बढी महत्व दिएर प्रदेश सरकारको लगानीमा गरिब जनजातिलाई सःशुल्क वा निःशुल्क पढ्ने अवसर पाए भने समाजका लागि राम्रो हुन्छ । त्यसका लागि मेडिकल प्राविधिक शिक्षाको पनि बर्दिया अस्पतालमार्फत विकास गर्नुपर्छ भनेर अगाडि बढेका छौं ।

दोस्रो कुरा, सेवाहरु पनि सँगसँगै वृद्धि गर्दै लैजानु पर्छ । हामी धेरै टाढा छैनौं । थोरै कर्मचारीलाई मनोबल उच्च गरी काम गर्न सक्यौं भने अझै राम्रो हुनेछ । गुणस्तरीय र राम्रो सेवाहरु पनि दिन सक्नुपर्दछ ।

अस्पतालबाट के के स्वास्थ्य सेवा प्रवाह भइरहेका छन् ?
अस्पतालमा नेपाल सरकारबाट हुने सेवाहरु जस्तैः आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क प्रसुति सेवा, निःशुल्क शल्यक्रिया सेवा, हाइड्रोसिलको उपचार, सर्जरी, विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत सिकलसेलका बिरामीलाई १ लाखका साथै औषधि उपचार, ब्लड ट्रान्सफ्युजन सबै निःशुल्क भइरहेको छ । त्यस्तै, सुत्केरीको लागि रगत आवश्यक प¥यो भने निःशुल्क नै गरेका छौं ।

बाँकी अरु सेवाहरु जुन निःशुल्क छैनन् । विपन्न नागरिकहरुलाई, महिला स्वास्थ्य स्वयंसेविकालाई, द्वन्द्व पीडित, घाइतेहरुलाई, अभिभावक नभएकाहरुलाई विभिन्न १२ भागमा वर्गीकरण गरी सामाजिक सुरक्षा इकाईमार्फत आशिंक तथा शतप्रतिशत वाषर््िाक १५ लाखसम्मको छुट दिने गरेका छौं ।

दरबन्दीअनुसारको जनशक्ति के कस्तो छ ?
अस्पतालको सबैभन्दा ठूलो चुनौती भनेको विशेषज्ञ चिकित्सकको एकदमै अभाव हुनु हो । १० जना बिशेषज्ञ चिकित्सकको दरबन्दीमा २ जना करार गरी ३ जनामात्रै कार्यरत छन् । हामीसँग स्त्री रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, हाडजोर्नी रोग विशेषज्ञ दरबन्दी छ । तर, कुनै पनि विशेषज्ञ चिकित्सक हामीसँग उपलब्ध छैन । विशेषज्ञ चिकित्सकको लागि प्रदेश सरकारसँग मिलेर अस्पताल आफैले पनि विज्ञापन गर्छ । तर, बर्दिया छायाँमा परेर होला अहिलेसम्म हामीले विशेषज्ञ चिकित्सक पाउन सकेका छैनौ । तर, प्रयासमै छौं । अस्पतालको भवन निर्माण कार्य सहरी भवन डिभिजनमार्फत अगाडि बढेको छ । आगामी ५ वर्ष भित्र दरबन्दीअनुसार चिकित्सक पुग्छ कि जस्तो लाग्छ ।

अस्पताल लुम्बिनी प्रदेशमा न्यूनतम सेवा मापदण्ड र कार्य सम्पादनमा कसरी प्रथम भयो ?
अस्पताल न्यूनतम सेवा मापदण्डको निर्देशिका छ । मलगायत अस्पतालको टिमले त्यसको अध्ययन ग¥यौ । त्यसमा कहाँ—कहाँ के कमजोरी रहेछ, हाम्रो स्रोतले कति सुधार गर्न सक्छौं, त्यसलाई पहिलो प्राथमिकतामा राख्यौं । त्यसपछि बिरामीले पाउने सेवामा के सुधार गर्न सकिन्छ । थोरै लगानी गरेर केही सेवाहरु थप ग¥यौं । डेन्टल सेवा, २४ घण्टा एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रसुती सेवा, मेजर शल्यक्रिया सेवालाई अगाडि बढायौं ।

त्यो सँगसँगै जस्तैः अभिलेखीकरण नभएर अंक पुगेको हुँदैन । त्यसको लागि बैठक बसेर अभिमुखीकरण कार्यक्रम संचालन पनि ग¥यौं । ब्यवस्थापन गर्न छुटेका कुराहरुलाई एकीकृत गरी निर्देशिकामा आधारित स्वयः मुल्यांकन गर्छौ । सो मुल्यांकन फराम सबै विभागमा वितरण गरिसकेपछि सेवा गुणस्तर र सुधार के गर्न सकिन्छ भनेर एकीकृत गरी बैठक बसेर हाम्रो यो वर्ष यति सुधार भयो अब अलि मेहनत गरेर अझ सेवा गुणस्तर बढ्न सक्छ । यो हिसाबले न्यूनतम सेवा मापदण्डमा अगाडि बढ्यौं । अस्पतालको टिमवर्कले काम गरिरहेको छ । अस्पतालको बेरुजु शुन्य छ । त्यो सँगै अस्पताल आउने सेवाग्राही तथा नागरिकको गुनासोलाई छिटोभन्दा छिटो सम्बोधन गरी सुधार गरेका छौं । यी कारणले गर्दा बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्ड र कार्य सम्पादनमा प्रथम भयौं ।

अस्पताललाई सुधार गर्न के—के चुनौतीहरु सामना गर्नुभयो?
मेरो टिमले काम गर्दा सुरुवाती चरणमा धेरै अप्ठ्याराहरु थिए । एक्सरे चल्दैन्थ्यो, चल्यो भने बिजुलीको भोल्टेजको समस्या थियो । जेनेरेटरको अवस्था दयनीय थियो । भिडियो एक्सरे मेसिन सानो थियो, ओपिडी रजिष्ट्ररको व्यवस्था नभएकाले आर्थिक संकलन राम्रो थिएन । पारदर्शिता थिएन्, सहकार्य थिएन । अस्पतालको फार्मेसी चलेको थिएन । भौतिक पूर्वाधारमा एउटा वार्डमात्र संचालनमा हुन्थ्यो । चिकित्सक आवासको पनि सुधार गरिएको थिएन् । अस्पतालको बिजुलीको बक्यौता रकम १० लाख थियो । यो सबै कुरालाई अध्ययन गर्दा हामीले स–साना कुराबाट सुरुवात ग¥र्यौ ।

छरिएर रहेका कुराहरुलाई सफ्वेयरमार्फत एकीकृत गरी सेवा प्रवाह गर्दा विकास समितिको आम्दानी बढ्यो । त्यसपछि बिल नकाटी कुनै पनि शुल्क नलिने ग¥यौं । जीर्ण रहेको वार्डलाई मर्मत गरी संचालनमा ल्यायौं । एक्सरे संचालनको लागि संसद विकास कोषबाट सहयोग मागेर संचालन गरी जेनेरेटर राखेर सेवा संचालन ग¥यौं । प्रयोगशालालाई व्यवस्थित रुपमा संचालन ग¥र्यौ । यसकारण विकास समिति थप सबल हुँदै गयो ।

कर्मचारीका हितमा के कस्ता कामहरु भइरहेका छन् ?
कर्मचारीको तलब तथा सेवा सुविधा वृद्धि गरी कर्मचारीको आर्थिक रुपले मनोबल उच्च गरी केहि समस्या छ भने मासिक रुपमा छलफल गरी टुङग्याउछौं । एकअर्काप्रति सहयोगी एवं इमान्दार भएर टिममा कार्य गरी अस्पताललाई यहाँसम्म पु¥याउन सफल भएका छौं ।

अस्पतालले पाएको न्यूनतम सेवा मापदण्ड र कार्य सम्पादनको प्रथम स्थानलाई जोगाइ राख्न र यसलाई निरन्तरता दिनु नै मुख्य चुनौती रहेको छ । बर्दियाबाट नजिकै रहेका कैलाली तथा बाँकेमा गुणस्तरीय स्वास्थ्य सेवा दिने अस्पताल तथा मेडिकल कलेजहरु छन् । त्योभन्दा राम्रो सेवा दिन नसकेपनि झन्झटरहित र सर्वसुलभ सेवा दिने प्रयासमा छौं ।

बर्दियामा सिकलसेल एनिमिया प्रभावितहरुलाई कसरी उपचार भइरहेको छ ?
सिकलसेल एनिमिया प्रभावित विपन्न नागरिकहरुलाई नेपाल सरकारले एक लाखसम्मको औषधि उपचार निःशुल्क गरेको छ । सोहीअनुसार उपचार गराउने गरेका छौं । सिकलसेल एनिमिया हो भनेर पुष्टि भइसकेपछि विपन्न नागरिक औषधि उपचार निर्देशिकाअनुसार सम्बन्धित सिफारिसमा ल्याएर आउनुपर्छ । अस्पतालले १ लाखसम्म औषधि, बेड भर्ना, रगत चढाउनु परेमा रगत र अरु कुनै जाँच गर्नु परेमा त्यहीअन्र्तगत रहेर सेवा दिन्छौं ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयबाट भएको सहयोग रकमले सिकलसेल एनिमिया परीक्षणको लागि उपकरण खरिद गरेका छौं । सिकलसेल परीक्षणको लागि किट, परीक्षण पनि निःशुल्क गरेका छौं । सरकार एक लाखको उपचार खर्च दिने गरेको छ भने प्रदेश सरकारको सहयोगमा बर्दिया अस्पतालले सिकलसेलको परीक्षण समेत निःशुल्क गरिरहेको छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ