×
२०७७ फागुन २२, शनिबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्वार्ता / विचारसमाजवादी मोडलको बेलायतको ‘हेल्थकेयर’

समाजवादी मोडलको बेलायतको ‘हेल्थकेयर’


नेपालका सरकारी अस्पतालहरुमा बिरामीलाई विभिन्न सेवामा छुट दिने व्यवस्था छ । केही सेवाहरु, शैय्याहरु निःशुल्क छन् । तर, पूर्णतयाः निःशुल्क छैन । नेपालका वीर, शिक्षणलगायतका सरकारी अस्पतालहरुमा शुल्क तिर्नुपर्छ । बेलायतमा सरकारी अस्पतालहरुमा सबै नागरिकका लागि स्वास्थ्य सेवा पूर्णतयाः निःशुल्क उपलब्ध हुन्छ । त्यसकारण बेलायत र नेपालको सरकारी स्वास्थ्य प्रणालीमा निकै ठूलो अन्तर छ । बेलायतले आफ्ना नागरिकलाई निःशुल्क दिइरहेको स्वास्थ्य सेवा संसारमै उदाहरणीय हो ।

बेलायतमा ६ करोड ८० लाख जनसंख्या छ । यति ठूलो जनसंख्याका लागि निःशुल्क स्वास्थ्य सेवा दिनु निकै चुनौतीपूर्ण कुरा हो । सरकारले यसका लागि कर त लिन्छ तर करको सदुपयोग पनि उत्कृष्ट तरिकाले गर्छ । बेलायतको सरकारी स्वास्थ्य प्रणाली नेशनल हेल्थ सर्भिस (एनएचएस)मा झण्डै १३ लाख मानिसहरु काम गर्छन् । देशको समग्र जनसंख्यालाई हेल्थकेयर सेवा दिनका लागि मात्रै यति धेरै मान्छेहरु काम गर्छन् । यो हेल्थ प्रणाली सन् १९४८ मा लेबर पार्टीले सुरु गरेको हो ।

बेलायतका स्वास्थ्य संस्थामार्फत जुन सरकारले सेवा, सुविधा दिएको छ, त्यो सबैका लागि अनुकरणीय छ । हाम्रो देशले पनि त्यो अनुकरण गर्न सक्छ । त्यो मोडलमा आफ्नो स्वास्थ्य प्रणाली निर्माण गर्न सक्छौं । त्यसका लागि स्रोत, साधन, म्यानपावर सबै कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ । बेलायतमा यहाँको भन्दा काम गर्ने तौर—तरिकाहरु फरक छन् । नेपालमा धेरै फ्याक्टरहरुले कामलाई प्रभावित पारिरहेका हुन्छन्, राजनीतिले पनि हाम्रा स्वास्थ्य संस्थाहरुलाई असर गरिरहेको हुन्छ ।

बेलायतमा जुनसुकै पार्टीको सरकार बनेपनि कर्मचारीको सरुवा—बढुवा, नियुक्ति आदि इत्यादिमा कुनै असर गर्दैन् । यहाँको अवस्था त्यस्तो छैन । सोर्सफोर्सजस्ता राजनीतिक बाँछिटाहरु स्वास्थ्य संस्थामा प्रत्यक्ष असर गरिरहेका हुन्छन् । यहाँ सरकारमा रहेकाहरु आफन्त, नातागोता, पार्टीका मान्छेहरु भर्ती गरिरहेका हुन्छन् । तर, बेलायतमा कर्मचारीले एउटै कुरामा चिन्ता गर्नुपर्छ—काम गर्ने । काम गर्न सकेमा सफल हुन्छ । त्यहाँ ‘काम गर्न सक्छु कि सक्दिनँ’ भन्ने मात्रै चिन्ता हो । जागिर खान, प्रमोसन पाउन सोर्सफोर्सको आवश्यकता त्यहाँ पर्दैन् ।

नेपालको सरकारी अस्पतालमा काम गरेको म त्यहाँ गएर आफ्नै क्षमताको आधारमा त्यहाँका टप अस्पतालहरुमा काम गरे । त्यहाँ क्षमता देखाएपछि काम गर्न सहज छ । तर, नेपालमा क्षमता भएर मात्र पुग्दैन्, अन्य राजनीतिकलगायतका धेरै कुराहरुले असर गर्छ । कसलाई चाकडी गर्ने, कसलाई रिझाउने, कसलाई पेल्ने, कसलाई माथि ल्याउने, कसलाई तल पार्ने आदि—इत्यादि व्यक्तिगत फ्याक्टरहरुमा धेरै ध्यान पु¥याउनुपर्छ । यो स्थिती नेपालको दुर्भाग्य हो । जुन कुरा लन्डनका अस्पतालहरुमा काम गर्दा गुन्जायस समेत हुँदैन् ।

बेलायतमा प्राइभेट अस्पतालहरु पनि छन् तर एकदमै थोरै छन् । जसको हेल्थ इन्स्युरेन्समा लामो समयसम्म पर्खिनुपर्ने हुन्छन्, तिनीहरु निजीमा गएर उपचार गर्छन् । बेलायतका सरकारी स्वास्थ्य प्रणालीमा एउटा समस्या के छ भने इमर्जेन्सी भयो भने तुरुन्तै उपचार हुन्छ । हेलिकप्टर चार्टरदेखि एम्बुलेन्ससम्म सरकारले तुरुन्तै पठाइदिन्छ । घुँडा, हाडजोर्नी, आँखाको उपचारजस्ता लामो समयपछि पनि गर्न हुने शल्यक्रिया र उपचारजस्ता सेवाका लागि भने निकै लामो समय कुर्नुपर्छ । किनभने, सरकारको लिमिटेड स्रोत—साधन छ । त्यस्तोमा लामो क्युमा बस्नुप¥यो भने मान्छेहरु प्राइभेट अस्पतालहरुमा पनि जान्छन् । बेलायतको तथ्यांकमा ५—७ प्रतिशत मान्छेहरुले मात्रै प्राइभेट स्वास्थ्य सेवा लिएको देखिन्छ ।

नेपालका अर्बान एरियाहरुमा त स्वास्थ्य सेवा भनेकै प्राइभेटजस्तो भइसकेको छ । अधिकांश हुने खानेहरुले त झनै प्राइभेट स्वास्थ्य सेवामा मात्रै लिइरहेका छन् । नेपालमात्रै होइन्, अलि बढी पैसा हुनेहरु भारत, त्यो भन्दा बढी पैसा हुनेहरु सिंगापुर, हङकङ र थाइल्याण्डजस्ता ठाउँहरुमा जान्छन् । त्यो भन्दा बढी पैसा हुनेहरु युरोप, अमेरिका उपचारका लागि जान्छन् । त्यो क्याटागोरी नेपालमा छ ।

बेलायतमा त धनी होस् वा गरिब सबैको रोजाइमा सरकारी स्वास्थ्य सेवा छ । अस्पतालमा सबैका लागि उस्तै बेड र एकै प्रकारको सेवा हुन्छ । रोगको आधारमा मात्रै क्याबिनको व्यवस्था हुन्छ । जस्तो कसैलाई संक्रमणजन्य रोग लागेका उसलाई आइसोलेसनमा राख्नुपर्ने अवस्था आयो भने मात्रै त्यस्ता क्याबिनहरुको प्रयोग गरिन्छ । मान्छेहरुलाई आम्दानी वा हैसियतका आधारमा स्वास्थ्य सेवामा त्यहाँ विभेद छैन । सबैले पाउने स्वास्थ्य सेवा र सुविधा एउटै छ । बेलायतका अस्पतालहरुमा बेडको क्याटागोरी नै छैन । क्याटागोरी छ त रोगका कारणले मात्रै छ । त्यो हाम्रो देशमा छैन । हाम्रो देशका सरकारी र प्राइभेट अस्पताल दुवैतिर बेडको क्याटागोरी छ । सरकारी अस्पतालमा पनि क्याबिनहरु छन् । सरकारी अस्पतालमा बेडको क्याटागोरी हुनु भनेको दुर्भाग्यपूर्ण कुरा हो । यो कुरा लन्डनका अस्पतालहरुमा छैन् ।

बेलायतका अस्पतालहरुमा स्टाफहरुलाई गर्ने बानी, व्यवहार । उनीहरुलाई दिने तालिम । यी कुराहरुमा एकदमै स्टाफलाई महत्व दिइन्छ । स्टाफको पदपिच्छे फरक व्यवहार पनि त्यहाँ छैन । सबैलाई समान व्यवहार गरिन्छ ।

समाजवादी स्वास्थ्य प्रणाली

बेलायतका नागरिकलाई दुई प्रकारका कर तिर्छन् । एउटा आयकर जुन आम्दानीका आधार तिर्नुपर्छ । दोस्रो, त्यहाँ नेशनल इन्स्युरेन्सका लागि तिर्नुपर्छ । नेशनल इन्स्युरेन्समा प्रत्येक नागरिकको तलबबाट ६ देखि १० प्रतिशतसम्म सरकारले कट्टा गर्छ । यो काम गर्ने मान्छेहरुले मात्रै तिर्छन् ।

नेशनल इन्स्युरेन्सको हिस्सा स्वास्थ्य सेवा व्यवस्थापनमा खर्च हुन्छ । यहाँनेर के बुझ्न आवश्यक छ भने जसले कर तिरेको छ, उसले मात्रै स्वास्थ्य सेवा पाउने भन्ने होइन् । कर नै नतिर्ने नागरिकले पनि स्वास्थ्य सेवा पाउँछन् । तिर्न सक्ने मान्छेहरुबाट कर लिएर, त्यो करको प्रतिशत स्वास्थ्य सेवामा खर्च हुन्छ । त्यसले नै सरकारी स्वास्थ्य सेवा व्यवस्थापन हुन्छ ।

बेलायतमा अस्पताल गइसकेपछि ‘कसरी उपचार गरौला पैसा छैन ?’ भनेर नेपालमाजस्तो पीर बोकिरहनु पर्दैन् । सबै पैसा राज्यले नै ब्यहोर्छ । त्यसको बिलिङ र हिसाब हुन्छ, अस्पतालहरु एउटा म्यानेजमेन्ट मोडलमा चल्छन् । बेलायतका सरकारी अस्पतालहरुमा पनि आम्दानी खर्चको हिसाब हुन्छ । बिरामी भएर अस्पताल गएपछि कति दिन बेडमा बस्यो, कति वटा एक्सरे, कति वटा टेष्ट गरियो, कुन वार्डमा बसियो सबै कुरा रेकर्ड रहन्छ । अस्पताल बसाइँ, लागेको खर्च सबैको बिलिङ पनि हुन्छ । तर, त्यो बिल सबै सरकारले तिरिदिन्छ । सरकारको अंग नेशनल इन्स्युरेन्सले त्यो खर्च तिरिदिन्छ ।

नेपाल सरकारले सरकारी अस्पतालहरुलाई एकमुष्ठ रकम दिन्छ । अस्पताल कति चलेको छ, बिरामी कति आउँछन् त्यसको मतलब छैन । तर, बेलायतमा सरकारले अस्पतालमा गरेको टेष्टका आधारमा पैसा तिरिदिन्छ । बेलायतमा जतिसक्यो बढी बिरामी ल्याउनुप¥यो, जतिसक्यो राम्रोसँग अस्पतालमा सेवा दिनुप¥यो । त्यही कारण त्यहाँ सरकारी अस्पतालहरु पनि एकदमै प्रभावकारी ढंगबाट चलेका छन् । उनीहरु पनि बिजनेश मोडलमा चुस्तदुरुस्त छन् । त्यहाँ सरकारी अस्पतालले पनि घाटा ब्यहोर्छन्, किनभने त्यहाँ सबै कुराको बिलिङ हुन्छ ।

नेपालमा वीर अस्पतालमा ५० वटा बेड खाली हुन वा भरी मतलब हुन्न । सरकारले अनुदान दिइरहेको छ, राम्रो चलाउनु र नराम्रो चलाउनुमा के मतलब छ र ? बेलायतमा नागरिकको हेल्थकेयर सबै निःशुल्क छ । यतिसम्मकी अस्पतालबाट बिरामी डिस्चार्ज हुँदा घर जाने गाडी छैन् भने सरकारले त्यसको व्यवस्था गरेर पनि पठाइदिन्छ ।

बेलायतमा बिरामीको कुरुवा बस्ने सिष्टम नै हुँदैन् । बिरामीको ध्यान राख्ने, दाह्री काटिदिने, लुगा परिर्वतन गरिदिने, खानाको मेनु ल्याएर सोध्नु, मेनुअनुसार खाना दिने सबै अस्पतालले गर्छ । कुरुवा नहुने भएकाले बिरामीका भिजिटर (आफन्तहरु) आए भने आधा—एक घण्टा बिरामीसँग बिताउँछन् । कुरुवा भनेर अस्पतालमा कोही बस्नु पर्दैन् । अस्पताल छिरेदेखि डिस्चार्ज नभएसम्म बिरामीको सम्पूर्ण जिम्मा अस्पतालको हो । बिरामी डिस्चार्ज भएर घर जाँदा पनि जस्तो कसैको घुडाको शल्यक्रिया भएको छ, घरमा तलमाथि गर्न सक्दैनन् भने घरमा एक्लै हुनुहुन्छ भने सरकारले नै तलको बेडरुम समेत बनाइदिन्छ ।

एउटा नागरिकको सम्पूर्ण दायित्व सरकारले लिन्छ । नेपालमा धेरै राजनीतिक दलहरुले गफ गर्ने समाजवाद बेलायतमा रियल जीवनमा छ । एकदमै धेरै कमाउने मान्छेले ४५ प्रतिशतसम्म कर तिर्छ । बढी कमाउनेले बढी कर र नेशनल इन्स्युरेन्स तिर्छ । तर, धेरै नेशनल इन्स्युरेन्स तिर्ने र थोरै तिर्नेमा केही पनि फरक छैन, एउटै सुविधा हुन्छ । कोही मान्छे बेरोजगार छ इन्स्युरेन्स तिर्न सक्दैन भने त्यसले पनि अन्य नागरिकझै निःशुल्क स्वास्थ्य सेवा पाउँछ । त्यसकारण वास्तविक समाजवाद बेलायतमा छ । मैले बुझेको समाजवाद, जसमा जनतालाई सुख, सुविस्ता हुन्छ, त्यो बेलायतमा छ । नागरिकका आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास आदि इत्यादि पर्दाका बेला सरकारले हेर्ने खालको समाजवाद त्यहाँ छ ।

निःशुल्क स्वास्थ्य नेपालमा सम्भव छ ?

बेलायतले प्रायक्टिस गरिरहेको हेल्थ प्रणाली नेपालमा लागु गर्न निकै कठिन छ । सन् १९४८ मा लागु भएको यो हेल्थ प्रणाली झण्डै ७५ वर्ष हुन लागिसक्यो । त्यो स्तरमा नेपालको हेल्थकेयर पु¥याउन हामीले निकै मेहनत गर्नुपर्छ । किनभने, धेरै स्रोत साधन र पूर्वाधारहरुको आवश्यकता पर्छ ।

अर्को समस्या नेपालीहरुको बानी निःशुल्क भयो भने त्यसको दुरुपयोग गर्नेछ । जुन बेलायतीहरुमा छैन । निःशुल्क होस् कि नहोस् त्यसमा उनीहरुलाई मतलब छैन । सकेसम्म राज्यको स्रोत साधन खर्च गर्नुहुँदैन भन्ने उनीहरुको मान्यता छ । हामी कहाँ के मान्यता छ भने जुन कुरा निःशुल्क छ, त्यो निःशुल्क पाएपछि धनीले पनि, सक्नेले पनि जतिसक्यो दुरुपयोग गर्ने मान्यता छ । त्यसकारण जुन हाम्रो यस्तो कल्चर पक्ष छ, त्यो पक्षले गर्दा पनि निःशुल्क स्वास्थ्य सेवा नेपालले चलाउन गाह्रो छ ।

अर्को, गुणस्तरीयताको प्रश्न पनि मुख्य हो । नेपालमा जति निःशुल्क भयो त्यति त्यसको गुणस्तरमा सम्झौता गर्न पाइन्छ । हाम्रा जुनसुकै अस्पताल हेर्ने हो भने पनि जुन अस्पताले धेरै शुल्क लिएको छ । नेपालमा उच्च सुविधा दिने र राम्रा चलेका अस्पतालहरुले शुल्क पनि उतिकै राम्रो लिइरहेका छन् । नेपालमा स्वास्थ्य सेवा निःशुल्क गर्ने बितिकै अस्पतालको मर्मत, सम्भार, सञ्चालन र पूर्वाधार विकासका पक्षमा गुणस्तरीयता कायम गर्न गाह्रो पर्छ । हाइजिन, हेल्थ एण्ड सेफ्टीका कुराहरु पनि लागु गर्न समस्या पर्छ ।

यसको अर्थ नेपालमा सुलभ स्वास्थ्य सेवा पु¥याउन गाह्रो पनि छैन । अहिले पनि नेपालमा स्वास्थ्य राज्यको ठूलो रकम खर्च भइरहेको छ । सबैभन्दा बढी कर्मचारीको संख्या स्वास्थ्यमै छ । अहिले सरकारले स्वास्थ्य अझ लगानी बढाइरहेको छ । औषधीहरु निःशुल्क गरिरहेको छ । तालिम दिइरहेको छ । तरपनि सरकारी स्वास्थ्य संस्थाहरु राम्रोसँग मेन्टेन भएका, पूर्वाधार विकास भएका, जनतालाई सुविधा दिने खालका धेरै छैनन् । त्यसकारण नेपालमा राम्रो हेल्थकेयर सिष्टम विकासका लागि राजनीतिक प्रतिवद्धता, कर्मचारीलाई तालिम आवश्यक छ । त्यसबाहेक स्वास्थ्य संरचना बलियो बनाउनका लागि अझ ठूलो मेहनतको खाँचो छ ।

(बेलायतमा लामो समय सरकारी हेल्थकेयर म्यानेजमेन्टमा सक्रिय रहेर हालै नेपाल फर्किएका डा. कैनीसँगको कुराकानीमा आधारित ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस