२०७९ असार १३, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकिन आवश्यक छ मुत्र परीक्षण, प्रयोगशालामा मुत्र परीक्षणको महत्व

किन आवश्यक छ मुत्र परीक्षण, प्रयोगशालामा मुत्र परीक्षणको महत्व


नियमित पिसाब जाँच (Routine Urine R/E) एक सर्वसुलभ परीक्षण हो । कुनै ठूलो खर्चबिना गर्न सकिने यो परीक्षणको महत्व आम सर्वसाधारण र स्वास्थ्यकर्मीमा हुन अत्यन्त जरुरी छ ।

मानव शरीरमा मुत्रप्रणालीबाट निस्कने पिसाबको दैनिक मात्रा सदरदरमा ६०० मि.लि.भन्दा बढी हुने गर्दछ । दैनिक खानपान, शारीरिक गतिविधिअनुसार पिसाबको मात्रा फरक हुन सक्दछ । तसर्थ सामान्य खानपानमा पनि पिसाबको मात्रा दैनिक ४०० मि.लि.भन्दा कम वा २००० मि.लि.भन्दा धेरै भएमा चिकित्सकको सम्पर्कमा रहनुपर्दछ ।

दीर्घरोगका बिरामीहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुका रोगका बिरामीहरू, दैनिक औषधि सेवन गर्ने व्यक्तिहरूले वर्षको १ देखि २ पटक नियमित पिसाब जाँच गर्नुपर्छ । पिसाबको नियमित जाँचबाट निम्न कुराहरू पत्ता लगाउ सकिन्छ :

१) रंग : सामान्यतयाः पिसाबको रंग Lemon Yellow हुन्छ । पिसाबको रंग क्षयरोगको औषधिले रातो, कमलपित्तमा गाढा पहेँलो, हात्तीपाइलेमा दुधजस्तो सेतो हुनसक्छ ।

२) पिएच : सामान्य पिसाबको pH–४.५ देखि ८ सम्म रहन्छ । ४.५ भन्दा मुनिको पिसाबमा अम्लीयपना ज्यादा हुन्छ र कुनै—कुनै प्रकारको पत्थरी हुने सम्भावना बढ्छ । अम्लीयपना कम भएको पिसाबका केही जीवाणुको संक्रमण ज्यादा हुन्छ ।

३) स्पेसिफिक ग्राभिटि : (१.००१–१.०३५) यो जाँचले पिसाबको बाक्लोपना वा पातलोपना देखाउँछ । ग्लुकोज, प्रोटिन, एन्टीबायोटिक्स आदिले पिसाबको स्पेसिफिक ग्राभिटी बढी हुन्छ भने मिर्गौलाको दीर्घरोग (CKD) मा यो घटेको हुन्छ ।

४) सेता रक्तकोषहरू : प्रशस्त देखिएमा पिसाबको सङ्क्रमण वा ग्लोमेरुलोनेफ्राइटिस (Glomerulonephritis) को समस्या हुनसक्छ ।

५) राता रक्तकोषहरू : मुत्र प्रणाली (मिर्गौला, मुत्रनली, मुत्रथैली) मा पत्थरी वा पिसाबको सङ्क्रमण वा मुत्रथैलीमा क्यान्सर, मिर्गौलामा क्षयरोग आदि अवस्थामा पिसाबमा राता रक्तकोषहरू देखिन सक्दछन् ।

६) प्रोटिन : ज्वरो, पिसाबको सङ्क्रमण, कठोर शारीरिक व्यायाम गर्दा मात्र पनि पिसाबमा प्रोटिन देखिन्छ । मधुमेहका बिरामीको पिसाबमा प्रोटिन देखिनु मिर्गौलामा दीर्घकालीन असर सुरु हुनुको प्रमाण हो । प्रोटिनको मात्रा पिसाबबाट धेरै खेर गएमा शरीर सुनिन थाल्छ । मधुमेहका रोगीमा पिसाबमा प्रोटिन (एल्बुमिन) नदेखिएमा वार्षिक रूपमा माइक्रो एल्बुमिनको परीक्षण गर्नुपर्दछ । यदि माइक्रो एल्बुमिन देखिएमा चिकित्सकले विभिन्न औषधिहरू दिएर मिर्गौलामा हुने क्षति न्युनीकरण गर्न सक्दछन् ।

७) ग्लुकोज : रगतमा ग्लुकोजको मात्रा १८० मि.ग्रा. प्रतिशतभन्दा बढी भएमा पिसाबमा सुगर देखिन्छ । जसको कारणले पिसाबमा सङ्क्रमण बढ्दछ । त्यस्ता व्यक्तिहरूमा मधुमेह छ कि भनेर रगतमा ग्लुकोज जचाउनुपर्दछ ।

८) मणिभ (Cystalls) : क्याल्सियम, फस्फोरस, युरिक एसिडका Cystalls हरू प्रशस्त देखिएको पिसाबमा पत्थरी हुने सम्भावना ज्यादा हुन्छ ।

माथि उल्लेखित पिसाबको नियमित परीक्षण बाहेक केही विशेष परीक्षणहरू पनि यहाँ उल्लेख गर्न वान्छनीय देखिन्छ –

क) महिलाहरू गर्भवति भएको अवस्था पत्ता लगाउन पिसाबमा Hcg परिक्षण गरिन्छ । कुनै कुनै यौन अंगका क्यान्सरहरूमा यो Hcg को मात्रा अत्यधिक हुने हुँदा पुरुषहरूमा पनि पिसाबमा Hcg Test गर्न सकिन्छ ।

ख) पिसाबमा Acetone देखिएका मधुमेहका बिरामीहरूलाई सघन उपचार कक्षको उपचार चाहिन सक्छ ।

ग) पिसाबमा Chyle भएमा दुधजस्तो सेतो देखिन्छ र यस्ता बिरामीहरूमा हात्तीपाइले, छाती वा पेटको क्यान्सर हुन सक्दछ ।

घ) पिसाबको Cytology (कोषिकाहरूको अध्ययन) बाट मुत्रथैलीको क्यान्सर, क्यान्सरको उपचारमा प्रयोग गरिने विकिरण/औषधीहरूको असर पत्ता लगाउन सकिन्छ ।

ङ) विभिन्न लागु औषधहरू पिसाबबाट बाहिर निस्कने हुँदा लागु औषध दुव्र्यसनीहरूको Toxicology Screen गर्नका लागि पिसाब परीक्षण गरिन्छ ।

च) भूकम्प, सडक दुर्घटना, लगातारको पौडी खेल, लामो दुरीको हिडाइमा शरीरको मांसपेशी पग्लेर पिसाबमा Myoglobin देखिन्छ ।

छ) रक्तनलीभित्र राता रक्तकोषहरू फुट्ने रोगहरू जस्तै मलेरियामा, पिसाबमा Hemoglobin देखिन्छ ।

(डा. कँडेल भरतपुर अस्पतालका प्रवक्ता हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)