२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकलेजोको शल्यक्रिया किन मानिन्छ जटिल ?

कलेजोको शल्यक्रिया किन मानिन्छ जटिल ?


शल्यक्रिया भन्ने बितिकै जुनसुकै शल्यक्रिया पनि अवस्था हेरी जटिल बन्न सक्छन् । तथापि, शल्यक्रियाको किसिम, जोखिमको सम्भावना, शल्यक्रियामा लाग्ने सक्ने समय, शल्यक्रिया गर्न चाहिने अनुभव र सीपका साथै चाहिने उपकरण र जनशक्ति परिचालनलगायतका कुराहरुको आधारमा शल्यक्रियाहरुलाई साधारणतयाः सामान्य, जटिल, अति जटिलजस्ता विभिन्न विधाहरुमा वर्गीकरण गर्ने गरिन्छ ।

शरीरका विभिन्न भाग र अंगहरुमा गरिने शल्यक्रियाहरुलाई साधारणतयाः यसरी गर्ने गरिन्छ । विभिन्न अस्पताल तथा देशविदेशमा शल्यक्रियाको वर्गीकरण प्रायःजसो माथिका बुँदाहरुलाई आधार मानेर गर्ने गरिन्छ । कलेजोमा गरिने जुनसुकै खालका शल्यक्रियालाई जटिल नै मानिन्छ वा शल्यक्रियाको प्रकार हेरी कलेजोमा गरिने शल्यक्रिया जटिल वा अत्यन्त जटिल भनेर पनि वर्गीकरण गर्न सकिन्छ ।

नेपालमा केही वर्षअघिसम्म पनि अत्यन्त जटिल मानिने कलेजोको शल्यक्रिया एकदमै थोरै र सिमित अस्पतालमा मात्रै गर्ने गरिन्थ्यो । तर, हाल आएर नेपालमै कलेजोको शल्यक्रिया गर्न सक्ने विशेषज्ञ शल्यचिकित्सकहरुका साथै ठूला अस्पताल र उनीहरुमा उपलब्ध विशेष सेवा सुविधाका कारणले कलेजोको जटिल शल्यक्रिया धेरै ठाउँमा उपलब्ध हुन थालेको छ । तर, प्रायः यी सुविधाहरु राजधानी केन्द्रीत छन् ।

कलेजोको शल्यक्रिया किन मानिन्छ जटिल ?

पहिलो कुरा त कलेजोको शल्यक्रिया गर्न शल्यचिकित्सकले यस सम्बन्धी विशेष तालिम लिएको हुनुपर्छ । सिमित ठाउँमा र सिमित विशेषज्ञहरुले कलेजोका जटिल शल्यक्रिया हुने भएकाले शल्यचिकित्सा सम्बन्धी हुने विशेषज्ञ तालिममा चिकित्सकहरुको यस सम्बन्धी एक्स्पोजर नै कम हुन जान्छ । यसै कारण सायद नेपालमा भएका कलेजो सम्बन्धी विशेषज्ञ चिकित्सकहरुले विदेशबाट तालिम लिएर आएका छन् ।

यसबाहेक कलेजोको शल्यक्रिया गर्ने विशेष किसिमका महंगा उपकरण पनि चाहिन्छन्, जुन सबै अस्पतालमा नहुन सक्छन् । कलेजोको सफल शल्यक्रिया गर्न उक्त अस्पतालको सघन उपचार, रेडियोलोजी विभाग पनि जनशक्ति र उपकरणका हिसाबले पूर्ण हुनु पर्दछ । यी सुविधा पनि एकदमै थोरै ठूला अस्पतालमा मात्र हुने गर्छन् ।

यसैगरी, कलेजोमा आफैमा एक नरम तर धेरै रगत नसाहरुले भरिएको जटिल अंग हो, जसलाई काट्दा अत्याधिक रक्तस्राव हुन सक्छ । अन्य अंगमा जस्तो कलेजोमा हुने रक्तस्राव सजिलै रोक्न सकिदैन् र कहिलेकाही अत्याधिक रक्तस्रावले बिरामीको ज्यान पनि जोखिममा पर्न जान्छ ।

यसका साथै कलेजोको शरीरमा धेरै कामहरु हुन्छन् । अन्य अंगको तुलनामा कलेजोले गर्ने काम अत्याधिक हुन्छन् । कसै—कसैले कलेजोलाई शरीरको ‘फ्याक्ट्री हाउस’ पनि भन्ने गर्छन् । रगतमा भएका अनावश्यक वस्तु, हानिकारक तत्वहरुलाई कलेजोले मेटाबोलाइज गरेर फ्याक्ने गर्दछ । त्यस्तै, कलेजोको विभिन्न महत्वपूर्ण तत्वहरु बनाउने गर्छ, जस्तैः हाम्रो इम्युनिटीका लागि चाहिने एन्टीबडी, रगत शरीरबाट बग्न नदिने क्लोटिङ फ्याक्टर्सका साथै शरीरलाई आवश्यक पर्ने अन्य प्रोटिनहरु बनाउने गर्छ । कलेजोले सुगरलाई पनि स्टोर गरेर रान्छ, जुन चाहिएको बेलामा शरीरलाई उपलब्ध गराउन सकिन्छ ।

यदि कलेजोको शल्यक्रिया गर्दा कलेजोमा चोट पुगेमा वा शल्यक्रिया पश्चात शरीरमा बाँकी रहेको कलेजोको भाग अपुग भएमा कलेजोका सबै काममा असर पर्छ र यसको कारणले शरीरका अन्य महत्वपूर्ण अंगहरुमा पनि असर गर्छ । र, यी विभिन्न कारणहरुले गर्दा बिरामीको ज्यान पनि जोखिममा पनि जान्छ । माथि उल्लेखति यी विभिन्न कारणहरुले गर्दा कलेजोको शल्यक्रियालाई जटिल शल्यक्रियाको रुपमा लिने गरिन्छ ।

कलेजोको शल्यक्रिया किन गरिन्छ ?

कहिले रोग लागेर त कहिले रोग नलागे पनि कलेजोको शल्यक्रिया गरिन्छ । कलेजो प्रत्यारोपण गर्ने क्रममा दान गर्ने व्यक्तिको रोग नलागेको अवस्थामा शल्यक्रिया गरिन्छ । स्वस्थ मानिसको कलेजो, कलेजो बिग्रेको व्यक्तिमा प्रत्यारोपण गर्नका लागि शल्यक्रिया गर्नुपर्ने आवश्यकता हुन्छ ।

अर्को, रोग लागेका बेलामा कलेजोको शल्यक्रिया गरिन्छ । लिभरमा क्यान्सर, स्टोन भएको अवस्थामा, फरक खालका सिस्ट, क्यान्सरजस्ता देखिने सिस्टहरु पनि हुनसक्छन् । कुनै बेलामा चोटपटक लागेर लिभरको भाग ड्यामेज हुँदा पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ । पित्तथैली, पित्तथैलीको क्यान्सर फैलिएको अवस्थामा पित्तथैली र पित्तनलीसँगै कलेजोलाई पनि काटेर फाल्नुपर्ने हुन्छ । धेरैजसो क्यान्सरको कारणले कलेजोको शल्यक्रिया गर्नुपर्ने हुन्छ । त्यसबाहेक सिरोसिसका कारण कलेजोले काम गर्न नसक्ने अवस्थामा कलेजो प्रत्यारोपण गर्दा पनि कलेजोको शल्यक्रिया गरिन्छ ।

पहिचान कसरी गर्ने ?

सबैभन्दा पहिले रोग के हो भनेर पत्ता लगाउन रगत परीक्षण, भिडियो एक्स–रे, सिटी स्क्यान र एमआरआई गर्नुपर्छ । त्यसबाट क्यान्सर हो कि होइन वा अरु नै रोग हो भनेर हेर्ने गरिन्छ । क्यान्सर नै हो भने कति स्टेजमा छ, शल्यक्रिया गरेर ठिक हुन्छ, हुँदैन निक्र्यौल गरिन्छ । मिल्छ भने कलेजो कति भाग काट्नुपर्छ, सिटी स्क्यान र एमआरआई गरेर यी सबै रोगको प्रकृति हेरेर शल्यक्रिया गरिन्छ ।

कलेजो काटेपछि बाँकी रहेको कलेजोले कति काम गर्छ, नसा कस्ता छन्, कता गएका छन् ती नसाहरुलाई बचाउनुपर्ने, जोड्नुपर्ने, काट्नुपर्ने सबै हेर्ने गरिन्छ । सबै हेरेपछि मात्र शल्यक्रियाको लागि तयारी गरिन्छ ।

कलेजोको सानो वा ठूलो कति भाग काट्ने हो प्रायः सोको आधारमा शल्यक्रियाको समय लाग्न सक्छ । ठूलो शल्यक्रिया ५—६ घण्टासम्म लाग्नु सामान्य मानिन्छ । अन्य शल्यक्रियाभन्दा रगत बढी आवश्यक पर्छ । यसमा रक्तस्राव बढी हुने र कलेजोको काममा असर पुग्ने भएको हुँदा रगतहरु स्ट्याण्डवाई राख्नुपर्छ । सानो र ठूलो भाग काट्ने हिसाबमा शल्यक्रियाको समय निर्धारित हुन्छ । ठूला शल्यक्रियामा ६ घण्टा जति समय लाग्छ । शल्यक्रिया गरेका बिरामीलाई स्पेसल केयरमा आईसीयु वा पोस्टअपरेटिभ वार्डमा राखिन्छ । ठूलो शल्यक्रिया गरेकालाई आईसीयुमा र सानो भाग काटेको बिरामीलाई पोस्ट अपरेटिभ वार्डमा राखिन्छ ।

कलेजो प्रत्यारोपणको निम्ति गरिने दाताको शल्यक्रियाको हकमा दातालाई सुरुका केही दिन आईसीयुमा राखिन्छ । आईसीयुमा राखेपश्चात अवस्था हेरी २—३ दिन पश्चात बिरामीलाई वार्डमा सार्ने गरिन्छ । यसैगरी कलेजोका ठूला शल्यक्रिया अथवा अत्यन्तै जटिल खालका बिरामीलाई पनि सुरुका केही दिनमा आईसीयुमा राखी अवस्था हेरी केही दिन पश्चात मात्र वार्डमा सार्ने गरिन्छ । जटिल खालको कलेजोको शल्यक्रिया पश्चात सुरुका केही दिन बिरामी अवस्था जटिल हुन सक्ने र जटिल किसिमको समस्या आइपर्ने हुन सक्नाले ती बिरामीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ । यसलाई विशेष किसिमको सावधानी अपनाएको मानिन्छ ।

कलेजोको शल्यक्रिया गर्दाको सबैभन्दा ठूलो समस्या शल्यक्रिया गरेको ठाउँबाट रक्त्स्राव बढी हुने, काटेको भागबाट पित्तनलीहरु लिक हुने, बिरामीमा रहेको कलेजोको भागले काम नगर्न सक्ने, शल्यक्रिया गर्दा नसा ड्यामेज भएमा कलेजो फेल हुनसक्छ । जसले गर्दा सबै अंगलाई असर गर्छ (जन्डिस हुने, सुगर, प्रेसर नियन्त्रण नहुने)जस्ता जोखिम बढी हुन्छन् । धेरै जोखिम हुने भएको हुँदा कलेजोको शल्यक्रियालाई जटिल शल्यक्रिया भनिएको हो ।

अहिले राम्रो कुरा के भएको छ भने धेरै जनशक्तिले तालिम पाएका छन्, उपकरणहरु उपलब्ध छन् । अहिले धेरै शल्यक्रियाहरु भैरहेका छन् । अहिले ठूला—ठूला शल्यक्रियाका साथै कलेजोको प्रत्यारोपण समेत भएका छन् । कलेजो प्रत्यारोपणको सेवा सुरु भएका कारणले यसले ठूलो प्रभाव पारेको छ । हाम्रो अस्पतालमा आउने कलेजो बिरामी बढेका छन्, यसको प्रत्यारोपणका बिरामी बढेका छन् । सबै शल्यक्रियामा प्रत्यारोपण नै गर्नुपर्छ भन्ने हुँदैन् । प्रत्यारोपणबाहेक अन्य शल्यक्रियाबाट पनि कलेजोका रोगहरु ठिक पार्न सकिन्छ ।

केही वर्षअघिसम्म हाम्रो अस्पतालमा वर्षमा ५-६ वटा मात्र कलेजोको शल्यक्रिया हुन्थ्यो भने हाल आएर माथि उल्लेखित विभिन्न काराण्हरुले कलेजोको शल्इक्रियाको संख्या उलेख्य रुपमा बढेको छ । हाल मेरो नेतृत्वमा रहेको युनिटले मात्रै पनि वर्षमा २५-३० वटा कलेजोको शल्यक्रिया गर्ने गरेको छ । सफल कलेजो प्रत्यारोपणको सुरुवातले पनि कलेजोका बिरामीहरुमा हामीप्रति विश्वास बढेको छ । साथै, कलेजो प्रत्यारोपणमा प्रयोग हुने विशेषज्ञ सेवा वा सुविधाहरु कलेजोका अन्य ठूला शल्यक्रियाहरुमा पनि प्रयोग गर्न पाइएको छ । यी विविध कारणहरुले गर्दा हामीले धेरै साना-साना बालकहरुमा देखिने कलेजोको क्यान्सरको ठूला-ठूला शल्यक्रियासमेत सफल रुपमा सम्पन्न गरेका छौं । कलेजोको शल्यक्रिया गर्नुपर्ने रोगहरुलाई समयमा नै पत्ता लगाउन सकेमा जटिल किसिमको शल्यक्रिया गर्नुपरेतापनि कलेजोको सफल शल्यक्रिया गरी बिरामीहरुलाई लामो जीवन दिन सकिन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #कलेजोको शल्यक्रिया, #जटिल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ