२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘वृद्धि विकासमा ढिलाइ भएका बालबालिकालाई जतिसक्दो चाडो उपचार गर्नुपर्छ’

‘वृद्धि विकासमा ढिलाइ भएका बालबालिकालाई जतिसक्दो चाडो उपचार गर्नुपर्छ’


डा. अनिलराज ओझा डेभलपमेन्ट पेडियाट्रिक्सियन हुन् । त्रिवि शिक्षण अस्पतालबाट बाल रोगमा विशेषज्ञता हासिल गरेका उनले डेभलपमेन्ट एण्ड विहेवियोर पेडियाट्रिक्समा एफसीसीएच अष्ट्रेलियाबाट फेलोसीप गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्किड फिजियो एण्ड रिह्याबमा समेत कार्यरत डा. ओझासँग हेल्थआवाजले बालबालिकाको वृद्धि विकासमा हुने ढिलाइ, अटिजमलगायतका विषयमा केन्द्रीत रहेर गरेको कुराकानीः

बच्चाको वृद्धि विकासमा देखिने मुख्य समस्याहरु के–के हुन् ?
बच्चाको विकास भन्नाले बच्चाको दिमागको विकाससँग सम्बन्धित कुरा हो । बच्चाहरुको शरीरको चाल, हातको चाल, भाषा, वुद्धिमता तथा सामाजिक व्यवहार बच्चाको विकाससँग सम्बन्धित कुरा हो । यी हरेक कम्पोनेन्टमा समस्या हुन सक्छन् । ती कम्पोनेन्टहरुमा देखिने समस्याहरुले गर्दा धेरै अवस्थाहरु आउन सक्छन् । भाषा विकासको एउटा पाटो हुन्छ, त्यसमा बच्चाको बोली ढिला आउनु अहिले देखिएको मुख्य समस्या हो । बोल्न ढिला हुने कारणहरु धेरै हुन सक्छन् तर तीमध्ये एउटा कारण अटिज्म हो । मेडिकल कारणहरु जस्तैः कानको समस्या तथा अन्य कुनै रोगका कारण पनि बच्चाहरुको बोली ढिला आउने हु्न सक्छ । त्यस्तै मस्तिष्क पक्षघात पनि एउटा कारण हो ।

बोलीमा ढिलाइबाहेक बालबालिकाको वृद्धि विकास ढिलाइका अन्य कस्ता समस्याहरु देखिन्छन् ?
बच्चा पेटमै हुँदा तथा जन्मदैं गर्दा उसको दिमागमा कुनै असर परेको छ भने बच्चाका धेरै क्रियाकलापहरु ढिला हुन्छन् । उसको हिँड्ने, बस्ने, चालहरु तथा फाइन स्कील्समा यसले असर पार्दछ । सेरेब्रल पाल्सी पनि एउटा देखिइरहने समस्या हो । वौद्धिक अपांगता पनि एउटा बच्चाको विकास सम्बन्धित समस्या हो । यसले बच्चाको सम्पूर्ण विकासमा असर गर्दछ ।

जेनेटिक समस्याहरु, बच्चा जन्मँदा रोएन, निसास्सियो, समयभन्दा धेरै अगाडि बच्चा जन्मियो, जन्मिएपछि पनि मेनिन्जाइटिस, जण्डिस तथा कम सुगर लेभल पनि बच्चाको विकासलाई असर गर्न सक्छ । यसरी यी कुराहरुले पनि विकासमा असर पार्दछन् । यीबाहेक पनि बच्चाको व्यवहारले पनि हुने गर्दछ । कोही एकदमै सक्रिय हुन्छन्, यस्तोमा फोकस हुन नसक्ने, हाइपरएक्टीभ हुने तथा अन्य कुरा गरे पनि पढ्न तथा सिक्न नसक्ने आदि हुन्छ । त्यस्तै, दिसा, पिसाबको समस्याले पनि यो हुने गर्छ ।

अभिभावकले बच्चा कति उमेरको हुँदा उनीहरूको समस्या पत्ता लगाउन सक्छन् ?
बच्चाको विकासको पाँच वटा कुराहरुमा छन् । जसमा बच्चाले कुन उमेरसम्म के–के गरिसक्नुपर्छ भन्ने कुराहरु उल्लेख गरिएको छ । जस्तैः बच्चाले १८ महिनामा हिडिसक्नुपर्छ । त्यो उमेरसम्म बच्चा हिड्न थालेन भने ढिला भयो भनेर बुझ्दा हुन्छ । यस्तोमा यति समयमा यो कुरा भइसक्नुपर्छ भनेकोमा यदि बच्चाले उमेरभन्दा पछि पनि कुनै कुरा गर्ने छाँट देखाएन् भने ढिलो भएको बुझ्नुपर्छ । उललेखित हरेक कम्पोनेन्टमा कुनै न कुनै समस्या देखिइहाल्छ ।

ग्रस स्कीलहरुमा १८ महिनासम्ममा पनि बच्चा बोलेन अथवा बोलाउँदा कुनै प्रतिक्रिया दिएन, हाउभाउ दिएन, त्यस्तै बुझ्ने कुरामा हामीले यदि बच्चाको कुनै खेल्ने कुरा लुकाइदियौं तर बच्चाले खोजेन, कुनै रंग चिन्न सकेन, १५ महिनासम्म पनि हातको चालहरु देखिएनन् भने यस्ता समस्याहरु आउन सक्छन् । अभिभावकका रुपमा यी कुराहरु जानेर ढिलो भएको अवस्थामा किन ढिलो भयो भनेर जाँच गराउनुपर्छ ।

वृद्धि विकासमा देखिने यस्ता समस्याको उपचार कसरी गर्ने ?
सुरुमा यो के कारणले भएको हो भनेर जान्नुपर्दछ । जस्तैः कान सुनेको छैन, त्यही भएर बोलेको छैन भने कानको उपचार गराउनुपर्छ । कतिपय बच्चाहरुलाई औषधि दिएर पनि निको पार्न सकिन्छ । थाइराइडका कारण आएका समस्या, व्यवहारको समस्यामा औषधि दिन सकिन्छ । प्रायजसो औषधि दिएर गरिने उपचार कमै छन् । धेरैजसो बच्चाहरुमा थेरापी गरिन्छ । बच्चा बोल्न ढिलो भएको बेलामा स्पीच थेरापी गरिन्छ । बच्चालाई मस्तिष्क पक्षघात भएर हिडन् नसक्दा फिजियोथेरापी गरिन्छ । त्यस्तै, अकुप्रेसर थेरापी, विहेवियोरल थेरापी आदि गर्न सकिन्छ ।

अटिजम बालबालिका देखिने प्रमुख समस्यामध्ये एक हो ? यसका कारणहरु के–के हुन् ?
यसको विशेषतः दुई वटा कारणहरु हुन्छन् । एउटा वंशाणुगत र अर्को वातावरणीय कारण हो । परिवारमा कसैलाई ‘डाउन सिन्ड्रोम’ छ भने त्यो क्रोमोजोममै भएको कुरालाई परिवर्तन गर्न सकिँदैन र यो वंशाणुगत हुन्छ । त्यस्तै, थाइराइड, मेनिन्जाइटिस, सुगर लेवल कम, जण्डिस भयो तथा अन्य संक्रमणले दिमागलाई असर गर्‍यो भने यो वातावरणीय असरमा पर्दछ । वातावरणमा लिड्स, हेभी मेटल, आर्सनिक आदिले पनि बच्चाको विकासमा असर पार्दछ ।

अटिजम लागि गरिने थेरापीहरु कत्तिको प्रभावकारी छन् ?
यसका लागि गरिने थेरापीहरु प्रभावकारी छन् । तर, यसको नतिजा चाँडै नै देख्न भने सकिँदैन् । थेरापीका विभिन्न चरणहरु हुन्छन् । कुन पछि कुन हुन्छ भन्ने कुरालाई चरणगत रुपमा लग्दै थेरापी गरिन्छ । त्यसैले यसका लागि समय लाग्न सक्छ । यसलाई घरमा पनि राम्रोसँग गर्नुपर्ने हुन्छ ।

बच्चाहरुको वृद्धि विकासमा देखिने समस्यालाई जतिसक्दो चाँडो पहिचान गर्न सक्नुपर्छ । विकासको कुनै पनि आयाममा केही समस्या छ कि भनेर लाग्यो भने जाँच गराइहाल्नुपर्छ । जति सानो उमेरमा थेरापी गर्न सकिन्छ, त्यति नै थेरापी प्रभावकारी हुन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ