२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारएकैदिन १४ जना बिरामीको पित्तनलीको ढुंगा निकालेर हामीले नयाँ रेकर्ड कायम गर्‍यौं

एकैदिन १४ जना बिरामीको पित्तनलीको ढुंगा निकालेर हामीले नयाँ रेकर्ड कायम गर्‍यौं


डा.रोहितप्रसाद यादव बरिष्ठ ल्याप्रोस्कोपिक तथा जनरल सर्जन हुन् । बिरामीको पेटमा सानो प्वाल बनाएर दुरबिनको माध्यमबाट गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ । ल्याप्रोस्कोपी सर्जरी बिरामीका लागि वरदान सावित भएको छ । यो आधुनिक शल्यक्रिया पद्धति हो । यो पद्धति बिरामीलाई अधिक आराम र सुविधा दिने उपयुक्त माध्यम बन्न पुगेको छ । नोबेल अस्पतालका बरिष्ठ ल्याप्रोस्कोपिक तथा जनरल सर्जन डा. यादव यो सर्जरीका क्षेत्रमा अब्बल मानिन्छन् ।

नोबेलमा रहँदा डा. यादवले सबैभन्दा बढी पितथैली, पित्तको नली, एपेन्डिक्स, आन्द्राको क्यान्सर र हर्नियालगायत समस्याका बिरामीको ल्याप्रोस्कोपी विधिमार्फत शल्यक्रिया गर्दै आएका छन् । हर्नियाको ल्याप्रोस्कोपिक विधिबाट पहिलो पटक धरानमा सन् २००९ मा त्यही कार्यरत स्वास्थ्यकर्मीको सफलतापूर्वक शल्यक्रिया गरेपछि डा. यादवले यसलाई निरन्तरता दिदैं आएका छन् । ईआरसीपी विधिमार्फत पित्त नलीको ढुंगा निकाल्ने काममा पनि डा. यादव दख्खल राख्छन् । मुखबाट इण्डोस्कोप छिराएर एकैदिन १४ जना बिरामीको पित्त नलीको ढुंगा निकालेर डा. यादव नेतृत्वको टिमले नेपालमै नयाँ रेकर्ड पनि कायम गरेको छ । यिनै विषयमा केन्द्रीत रहेर डा. यादवसँग हेल्थआवाजले गरेको कुराकानीः


कहिलेदेखि ल्याप्रोस्कोपी सर्जरी गर्दै आउनुभएको छ ?

मैले १४ वर्ष अघिदेखि ल्याप्रोस्कोपिक सर्जरी गर्दै आएको छु । मैले हालसम्म हजारौं मानिसको बिरामीको यहि विधिमार्फत सफलतापूर्वक शल्यक्रिया गर्दै आइरहेको छु । सुरुमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट यो शल्यक्रिया थाले । त्यसपछि विभिन्न देशमा थप विस्तृत प्रशिक्षण लिएर अहिले त्यो सीपलाई नोबेलमा प्रयोग गर्दै आएको छु ।

चिरेर र प्वाल पारेर गरिने शल्यक्रियामा कत्तिको फरक छ ?
चिरेर र प्वाल पारेर ल्याप्रोस्कोपीबाट गरिने सर्जरीमा आकाश जमिनको फरक छ । पेट चिरेर शल्यक्रिया गर्दा दुवै हात पेट भित्र छिराउनु पर्दछ । त्यसका लागि धेरै ठूलो चिर्नु पर्दछ । त्यसले गर्दा बिरामीलाई धेरै दुखाइ हुन जान्छ । दाग पनि बस्ने र रक्तश्राव पनि धेरै हुने र घाउ निको हुन धेरै समय लाग्ने गर्दछ । तर, प्वाल पारेर ल्याप्रोस्कोपीबाट गर्दा त्यस्तो हुँदैन । कुनै ठाउँमा सानो प्वाल गरिन्छ । आज अप्रेसन गरिएको बिरामी भोलिपल्ट ठिक हुन्छन् । ती बिरामीको भोलिपल्ट अनुहार हेर्दा शल्यक्रिया भएको हो या होइन थाहै हुँदैन ।

ल्याप्रोस्कोपी सर्जरी कसरी गरिन्छ ?
यो प्रविधिमा दुर्विन र औजारका माध्यमले रोगको पहिचान तथा उपचार गर्न सकिन्छ । यसका लागि पेट फुलाउन कार्बनडाइ अक्साइड वा अन्य हावाको प्रयोग गरिन्छ भने उज्यालोका लागि प्रकाश पठाइन्छ । ग्याँस, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाँल बनाइन्छ । पेटभित्रका अंगको अप्रेशन गर्दा पेटभित्र छिराइएका क्यामरा घुमाएर सबै अंगको अवस्था हेरिन्छ । त्यसपछि अप्रेशन गर्ने अंग माथि औजारहरू छिराएर अप्रेशन गरिन्छ ।

ल्याप्रोस्कोपी प्रविधिका फाइदाहरु के—के छन् ?
यो विधिबाट शल्यक्रिया गर्दा एक सेन्टिमिटर र दुई तीन वटा आधा सेन्टिमिटरका प्वाल मात्र पार्नु पर्दछ । जसले गर्दा बिरामीलाई दुखाइ कम हुने, रगत धेरै नजाने हुँदा रगत दिन पर्ने सम्भावना अत्यन्त न्युन हुने, घाउ सानो भएकोले चाडैं निको हुनुका साथै घाउ पाक्ने सम्भावना पनि कम हुन्छ । शल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी उठेर हिंडडुल गर्न सक्ने भएकोले अस्पतालबाट चाडैं डिस्चार्ज हुन पाइने तथा छिटो भन्दा छिटो आफ्नो दैनिक कार्यमा फर्कन सकिन्छ । घाउ सानो हुन भएकोले एन्टिवायोटिक र नदुख्ने औषधि पनि कम प्रयोग गर्न सकिन्छ । शल्यक्रिया गरिसकेपछि घाउको दाग निकै कम देखिन्छ ।


अब ‘ईआरसीपी’ प्रविधिको कुरा गरौं, बिना चिरफार कसरी निकालिन्छ पित्त नलीमा भएको ढुंगा ?
मुखबाट इण्डोस्कोप छिराएर एकैदिन १४ जना बिरामीको पित्त नलीको ढुंगा निकालेर हामीले नेपालमै पहिलो नयाँ रेकर्ड कायम गरेका छौं । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्तनलीको ढुंगा सहज रुपमा निकाल्ने गरिन्छ । ढुंगालाई मुखबाटै वा आन्द्रामा लगेर छोडी दिशाको माध्यमबाट बाहिर निकाल्ने गरिन्छ । सामान्यतया पित्तनलीको ढुंगा पेट र पित्तनली दुवै चिरेर निकालिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्तनली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबाट इण्डोस्कोप छिराएर ढुंगा निकाल्दा धेरै सहज हुने गरेको छ । ईआरसीपी विधिमार्फत मुखबाट इण्डोस्कोप छिराई ढुंगालाई तानेर निकालिने हुनाले बिरामीलाई खासै असर पर्दैन । यसबाट घाउ नहुनाले बिरामी दुई दिनमै घर फर्कन सक्छन् । पित्त नलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा प्यानक्रियाजको क्यान्सर पत्ता लगाउन पनि यो विधि अत्यन्तै लाभदायी हुन्छ ।

एकैदिन १४ जना बिरामीको पित्त नलीको ढुंगा निकाल्न कसरी सम्भव भयो ?
हामीसँग दक्ष चिकित्सकको टिम छ । यो पद्धति पूर्वाञ्चलमा अन्यत्र नभएकाले बिरामीको आकर्षण नोबेलमा भयो । ईआरसीपीका लागि धेरै बिरामीहरु पर्खाइमा थिए । त्यहि क्रममा हामीले एकै दिनमा हालसम्मकै सबैभन्दा ठूलो संख्यामा १४ जनाको ईआरसीपी गरेका हौं ।


तपाई प्रदेशन नंं. १ को शल्यचिकित्सक समाजको अध्यक्षमा पनि निर्वाचित हुनुभएको छ । कार्ययोजना के छ ?

प्रदेश नं. १ मा पहिलो पटक शल्यचिकित्सक समाज गठन भएको हो । यसको मुख्य उद्धेश्य आ–आफ्नो शल्यचिकित्सकीय अनुभव साटासाट गर्ने, चिकित्सकहरुको शल्यक्रिया सम्बन्धि क्षमता अभिवृद्धि गर्ने र आपसी भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउने हो ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार, प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ