२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकलेजो यसको नाम, जानौं यसका काम

कलेजो यसको नाम, जानौं यसका काम


कलेजो हाम्रो शरीरभित्र रहेको सबैभन्दा ठूलो अंग हो । पाचन प्रणालीसँग प्रमुख रुपमा सम्बन्धित भएतापनि यसको अनेकौं महत्वपूर्ण कार्यहरु हुन्छन् । संसारमा स्वास्थ्यसँग सम्बन्धित अनेक कुराहरु कृत्रिम रुपमा विकास गरिएका छन् । तर, हालसम्म पनि कलेजोको सम्पूर्ण कामहरु गर्न, कलेजोको सट्टामा प्रयोग गर्न सकिने कुनै पनि आधुनिक मेसिन वा पद्धतिको विकास हुन सकेको छैन ।

रक्सी सेवन, हेपाटाइटिसको संक्रमण, कलेजोमा अत्याधिक बोसोपनलगायत अन्य विविध कारणहरुले कलेजोलाई असर गर्न सक्छ । र, विस्तारै यसले गर्ने काममा बाधा पुग्न गई यसको कार्यदक्षता कम हुन जान्छ । यसको विभिन्न असरहरु शरीरमा देखिन थाल्छ । जसलाई हामीले ‘कलेजो फेल’ भएको भन्ने अवस्था बुझ्छौं । समयमा नै ध्यान नपुर्‍याउँदा तथा सही उपचारमा ध्यान नदिँदा अन्त्यमा कलेजो नै फेर्नुपर्ने अवस्था यानेकी कलेजो प्रत्यारोपणसमेत गर्नुपर्ने अवस्था आउँछ । कलेजो प्रत्यारोपण गर्न नसकेको खण्डमा बिरामीहरुले आफ्नो ज्यानै गुमाउनुपर्ने हुन्छ ।

कलेजोले राम्रो काम नगरेको खण्डमा बिरामीलाई बारम्बार अस्पतालमा भर्ना गर्नुपर्ने, महँगा औषधिहरु दिनुपर्ने लामो समयसम्म सघन उपचार कक्ष (आईसीयु) मा राखी उपचार गर्नुपर्ने भएकोले बिरामीलाई मात्र नभई सिंगो परिवारलाई नै आर्थिक तथा सामाजिक संकटहरुबाट गुज्रिनुपर्ने हुन्छ । कलेजोले हाम्रो शरीरका निम्ति अनगिन्ती कामहरु गर्छ । तर, तीमध्ये केही महत्वपूर्ण जान्नैपर्ने कामहरुको तल हामी छलफल गर्छौं ।

कलेजोले हाम्रो शरीरमा गर्ने काम

पाचन प्रणालीसँग सम्बन्धित महत्वपूर्ण काम एक हो । कलेजोले पित्त बनाउने गर्छ । कलेजोले हरेक दिन एउटा व्यक्तिमा औसत ५०० मि.लि. देखि १ लिटरसम्म पित्त बनाउने गर्छ । यसरी बनेको पित्त कलेजोबाट पित्तनली भएर सानो आन्द्रामा जान्छ । यसरी बनेको पित्तको केही अंश हाम्रो पित्तथैलीमा पनि गएर जम्मा भएर बस्छ र जब हामीले जुन बेला चिल्लो प्रकारको खाना खान्छौं, पित्तथैलीले उक्त पित्तलाई पित्तनलीको बाटो हुँदै आन्द्रामा पुर्‍याउँछ । यसरी सानो आन्द्रामा पुगेको पित्तले हामीले खाएको खाना मुख्यगरी चिल्लो पदार्थहरुलाई टुक्रयाएर सजिलै आन्द्राबाट अवशोषण गरी रगतमा पुर्‍याउने गर्दछ ।

खानाबाहेक पनि अन्य महत्वपूर्ण तत्वहरु जस्तैः विभिन्न प्रकारको भिटामिनहरु, जुन हाम्रो शरीरको रगत संचालन तथा रोकथामसँग सम्बन्धि प्रणाली (‘क्वागुलेसन सिस्टम’)लाई नभइ हुँदैन् । सानो आन्द्राबाट यस्ता महत्वपूर्ण कुराहरुको अवशोषणको मुख्य भूमिकाबाहेक पनि पित्तको माध्यमबाट कलेजोले शरीरमा नचाहिने विभिन्न किसिमका हानीकारक तत्वहरु पनि फ्याक्ने गर्छ ।

यस्तै, हाम्रो पाचन प्रणालीमा आमाशयले एसिड प्रोडक्सन गर्छ । यो एसिड सानो आन्द्रामा त्यस्तै रुपमा गएमा यसले शरीरलाई नराम्रो गरी हानी गर्न सक्छ । त्यसैले यसबाट बच्न पित्तमा भएको जुन ‘अल्कलाई नेचर’ हुन्छ, त्यसले सानो आन्द्रामा हुन सक्ने ‘एसिडिक पिएच’ जुन आमाशयबाट बनेर आउँछ, त्यसलाई न्यूनीकरण गर्दिन्छ र एसिडको हानीकारक असरबाट जोगाउँछ ।

पित्त बन्ने र राम्ररी पित्त हुँदै बग्ने गरेमा पित्तथैली वा नलीमा बन्न सक्ने पत्थरीबाट पनि यसले बचाउन सक्छ । यदि पित्त बन्ने र पित्त नलीबाट बग्ने प्रक्रियामा केही बाधा भयो भने पित्त थैली वा पित्त नलीमा पत्थरी बन्न सक्छन् । साथसाथै सानो आन्द्रामा आवश्यक मात्रामा पित्त आइरह्यो भने शरीरमा हुन सक्ने विभिन्न किसिमका संक्रमणहरुबाट बच्नसमेत यसले सहयोग गर्छ । यसरी कलेजोमा पित्त उत्पादन हुँदा शरीरलाई फाइदा हुन्छ ।

कलेजोले शरीरलाई चाहिने विभिन्न किसिमका महत्वपूर्ण प्रोटिनहरु जस्तैः अल्बुमीन बनाउने गर्छ । अल्बुमीन हाम्रो शरीरमा नभइ नहुने एक प्रकारको प्रोटिन हो, जसले रगत नसाबाट तरल पदार्थ बाहिर चुहिन दिइदैंन् । साथसाथै, अल्बुमीन भन्ने यो प्रोटिनले हाम्रो शरीरमा विभिन्न किसिमको भिटामिन, हर्मोन र इन्जाइमहरुलाई रगतको माध्यम हुँदै शरीरका विभिन्न अंगहरुमा पुर्‍याउँछ । शरीरमा अल्बुमीनको कमी भएमा शरीरमा रक्त नसाहरुबाहेक अरु ठाउँमा पानीको मात्रा बढ्न जान्छ र रगतका नसाबाट पानी चुहिएर शरीर भागहरु अनुहार, खुट्टालगायतमा सुन्निएको जस्तो देखिन्छ ।

कलेजो रोग लागेर जटिल अवस्थामा पुगेका बिरामीहरुमा शरीर तथा अनुहार सुन्निएको हामीले देखेका छौं । यस्तो किसिमको अनुहार सुन्निने, शरीर फुल्ने अवस्था कलेजोबाहेकका अरु रोगहरु जस्तै मुटुका रोगका बिरामी, मिर्गौला रोगका बिरामीहरुमा पनि देखिन सक्छ । यसबाहेक शरीरको जुन संक्रमण प्रतिरोधात्मक प्रोटिनहरु भन्छौं, ती प्रोटिनहरु पनि कलेजोले बनाउने गर्छ । यो प्रोटिन जुन हाम्रो इम्युनिटी सिस्टमका लागि अपरिहार्य हुन्छन् । यसको कमी भयो भने शरीरमा छिटो—छिटो संक्रमण हुन सक्ने अवस्था हुन्छ ।

यसैगरी, पित्तको सहयोगले सानो आन्द्रा हुँदै भिटामिन ‘के’लगायत अन्य भिटामिनहरु पनि अवशोषण हुन्छन् । त्यसमध्ये भिटामिन ‘के’को सहयोगले कलेजोले अन्य विभिन्न प्रकारको तत्वहरु बनाउँछ, जसले हाम्रो शरीरको ‘क्वागुलेसन सिस्टम’लाई मेन्टेन गरेर राखेको हुन्छ । यो तत्वको कमी भएमा शरीरको विभिन्न भागबाट रगत बग्न सक्ने परिस्थिती हुन्छ । त्यसलाई शरीरल रोक्न सक्दैन् । जस्तोः सानोतिनो काटिएको ठाउँ, चोटपटक लागेको ठाउँमा सजिलै रगतहरु बग्न सक्छ, डामहरु बस्न सक्छ । सामान्यतयाः शरीरमा रगत बग्यो, त्यो नरोकिन सक्छ । निलडामहरु धेरै देखिन सक्छ । यी कारणले कहिलेकाहीँ बिरामीहरु जटिल अवस्थामा पुग्छन् ।

त्योबाहेक कलेजोले अन्य विभिन्न किसिमको भिटामिनहरु, मिनिरल्सहरु जस्तैः आइरन, कप्परहरु सबै कलेजोमा जम्मा गरेर राखेको हुन्छ । र, आवश्यक परेको खण्डमा शरीरलाई यी सबै तत्वहरु कलेजोले उपलब्ध गराउँछ । त्यस्तै, हाम्रो शरीरमा भएको ग्लुकोज (जुन अत्याधिक मात्रामा हुन्छ) त्यसलाई कलेजोले ग्लाइकोजेनको रुपमा स्टोर गरेर राखेको हुन्छ र जुनबेला आवश्यक पर्छ त्यहीबेला प्रयोग गर्न मिल्ने ग्लूकोजका रुपमा यसलाई परिवर्तन गरिदिन्छ । जस्तोः हामी धेरैबेरसम्म खाली पेट बस्यौं, धेरै बेरसम्म खाएनौं भने त्यस्तो बेलामा त्यो ग्लाइकोजेनलाई फेरि कलेजोले ग्लुकोजमा परिवर्तन गरी फेरि रगतमा पठाइदिन्छ र रगतको माध्यमबाट शरीरका विभिन्न अंगमा पुर्‍याउँछ । पुनः शरीरको अन्य भागहरुमा पुगेर शरीरको कोषहरुले प्रयोग गर्न पाउँछन् ।

शरीरको पूरै रगत विभिन्न रगतका नसाहरुको माध्यमबाट कलेजोमा जान्छ । कलेजोमा गई पुनः शरीरको अंग—अंगहरुमा त्यो रगत जान्छ । यसरी कलेजोमा आइपुग्ने रगतमा विभिन्न किसिमको हानीकारक तत्वहरु हुन्छन् । ती तत्वहरुलाई कलेजोले मेटाबोलाइज गर्छ । त्यसलाई पुनः रगतमा पठाइदिन्छ । रगतको माध्यम हुँदै केही तत्वहरुलाई हाम्रो किड्नीले पिसाबको बाटो हुँदै शरीरबाट बाहिर फाल्दिन्छ । अघि भनेजस्तै केही तत्वहरुलाई शरीरबाट पित्तको माध्यमबाट आन्द्रामा पुर्‍याएर बाहिर फालिदिन्छ । यसरी कलेजोले हाम्रो शरीरलाई हानी गर्न सक्ने विभिन्न किसिमका तत्वहरुबाट बचाएर राख्नलाई मद्दत पुर्‍याउँछ ।

यसरी कलेजोले हाम्रो शरीरमा विभिन्न महत्वपूर्ण कामहरु गर्ने गर्दछ । कुनै पनि कारणले कलेजोमा हानी पुग्न गएमा यसले गर्ने काममा असर गर्दछ र त्यसका असर शरीरको विभिन्न अंगहरुमा विभिन्न लक्षणहरुको रुपमा देखा पर्ने गर्छ । यी विभिन्न लक्षणहरुको आधारमा तथा कलेजोको लागि गरिने विभिन्न जाँचहरुबाट कलेजोको समस्या भएको वा नभएको र कलेजोको समस्या भएमा कस्तो समस्या वा प्रकृतिको रोग लागेका हुन् भन्ने कुरा हामी चिकित्सकहरुले पत्ता लगाउने गर्छौ ।

शरीरमा एल्बुमीन भन्ने प्रोटिनको कमी भएमा अनुहार सुनिने, हातखुट्टाहरु सुनिने हुन सक्छ । रोग प्रतिरोधात्मक प्रोटिनको कमी भएमा शरीरमा बारम्बार संक्रमण हुन सक्छ । कलेजोले शरीरमा पित्त बनाउने काममा बाधा पुगेमा आँखामा तथा शरीरको विभिन्न भागहरुमा जन्डिस भएर पहेलो देखिन थाल्छ । यस्तै, पाचन प्रणालीमा समेत समस्या हुने गर्छ । त्योबाहेक शरीरमा अघि भनेको जस्तै रगतका निला डामहरु हुन सक्ने, काटेको, चोटपटक लागेको ठाउँबाट रगत बगेमा सजिलै रगत नरोकिने अवस्थाहरु आउन सक्छ । शरीरका खराब तत्वहरु शरीरमा मेटोबलाइज भइदिएन भने बिरामीहरु बेहोससमेत हुन सक्छन् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ