२०८१ असार ३०, आईतबार
Health Aawaj logo

कलेजोको पत्थरी

कलेजोको पत्थरीका कारण, असर र उपचार पद्धति


हामी सबैले मिर्गौलाको पत्थरी, पित्तथैलीको पत्थरी वा पित्तनलीमा बन्ने पत्थरीका बारेमा धेरै सुनेका हुन्छौं । तर, कलेजोको पत्थरीको बारेमा भने धेरैले नसुनेको र धेरै जानकारी नभएको देखिन्छ । यी माथि बताइएका अंगहरुमा हुने पत्थरी भएजस्तो त्यति धेरै सम्भावना कलेजोमा नहुने भएतापनि हामी कलेजोसँग सम्बन्धित चिकित्सकहरुकोमा हाम्रो देशमा पनि कलेजोमा पत्थरी भएका बिरामीहरु उपचार गर्न आइ नै रहेका देख्छौं । यस जानकारीमूलक लेखमा कलेजोको पत्थरीसँग सम्बन्धित विविध विषयवस्तुमा विस्तृत रुपमा चर्चा गरिएको छ ।

कलेजोको पत्थरी भन्नाले के बुझिन्छ ?

हाम्रो कलेजोमा बनेको पित्त (Bile) कलेजोभित्र रहेका साना—साना नली हुँदै कलेजो बाहिरका दायाँ—बायाँका हाम्रा ठूला पित्तनलीमा पुग्छ र उक्त दायाँ—बायाँ भागका ठूला पित्तनली एकआपसमा मिसिएर एक ठूलो पित्तनली बन्छ । सो ठूलो पित्तनलीले पित्तलाई सानो आन्द्रामा पु¥याउने गर्छ । कलेजो भित्र नै हुने साना नलीहरुमा जुन पत्थरी बन्न जान्छन्, त्यसैलाई हामीले कलेजोको पत्थरी भन्ने गर्दछौं ।

विभिन्न किसिमका परीक्षण गर्दा यी कलेजोभित्रका साना नलीमा बनेका पत्थरी कलेजोभित्र बनेको जस्तो देखिन्छ । यसकारण यस अवस्थालाई हामीले कलेजोको पत्थरी भनेर भन्ने गर्छौ । यसरी कलेजोभित्र बन्ने भएकाले हामीले पत्थरी बनेको कलेजोको भागअनुसार दायाँ वा बायाँ कलेजो वा पूरै कलेजोको पत्थरी भनेर बुझ्ने गर्छौ ।

किन हुन्छ कलेजोको पत्थरी ?

कलेजोको पत्थरी बन्न सक्ने विभिन्न कारणहरु हुन सक्छन् । तर, धेरैजसो हामी कहाँ आउने बिरामीहरुमा कलेजोको पत्थरी बन्ने कारण ठम्याउन गाह्रो हुन्छ । कलेजोमा पत्थरी बनाउन सक्ने प्रमुख कारणहरुमध्ये कलेजो अथवा पित्तनलीमा हुन सक्ने विभिन्न प्रकारका संक्रमणहरु हुन् । यस्ता संक्रमणहरु धेरैजसो विभिन्न प्रकारका ब्याक्टेरियाका कारणले हुने गर्दछन् ।

यसप्रकारका संक्रमणले कलेजोको पित्त जसमा रहेको बिलिरुविन (Bilirubin) लाई टुक्राइ दिन्छ । यसरी टुक्रिएको बिलिरुबिन पित्तमा नै भएको क्याल्सियम (Calcium) सँग मिसिन गई कलेजोका नलीहरुमा पत्थरी बन्न जान्छ । संक्रमणबाहेक केही केहीमा खानपिनसँग सम्बन्धित कारण जस्तैः खानामा अत्याधिक कार्बोहाइड्रेड तर फ्याट र प्रोटिनको कमी भयो भनेपनि पत्थरी बन्न सक्छ ।

कलेजोमा पत्थरी भएमा के कस्ता लक्षणहरु हुन्छन् ?

कलेजोमा पत्थरी देखिदैंमा त्यसले केही समस्या दिन नै हाल्छ भन्ने हुँदैन् । केही—केही बिरामीहरुमा कलेजोको पत्थरीले केही पनि समस्या सिर्जना नगरी शान्त भएर बस्न सक्छन् र यस्ता बिरामीहरु प्रायःजसो अन्य केही रोगहरुको जाँच पडताल गर्ने क्रममा कलेजोमा पनि पत्थरी रहेको कुरा पत्ता लाग्छ सक्छ । तर, यस्ता शान्त रहेका कलेजोका पत्थरीले भविष्यमा कुनै पनि बेला समस्या दिन सक्ने सम्भावना भने सधैं रहिरहन्छ ।

सबैभन्दा धेरै कलेजोका पत्थरीका बिरामीहरुमा देखिन सक्ने समस्या भने पेटको दायाँपट्टीको माथिल्लो भागमा हुने दुखाइ हो । यो दुखाइ सामान्य दुखाइदेखि अत्याधिक दुखाइ हुन सक्ने र बारम्बार लामो समयसम्म दुखिरहने हुन सक्छ । कहिलेकाही पत्थरी रहेको कलेजोको भागमा संक्रमण हुन गई जटिल खालको समस्या पनि दिन सक्छ । जसका कारणले बिरामीलाई तुरुन्त अस्पताल भर्ना गराइ जटिल खालको उपचार गराउनुपर्ने हुन सक्छ ।

कलेजोको पत्थरीका साथै पित्तनलीमा पनि पत्थरी भएमा बिरामीमा जण्डिसका लक्षणहरु समेत देखिन सक्छन् । लामो समयसम्म कलेजोको पत्थरी रहि रहेमा त्यसले एकप्रकारको कलेजोको क्यान्सरसमेत बनाउन सम्भावना रहन्छ । साथै, थोरै प्रतिशत बिरामीहरुमा लामो समयपछि कलेजो पूरै काम नलाग्ने हुन गई कलेजो फेलियर समेत हुन सक्छ ।

कलेजोको पत्थरी कसरी पत्ता लगाउन सकिन्छ ?

माथि भनिएजस्तै कुनै—कुनै बिरामीहरुमा कलेजोका पत्थरीको कारणले समस्या नभएको तर अन्य विभिन्न कारणले जाँच पड्ताल गर्ने क्रममा कलेजोको पत्थरी देखिन सक्छ । कलेजोमा पत्थरी भएको र यसले समस्या दिएको खण्डमा समेत हामी चिकित्सकहरुले कलेजोको पत्थरी भनेर सुरुमा नै शंका गर्दैनौं ।

धेरैजसो अवस्थामा माथिल्लो पेट दुःखेका, ज्वरो आएको र साथसाथै जण्डिसका लक्षण भएका बिरामीहरुमा रगतको जाँचका साथै सुरुवाती अवस्थामा नै पेटको भिडियो एक्स—रे अर्थात अल्ट्रासाउण्ड गर्ने गरिन्छ । प्रायजसो कलेजोको पत्थरी सजिलैसँग पेटको अल्ट्रासाउण्डमा देख्न सकिन्छ । तर, कलेजोको पत्थरीको विस्तृत जानकारी जस्तैः कलेजोको कुन भागमा पत्थरी छ, कति वटा छ, कुन—कुन अवस्थामा छ, यसले कलेजोमा कस्तो अवसर गरेको छ, संक्रमणको शंका छ कि छैन र साथै उपचार गर्नु परेको खण्डमा के कस्तो खालको उपचारको आवश्यकता पर्छ भन्ने कुराको जानकारी पाउनका लागि भने पेटको सिटी स्क्यान र साथै एमआरआई÷एमआरसीपी समेत गर्नुपर्ने हुन्छ ।

रगतको परीक्षणबाट कलेजोको पत्थरीको कारणले कलेजोमा के कस्तो असर गरेको छ, संक्रमण छ कि छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ । यिनै जाँच पड्तालबाट पत्थरीको कारणले क्यान्सरसमेत भए—नभएको कुरा विस्तृत रुपमा जानकारी लिन सकिन्छ ।

कलेजोको पत्थरी उपचार कसरी गरिन्छ ?

कलेजोको पत्थरीका निम्ति धेरै उपचार पद्धति भएतापनि यो एक झन्झटिलो अवस्था हो । एकै पटक एउटै मात्र उपचार पद्धतिले कलेजोको पत्थरीबाट छुटकारा पाउन गाह्रो हुन सक्छ । एउटै बिरामीलाई कहिलेकाही शल्यक्रिया, इन्टरभेन्सनल रेडियोलोजी वा इन्डोस्कोपी पद्धतिको जरुरी पर्न सक्छ । कलेजोको दायाँ वा बायाँ पट्टीमात्र पत्थरी बनेको र यसको कारणले कलेजोको उक्त भागमा असर गरेको छ भने त्यस्तो अवस्थामा कलेजोको उक्त भागलाई शल्यक्रिया गरी काटेर फाल्न सकिन्छ । तर, यसका निम्ति कलेजोको जटिल शल्यक्रिया गर्नुपर्ने हुन्छ । पुनः बाँकी रहेको भागमा पत्थरी हुन सक्ने सम्भावना सधैं रहिरहन सक्छ, जसका निम्ति बिरामीले चिकित्सकको निगरानीमा लामो समयसम्म ररिरहनुपर्ने हुन्छ ।

शल्यक्रिया गर्न नमिलेको खण्डमा भने इन्टरभेन्सनल रेडियोलोजिष्टहरु पेटको अल्ट्रासाउण्डको मद्धतले विभिन्न किसिमका तारजस्ता औजारहरुले कलेजोलाई छेडी पत्थरी फुटाउने, झिक्ने वा तल पित्तनलीमा धकेलिदिने गर्न सक्छन् । शल्यक्रियामा जस्तो चिरफार गर्न नपरेपनि यो एक किसिमको जटिल प्रक्रिया हो । र, यसप्रकारको उपचारमा तालिम लिएका इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले मात्र यो उपचार विधि पूरा गर्न सक्छन् । साथै, यस्ता विधिहरु एक पटकले मात्रै नपुगी बारम्बार गर्नुपर्ने हुन्छ, जसका कारणले बिरामीको खर्च बढ्नुका साथै बिरामीलाई झन्झट हुने र यस विधिसँग हुने खतरा जस्तैः कलेजोबाट अत्याधिक रक्तस्राव हुने सक्ने सम्भावना बढ्दैं जान्छ । हुनत यस प्रकारको विशेष
तालिम पाएका चिकित्सकले यो उपचार विधि प्रवाह गर्दा यस्ता किसिमका खतराहरु न्यून रुपमा मात्र हुन्छन् ।

साथै, कतै—कतै कुनै ठूला अस्पतालहरुमा इन्डोस्कोपीको मद्धतले पनि कलेजोको पत्थरी फुटाउने वा झिक्ने गर्न सकिन्छ तर यो पनि विशेष किसिमको इण्डोस्कोपी र विशेष तालिम प्राप्त इण्डोस्कोपी गर्ने चिकित्सकले मात्र गर्न सक्छन् । कहिलेकाही कुनै—कुनै बिरामीलाई यी सबै उपचार पद्धतिको पनि जरुरत पर्न सक्छ । दुर्भाग्यवस यस्तो अवस्थामा खाने औषधीको रुपमा भने कुनै पनि औषधीको विकास भएको छैन । तर, कहिलेकाही कलेजोको पत्थरीसँगसँगै संक्रमण भएको अवस्थामा भने हामी संक्रमणका निम्ति विभिन्न प्रकारका एन्टीबायोटिकलगायतका औषधी दिने गर्छौ ।

कलेजोको पत्थरी एकै पटक, एकै पद्धतिले ठीक पार्न नसकिने र निर्मुल पारेको खण्डमा फेरि पनि हुन सक्ने भएकोले यस्ता बिरामीहरुले लामो समयसम्म चिकित्सकको निगरानीमा रहनुपर्ने हुन्छ । चिकित्सकहरुले यस्ता बिरामीहरुलाई समय—समयमा परीक्षणका निम्ति फ्लोअपमा बोलाउने गर्छन् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #कलेजो तथा ग्यास्ट्रो सर्जन त्रिवि शिक्षण अस्पताल, #प्रा.डा. रमेश सिंह भण्डारी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ