१. पृष्ठभूमि र वर्तमान अवस्था
विगत केही दशकयता नेपालमा संक्रामक रोगहरूको तुलनामा नसर्ने रोगहरू जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतीका रूपमा देखा परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हुने कुल मृत्युको झन्डै ७१ प्रतिशत हिस्सा नसर्ने रोगहरूका कारण हुने गरेको छ ।
सहरीकरण, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, सूर्तिजन्य तथा मदिराजन्य पदार्थको अत्यधिक सेवन र मानसिक तनावका कारण यी रोगहरू तीव्र गतिमा बढिरहेका छन् ।
नसर्ने रोगहरूको समयमै पहिचान हुन नसक्दा यसले बिरामीको स्वास्थ्यमा गम्भीर क्षति पुर्याउनुका साथै परिवार र राज्यमाथि ठूलो आर्थिक भार थपिरहेको छ । यस्तो अवस्थामा रोगको प्रारम्भिक चरणमै सही पहिचान (Early Detection) गर्न र उपचारलाई प्रभावकारी बनाउन प्रयोगशाला निदान (Laboratory Diagnosis) को भूमिका अपरिहार्य र निर्णायक हुन्छ ।
२. नेपालमा देखिने प्रमुख नसर्ने रोगहरू र तिनको प्रयोगशाला निदान
क. मधुमेह (Diabetes Mellitus)
मधुमेह नेपालको सहरी तथा ग्रामीण क्षेत्रमा महामारीकै रूपमा फैलिरहेको छ । विशेष गरी ‘टाइप २’ मधुमेहका बिरामीहरूको संख्या अत्यधिक छ । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार मधुमेह प्रमाणित गर्न रगतमा चिनीको मात्रा जाँच्ने मुख्य परीक्षणका प्रकार र मापदण्डहरू यसप्रकार छन्:
- खाली पेटको जाँच (Fasting): कम्तीमा ८ घण्टा केही नखाई गरिएको परीक्षणमा १२६ mg/dL वा सोभन्दा बढी (सामान्य अवस्थामा ११० mg/dL भन्दा कम) ।
- ग्लुकोज खाएपछिको जाँच (OGTT): ७५ ग्राम ग्लुकोज पानी पिएको २ घण्टापछि २०० mg/dL वा सोभन्दा बढी (सामान्यतया १४० mg/dL भन्दा कम) ।
- जुनसुकै समयको रिपोर्ट (Random Glucose): मधुमेहका लक्षणहरू सहित ११.१ mmol/L (२०० mg/dL) वा सोभन्दा बढी ।
- तीन महिनाको औसत जाँच (HbA1c): विगत ३ महिनाको औसत चिनीको मात्रा ६.५% वा सोभन्दा बढी ।
अत्यधिक तिर्खा लाग्ने, धेरै पिसाब लाग्ने वा अचानक तौल घट्नेजस्ता स्पष्ट लक्षणहरू भएमा एउटै रिपोर्टले मधुमेह प्रमाणित हुन्छ । तर, कुनै पनि लक्षण नभएको अवस्थामा रोग निश्चित गर्न अर्को छुट्टै दिन फेरि परीक्षण (Repeat Test) गर्नुपर्छ ।
ख. मुटु तथा रक्तनली सम्बन्धी रोग (Cardiovascular Diseases – CVD)
नेपालमा हृदयाघात (Heart Attack) र उच्च रक्तचापका कारण अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो छ। मुटुरोगको जोखिम र हृदयको अवस्था बुझ्न प्रयोगशालामा निम्न परीक्षणहरू आवश्यक पर्छन्:
- लिपिड प्रोफाइल (Lipid Profile): यस अन्तर्गत टोटल कोलेस्ट्रोल (Total Cholesterol), ट्राइग्लिसराइड्स (Triglycerides), एचडीएल (HDL)र एलडीएल (LDL) जस्ता परिक्षणहरु गरेर रगतमा बोसोको मात्रा जाँचिन्छ ।
- कार्डियक बायोमार्कर्स (Cardiac Biomarkers): हृदयाघात भएको आशंका भएमा आपतकालीन अवस्थामा ट्रोपोनिन (Troponin I/T ) र सीके-एमबी (CK-MB) जस्ता परीक्षणहरु गरिन्छन् ।
ग. मिर्गौला सम्बन्धी पुराना रोग (Chronic Kidney Disease – CKD)
मधुमेह र उच्च रक्तचापको उचित उपचार नहुँदा त्यसको सीधा असर मिर्गौलामा पर्छ । नेपालमा मिर्गौला फेल हुने बिरामीहरूको संख्या दिनानुदिन बढिरहेको छ । मिर्गौलाको स्वास्थ्य जाँच्न रगत र पिसाबका यी तीन मुख्य परीक्षण गरिन्छन्: क्रिएटिनिन र युरिया, ईजीएफआर (eGFR), र पिसाबको नियमित जाँच ।
घ. क्यान्सर (Cancer)
नेपालमा फोक्सो, पाठेघरको मुख (Cervical), स्तन, र पेटको क्यान्सरका बिरामीहरू धेरै छन् । क्यान्सरको प्रयोगशाला निदान अलि जटिल र विशिष्ट प्रकारको हुन्छ। पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन ‘प्याप स्मियर’ जाँच गरिन्छ, मासुको टुक्रा परीक्षण गर्न ‘बायोप्सी’ गरिन्छ, रगतमा प्रोटिन जाँच गर्न ‘ट्युमर मार्कर्स’ प्रयोग हुन्छ र रक्त क्यान्सरका लागि ‘फ्लो साइटोमेट्री’ गरिन्छ ।
ङ. श्वासप्रश्वास सम्बन्धी पुराना रोग (COPD)
वायु प्रदूषण र धुम्रपानका कारण नेपालमा दम (COPD) को समस्या अत्यधिक छ। यद्यपि यसको मुख्य निदान ‘स्पाइरोमेट्री’ (फुक्ने जाँच) बाट हुन्छ, तर प्रयोगशालामा आर्टेरियल ब्लड ग्यास (ABG) विश्लेषण गरेर रगतमा अक्सिजन र कार्बनडाइअक्साइडको मात्रा हेरिन्छ, जसले बिरामीको गम्भीरता दर्शाउँछ।
३. प्रयोगशाला निदानका आधुनिक प्रविधिहरू
नेपालका प्रमुख प्रयोगशालाहरूमा अहिले स्वचालित (Automated) मेसिनहरूको प्रयोग बढेको छ।
- बायोकेमेस्ट्री एनालाइजर: यसले थोरै समयमा सयौं बिरामीको सुगर, कलेजो र मिर्गौलाको जाँच अचुक रूपमा गर्छ।
- केमिलुमिनेसेन्स इम्युनोएसे (CLIA): हर्मोन, क्यान्सर मार्कर र भिटामिनहरूको अति सूक्ष्म मात्रा पनि यस प्रविधिबाट सही रूपमा मापन गर्न सकिन्छ।
- मोलिकुलर डायग्नोस्टिक्स (PCR र NGS): क्यान्सर गराउने भाइरस (जस्तै HPV) र आनुवंशिक (Genetic) उत्परिवर्तन पत्ता लगाउन यो प्रविधि प्रयोग हुन थालेको छ।
४. नेपालमा प्रयोगशाला निदानका चुनौतीहरू
नेपालमा प्रयोगशाला सेवाको विकास तीव्र गतिमा भए पनि नसर्ने रोगको भारका सामु धेरै चुनौतीहरू विद्यमान छन्:
- भौगोलिक विकटता र असमान वितरण: आधुनिक र सुविधायुक्त प्रयोगशालाहरू काठमाडौं उपत्यका र ठूला सहरहरूमा मात्र केन्द्रित छन्। ग्रामीण क्षेत्रका विपन्न नागरिकहरू अझै पनि सामान्य रगत जाँचका लागिसमेत टाढा धाउनुपर्ने बाध्यता छ ।
- गुणस्तर नियन्त्रणको अभाव: सबै प्रयोगशालाहरूमा ‘बाह्य गुणस्तर मूल्यांकन’ (EQAS) र नियमित क्यालिब्रेसन नहुँदा कतिपय अवस्थामा रिपोर्टको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ ।
- दक्ष जनशक्तिको कमी: अत्याधुनिक मेसिनहरू चलाउने र क्यान्सर जस्ता जटिल रोगको रिपोर्टिङ गर्ने विशेषज्ञ (ल्याब टेक्नोलोजिस्ट र प्याथोलोजिस्ट) हरूको राजधानी भन्दा बाहिर ठूलो अभाव छ ।
- उच्च लागत: नसर्ने रोगका कतिपय विशिष्ट परीक्षणहरू (जस्तै क्यान्सर मार्कर, हार्मोन र इम्युनोलोजी प्यानल) निकै महँगा छन्, जुन आम नेपालीको आर्थिक पहुँच बाहिर छ ।
- रिएजेन्ट र उपकरणको आपूर्तिमा बाधा: दुर्गम क्षेत्रमा तापक्रम नियन्त्रण (Cold Chain) गरेर केमिकलहरू ढुवानी गर्न र मेसिन बिग्रिएमा समयमा मर्मत गर्न कठिन छ ।
५. समाधानका उपाय र सरकारी प्रयासहरू
नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि ‘पेन प्याकेज’ (Package of Essential Non-communicable Diseases – PEN) लागू गरेको छ ।
यसअन्तर्गत स्थानीय स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा आधारभूत नसर्ने रोगका प्रयोगशाला परीक्षणहरू (जस्तै सुगर र पिसाब परीक्षण) निःशुल्क उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
यसलाई थप प्रभावकारी बनाउन निम्न कदमहरू चाल्न आवश्यक छ:
- हब एण्ड स्पोक मोडल (Hub and Spoke Model): गाउँका स्वास्थ्य संस्थामा नमूना (Sample) संकलन गर्ने र त्यसलाई ओसारपसार गरी प्रादेशिक वा केन्द्रीय प्रयोगशालामा परीक्षण गर्ने प्रणाली विकास गरिनुपर्छ ।
- सस्तो र सुलभ बिमा: स्वास्थ्य बिमा कार्यक्रम मार्फत नसर्ने रोगका सम्पूर्ण झन्झटिला र महँगा प्रयोगशाला परीक्षणहरूलाई समेटिनुपर्छ ।
- नियमित स्क्रिनिङ क्याम्प: स्थानीय सरकारहरूले वर्षमा कम्तीमा एक पटक ४० वर्ष माथिका नागरिकका लागि लिपिड प्रोफाइल, सुगर र मिर्गौलाको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्नुपर्छ ।
- जनचेतना अभिवृद्धि: प्रयोगशाला परीक्षण रोग लागेपछि मात्र गर्ने नभई, रोग लाग्नु अगावै स्वस्थ छँदै ‘होल बडी चेकअप’ का रूपमा गर्नुपर्छ भन्ने चेतना फैलाउनु आवश्यक छ ।
६. निष्कर्ष
नेपालमा नसर्ने रोगहरू मौन हत्यारा (Silent Killer) का रूपमा देखा परिरहेका छन् । प्रारम्भिक अवस्थामा लक्षण नदेखिने भएकाले धेरै बिरामीहरू अंगहरू निकम्मा भइसकेपछि मात्र अस्पताल पुग्ने गरेका छन् । यस जटिल परिस्थितिलाई बदल्न प्रयोगशाला निदान नै पहिलो बलियो हतियार हो ।
प्रविधिको आधुनिकीकरण, गुणस्तरीय सेवाको विकेन्द्रीकरण र जनचेतनाको विस्तार गरेर मात्र हामीले नसर्ने रोगहरूबाट हुने अकाल मृत्युलाई रोक्न र स्वस्थ नेपालको निर्माण गर्न सक्छौं ।
(ओझा प्रदेश जनस्वास्थ्य प्रयोगशाला ,सुदूरपश्चिम प्रदेशमा ल्याब टेक्निसियन निरीक्षक पदमा कार्यरत छन्। )