२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘ल्याप्रोस्कोपीक उपचार प्रविधिलाई विश्वभरि नै एकदमै राम्रो मानिन्छ’

‘ल्याप्रोस्कोपीक उपचार प्रविधिलाई विश्वभरि नै एकदमै राम्रो मानिन्छ’


डा. रंगीना लाइकङबन पेशाले स्त्रीरोग विशेषज्ञ हुन् । उनले पनि आफ्नो परिचयको अगाडि स्त्री रोग विशेषज्ञसँगै अर्काे ल्याप्रोस्कोपी सर्जनको परिचय पनि थपेकी छिन् ।

विश्वको सन्दर्भमा यो पद्धति धेरै पूरानो भएतापनि नेपाल तथा नेपालीको निम्ति भने यो नौलो र नवीनतम् उपचार पद्धति हो । यसै क्षेत्रमा ज्ञान हासिल गरी करिब ४ वर्ष अगाडिदेखि ल्याप्रोस्कोपीक उपचार पद्धतिबाटै बिरामीलाई सेवा पु¥याउँदै आएका डा. लाइकङबनसँग  हेल्थ आवाजकी सृजना मगर ले ल्याप्रोस्कोपी सम्बन्धि गरिएको कुराकानीमा आधारितः

ल्याप्रोस्कोपीक उपचार पद्धति भनेको के हो?
विकास तथा प्रविधिक्रमसँगै चिकित्सा क्षेत्रमा देखिएको नयाँ पद्धतिमध्ये यो ल्याप्रोस्कोपी पनि एक हो । पहिले—पहिले शरीरमा देखा परेको विभिन्न समस्याहरु कतिपय अवस्थामा चिरफार गरेर अप्रेशन गर्नुपर्ने स्थिती रहन्थ्यो । तर, हालको सन्दर्भमा भने त्यो छैन् । शरीरको कुनै पनि भाग नचिरी सानो प्वाल बनाएरै ठूला–ठूला अप्रेशनहरु सफल पार्ने प्रविधि वा उपचार पद्धति नै ल्याप्रोस्कोपी हो । पहिले—पहिलेका डाक्टरहरुले आफ्नो नाम अगाडि स्त्रीरोग विशेषज्ञ राख्नुहुन्थ्यो ।

तर, आधुनिकतासँगै देखा परेको विभिन्न उपलब्धिहरुसँगै स्त्री रोग क्षेत्र पनि विभिन्न रोग तथा भागहरुमा विभाजित भएका छन् । स्त्री रोगअन्तर्गत छुट्टिएको आइभिएफ स्पेशलालिस्ट भागजस्तो यस ल्याप्रोस्कोपी अन्तर्गत पनि ल्याप्रोस्कोपीक सर्जन अथवा इन्डोस्कोपीक ज्ञाइनोकोलोजिस्ट भनेर छुट्याएको छ । जुन पहिले—पहिले गरिने अप्रेशनहरु जस्तो पेट चिरेर गरिने नभई शरीरमा सानो प्वाल बनाइ क्यामरा वा दुरबिनको माध्यमबाट गरिने उपचार पद्धति हो ।

ल्याप्रोस्कोपिक ज्ञाइनोकोलोजिस्ट वा इन्डोस्कोपीक ज्ञाइनोकोलोजिस्ट भनेको के हो त?
स्त्रीरोग सम्बन्धि शरीरमा सानो प्वाल बनाइ दुरबिनको माध्यमबाट गरिने हरेक रोगको उपचारको स्पेसिफिक टर्म नै ल्याप्रोस्कोपीक वा इन्डोस्कोपीक ज्ञाइनोकोलोजिस्ट हो ।

उसो भए के यो स्त्री रोग उपचारको मात्रै एक पाटो हो त?
होइन, यसबाट पुरुषको पनि उपचार गर्न सकिन्छ । त्यसैले यो स्त्री रोग उपचारको मात्रै पाटो होइन । यो एक किसिमको उपचार प्रविधि हो । जहाँ अप्रेशनको दौरानमा पेट खोल्नु पर्दैन । सानो—सानो प्वालद्वारा शरीरको भित्री भागमा क्यामरा पसाएर मनिटरको माध्यमबाट गरिने उपचार प्रविधिलाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ । यसैकारण यो विशेष रुपमा महिलाहरुमा मात्रै गर्न मिल्छ भन्ने हुँदैन । यो महिला र पुरुष दुवैमा गर्न सकिन्छ तर आफ्नो आफ्नो विशेषज्ञता अनुसार । उदाहरणको लागि म ल्याप्रोस्कोपीक ज्ञाइनाकोलोजिस्ट भएको हुनाले मैले स्त्री रोग सम्बन्धिको मात्रै केशहरु हेर्ने गर्छु । र, सोहीअनुसार आफ्नो पाटो अनुरुप अन्य चिकित्सकहरुले पुरुषहरुको पनि यस प्रविधिद्वारा उपचार गर्न सक्छन् ।

यो उपचार प्रविधिद्वारा कस्ता—कस्ता रोगहरुको उपचार गर्न सकिन्छ?
मेरो क्षेत्रभित्रको कुरा गर्नुपर्दा स्त्री रोग अथवा समस्या भन्ने बित्तिकै सामान्यतयाः पाठेघर, डिम्बासय र नलीजस्ता महिलाहरुको शरीरमा भएका स्त्री अंगहरुको समस्या भन्ने बुझिन्छ । प्रसुतीको समयमा गरिने महिलाहरुको नर्मल डेलिभरी र शल्यक्रिया गर्नुपर्ने अवस्थाबाहेक सबै खाले उपचारहरु यस प्रविधिमार्फत गर्न सकिन्छ । अन्यथा ती दुई केशबाहेक महिलाको यी अंगहरुसँग सम्बन्धित प्रत्येक उपचारहरु जसलाई अप्रेशनको आवश्यकता पर्छ, ती सबै उपचारहरु शरीरको भाग नचिरी दुरबिनको माध्यमबाट नै गर्न सकिन्छ ।

यस्तो उपचार प्रविधिबाट बिरामीमा जोखिमको मात्रा कत्तिको रहन्छ ?
अनुसन्धानअनुसार भन्ने हो भने शल्यक्रिया गर्नुभन्दा अगाडि विभिन्न तयारीहरु गर्नुपर्छ । रगत जाँच, छातीको एक्स–रे तथा इसिजीजस्ता विभिन्न चेकजाँचपछि मात्रै शल्यक्रिया प्रक्रिया अगाडि बढ्छ । र, शरीर चिरेर गरिने उपचारहरुमा शल्यक्रियाको दौरानमा बिरामीको रगत धेरै बग्ने भएकोले शल्यक्रियापूर्व नै बिरामीको निम्ति आवश्यक रगतको जोहो गर्नुपर्छ । तर, ल्याप्रोस्कोपीक उपचार पद्धतीमा शरीरमा सानो प्वाल पारेर मात्रै उपचार गर्ने र यसबाट बिरामीको रगत पनि कम बग्ने भएकोले शल्यक्रियापछि पनि बिरामीलाई प्रायजसोः उपचारमा रगतको खाँचो पर्दैन । यस हिसाबले भन्ने हो भने पनि बिरामीहरुमा चिरेर गर्ने शल्यक्रियाको तुलनामा यस्ता शल्यक्रिया झन् बढी प्रभावकारी र जोखिमरहित हुन्छन् । यसैगरी यो दुरबिनको माध्यमबाट गरिने भएकोले हामी क्यामराको माध्यमबाट शरीरको साना अंगहरुलाई पनि ठूलो स्क्रिनमा राम्ररी नियालेर उपचार गर्न सक्छौं । जसकारण पनि बिरामीमा यसको जोखिम त्यति रहँदैन । त्यसैले पनि यस प्रविधिलाई विश्वभरि नै एकदमै राम्रो मानिन्छ ।


यसरी अप्रेशन गरेपछि बिरामी कति समयपछि सामान्य गतिविधिमा फर्कन सक्छन् ?
यसमा पनि तुलनात्मक रुपमै हेर्ने हो भने शरीर चिरेर गर्ने शल्यक्रियाका बिरामीको घाउ निको हुन समय लाग्ने वा पाक्ने डर भएकोले त्यस्ता बिरामी कम्तिमा पनि ४/५ दिन अस्पतालमा नै बस्नुपर्ने वा बिरामीको अवस्था हेरेर मात्रै डिस्चार्ज गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । तर, ल्याप्रोस्कोपीको सन्दर्भमा भन्ने हो भने यो हाम्रो देशको निम्ति नयाँ प्रविधि हो । तर, अन्य बाहिर देशमा भने यस्ता बिरामीलाई बिहान शल्यक्रिया गरेर बेलुका नै डिस्चार्ज गरिन्छ । मेरै कुरा गर्ने हो भने पनि मैले नै शल्यक्रिया गरेका बिरामीहरुलाई मैले २४ घण्टामा नै डिस्चार्ज गर्ने गरेकी छु । बिहान ट्युमर फालेका ब्यक्तिहरु २४ घण्टापछि नै डिस्चार्ज हुन्छन् । भन्नाले बिरामीहरुको शल्यक्रिया गरेको घाउ सानो हुने र शरीरको रोग पनि फालिने भएकोले उनीहरु छिट्टै नै सामान्य दैनिकीमा फर्कन सक्छन् ।

तपाईंले यस्तो उपचार पद्धती अपनाउन थाल्नुभएको कति भयो?
मैले यो प्रविधिबाट उपचार गर्न सुरु गरेको ४ वर्ष जति भयो ।

नेपालमा यसको अवस्था के छ?
विश्वको सन्दर्भमा यो उपचार विधि पूरानो भएतापनि नेपालका अधिकांश व्यक्तिहरुलाई यसबारे खासै जानकारी भएको देखिदैन् । तर, हाल नेपालका पनि थुप्रै चिकित्सककहरुले भने यो उपचार प्रविधिबारे ज्ञान हासिल गर्दै हुनुहुन्छ ।

यो प्रविधिबाट कत्ति ठूलो शल्यक्रिया गर्न सकिन्छ ?
ट्युमरको बारेमा भन्नुपर्दा अनुसन्धानको अनुसार ६ किलो बराबरसम्मको ट्युमर यो प्रविधिबाट निकालेको छ । भारतको एक राम्रो अस्पतालका विद्यार्थीहरुले नै साढे ३ किलो बराबरको ट्युमर निकालेका छन् । मेरो केशमा भने म र मेरो टिमले ७÷८ घण्टा लगाएरै भएपनि २ किलो ८ सय ग्रामसम्मको ट्युमर थुप्रैको शरीरबाट निकालेका छौं ।

यसरी उपचार गरेका बिरामीहरुमा संक्रमणको भय कत्तिको मात्रामा रहन्छ त?
जहाँ चिरफार हुन्छ त्यहाँ संक्रमणको डर हुन्छ र त्यहाँ एन्टीबायोटिकको प्रयोग बढी गरिन्छ । अर्थात संक्रमणको कुरा गर्ने बित्तिकै सामान्यतयाः ल्याप्रोस्कोपीको तुलनामा भन्दा अप्रेशन गरी चिरफार गरेका ब्यक्तिहरुमा बढी देखिन्छ । यस्ता केशमा भने यो निकै कम देखिने गरेको पाइएको छ । ल्याप्रोस्कोपीक उपचार पद्धतिमा हामीले १ सेन्टीमिटर मात्रै प्वाल पारेर त्यहाँबाट क्यामरा पसाउँछौ र अन्य २/३ वटा प्वाल ०.५ अर्थात् आधा सेन्टीमिटरको मात्रै बनाउँछौ । त्यसकारणले गर्दा बिरामीमा संक्रमणको अवस्था मैले हालसम्म आफ्नो करियरमा देखेकै छैन । तर, सुगरका बिरामी जसको घाउ निको हुन ज्यादै समय लाग्छ, त्यस्ता ब्यक्ति जसले आफ्नो हाइजिङ मेन्टेन गर्दैन र जो आफ्नो खानपिनमा उचित ध्यान दिदैन, त्यस्ता बिरामीहरुमा भने संक्रमणको डर हुन्छ । अन्यथा अन्यमा संक्रमण हुने सम्भावना एकदमै न्यून रहन्छ ।

यसरी उपचार गरेका ब्यक्तिहरुको शरीरमा उपचार गर्दा पारेको प्वालको दाग कति समयसम्म रहन्छ ?
यो व्यक्तिको शरीरमा भर पर्छ । व्यक्तिको शरीरअनुसार यो कसैमा १५ दिनमा त कसैमा १ महिनासम्म पनि देखा पर्न सक्छ । यसकारण यो व्यक्तिको शरीरको टिस्युअनुसार घाउ सुक्दै जाँदा विस्तारै कम पनि हुदै जाने हुन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ